arrow

नेपाल-चीन नाकामा ‘एकतर्फी नाकाबन्दी’, चिनियाँ पक्षबाट नेपाली ब्यापारीहरु पीडित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
rasuwagadinaka.jpeg

काठमाडौं। छिमेकी मुलुक चीनसँग सोझो व्यापार गरिरहेका नेपाली व्यापारीहरु विभिन्न वहानामा चिनियाँ पक्षबाट ठगिने, हेपिने र सास्ती व्यहोरिरहनुपर्ने क्रमको अझै अन्त्य हुन नसकेको व्यापारीहरुले गुनासो गरेका छन् ।

नेपाल–चीनबीचको दुईवटा प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानीमा चिनियाँ पक्षले आपूर्तिमा कडाइ गर्नेमात्र नभइ सामाग्री आयातामा गरिरहेको अवरोधले नेपाली व्यापारीहरु हैरान भएका छन् ।

कोरोना भाइरस संक्रमण साथै दुई देशबीचको व्यापारिक नीतिलाई आधार मान्दै चिनियाँ पक्षले नेपाली व्यवसायीहरुमाथि ‘अघोषित र एकोहोरो नाकाबन्दी’ गरिरहेको नेपाली व्यपारीहरुको भनाइ छ ।

केही महिनाअघि मात्र सूर्य किरण फाइबर इन्डष्ट्रिज प्रालिलाई चिनियाँ कम्पनी ‘चाइना नेशनल इम्पोर्ट तथा एक्सपोर्ट’ले कच्चा सामाग्री नेपाल पठाउँदा गरेको ठगीको प्रकरण परराष्ट्र मन्त्रालयमार्फत बेइजिङस्थित दूताबासमार्फत कुटनीतिक दवाव दिने तहसम्म पुग्नु परेको थियो ।

चितवनमा कार्यालय रहेको उक्त सूर्य किरण फाइबर इन्डष्ट्रिज प्रालिका संचालक सूर्य न्यौपाने भन्छन्,‘सम्झौता र भुक्तानी अनुसार सामाग्री नपठाइ फरक र कमसल सामाग्री पठाएपछि दूताबास मार्फत नै कुटनीतिक पहल गरेका हौं,’ उनले भने,‘उक्त चाइना कम्पनीको नियत नै ठग्ने रहेछ तर हामीले कानुनी र कुटनीतिक बाटो रोजिहाल्यौं ।’

तयारी र कच्चा सामाग्रीमा ठग्ने मात्र होइन चिनियाँ पक्षले नेपाली ब्यवसायीहरुलाई सीमा नाकामा पनि दुःख दिने गरेको गुनासो पटक पटक आइरहेको छ । ०७२ सालको विनाशकारी महाभूकम्प र २०७६ पुस महिनादेखि बढेको कोरोना भाइरसको महामारीको संक्रमणलाई बहाना बनाएर नेपाल-चीन सामान आयात निर्यातमा चिनियाँ पक्षले अवरोध खडा गर्दै आइरहेको व्यापारीहरु बताउने गर्छन । त्यतिमात्र होइन नेपालमा चीन विरोधी गतिविधि बढेको बहानामा पनि व्यापारीहरु नै निशानामा परिरहेका छन् ।

नेपाल चीन हिमालय सीमापार वाणिज्य संघका कार्य समिति सदस्य नारायण दाहालका अनुसार नेपालबाट चीनतर्फ सामान जान ठप्प छ नै उताबाट आउने सामान भित्र्याउन पनि सहज छैन् । दैनिक ४० वटा कन्टेनर सामान आउनुपर्ने भएपनि सयौं कन्टेनरहरु चीनतर्फ नै रोक्ने गरिएको उनले बताए ।

‘नेपाल सरकारको पहल नपुग्दा चिनियाँ पक्षले दैनिक एकाध मालवाहक कन्टेनरहरूलाई मात्रै नेपाल पठाइरहेको छ, महिनौंसम्म सामान कन्टेनरमै रहँदा विग्रिने गरेको छ’ उनले भने,‘साँच्चै भन्नुपर्दा चीनले अघोषित नाकाबन्दी जस्तै गरेको छ । तर नेपाल सरकार सहज रुपमा सामान आइरहेको भ्रममा छ ।’

स्वास्थ्य सुरक्षा मापदण्ड परिक्षण गर्ने र विभिन्न कानुनी प्रक्रिया पुरा गरेर मात्र सामान पठाउने भन्दै चिनियाँ सरकारले नेपाली सामानहरुमा अवरोध गरेको बताइन्छ । अहिले तातोपानी तथा रसुवागढी नाकाबाट मुस्किलले दैनिक १२ वटा कन्टेनर मात्रै नेपाली नाकाम भित्रिने गरेको छ । चिनियाँ व्यापारीले पठाएका तथा दैनिक उपभोग्य सामानलाई छिटो जाँचपास गरिदिने र अरु सामानलाई आउन नदिने गरेको अर्को गुनासो व्यापारीहरुको छ ।

यता, चिनियाँ एजेन्टहरुले ढुवानी भाडा समेत बढाएकाले समस्या निम्तिएको छ। चिनियाँ नाकाबाट सामान ल्याउन समस्या भएपछि भारतको कोलकोत्ता बन्दरगाहा हुँदै झन्झटिलो माध्यमबाट ब्यापारीहरुले नेपालमा सामान भित्र्याइरहेका छन् । चिनियाँ नाकामा देखिएको असहज परिस्थितिका बारेमा संघीय र प्रदेश संसदमा आवाज उठेपनि सरकारले त्यसलाई चासो नदिएको ब्यापारीहरु बताउँछन् ।

रसुवाबाट प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका सांसद मोहन आचार्यले नाकामा देखिएको असहज अवस्थालाई तत्काल हल गर्न पटक पटक आवाज उठाउँदै आएपनि सरकारले चासो नदिएको बताउँदै आएका छन् । नेपाल र चीनबिचको व्यापारिक कारोवार प्रभावित हुँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु किस्ता तिर्न नसकेर गाडी नै फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको भन्दै आचार्यले ४०० भन्दा बढी रसुवालि ड्राइभर र यससँग जोडिएका कैयौंको रोजगारी खोसिएको उनले यसअघी वक्तव्य निकालेरै जनाएका थिए । नाका खोल्न सम्बन्धित निकायहरुमा पटकपटक अनुरोध गर्दा पनि केही नलागेकोले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उनको आग्रह थियो।

चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी नाका संचालनमा ल्याइएको भन्दै उनले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाउँदै आएका छन् । आचार्यले भनेका छन्,‘यो एक प्रकारको अघोषित नाकाबन्दी नै हो, तत्काल समाधान गरिनुपर्छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ