arrow

मेगा क्युआर कोड तीव्र रूपमा बिस्तार हुँदै

जोरपाटीको तरकारी बजारमा अब क्युआर कोडबाट भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
mega-qr-agro-bazar-jorpati.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले क्युआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ। नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने बैङ्कको नीति अनुरूप मेगा बैङ्कले आज काठमाडौँको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा विस्तार गरेको छ।

नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्युआर कोडबाट भुक्तानी गरी क्युआर कोड भुक्तानी सेवाको औपचारिक सुरु गरे। कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्युआर कोड वितरण गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए। डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनले बताए।

मेगा बैङ्ककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना सङ्क्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैङ्कले प्राथमिकता दिइरहेको बताइन। क्युआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैङ्किङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताइन्। यसै गरी, सिइओ खुञ्जेलीले सहुलियतपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैङ्कले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्युआर कोडबाट कारोबार गर्दा रकम सिधै बैङ्किङ प्रणालीमा जाने हुँदा बैङ्क तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए।

यसै गरी, विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारका अध्यक्ष छविलाल ओझाले १ सय ५० जनालाई आफूहरूले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैङ्कसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए।

कार्यक्रममा मेगा बैङ्कका प्रमुख सञ्चालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका ग्रुप चिफ अपरटिङ अफिसर शिशिर पछाई लगायतको पनि उपस्थिति थियो।

तरकारी बजारमा क्युआर कोड सेवा सुरु भएपछि व्यवसायी तथा ग्राहकहरू निकै हर्षित भएका छन्। यो व्यवस्थासँगै उपभोक्ताहरूले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन मार्फत सामान खरिद गरेको रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

क्युआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ