arrow

ओलीलाई त्यो ‘डर’ जसले नेपालसँग वार्तामा बाध्य बनायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
kp-oli-2078.jpg

काठमाडौँ । यति बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो चरणको वार्तामा छन् ।  अहिले उनीहरुबीच नक्सालस्थित होटल मारियटमा वार्ता जारी छ । ‘यो वार्ताको माहोल कसरी बन्यो त ?’ एमालेका एक थरी नेताहरू यो वार्ता प्रधानमन्त्री ओलीले एमालेलाई अझै बलियो बनाउन गरिरहेको बताएका छन् भने अर्का थरी एमालेकै नेताहरू ‘कर्णाली फ्लोर क्रस दोहोरिने डर’ ले वार्ता सुरु गरिएको बताउँछन् ।

‘कर्णालीमा फ्लोर क्रस भएपछि काठमाडौँमा पनि त्यही दोहोरिन्छ की भन्ने डर केपी ओलीलाई छ, त्यही भएर हतार हतार संसद अधिवेशन अन्त्य गरे, अहिले त्यही डरबाट वार्ताको मञ्चन भएको छ,’ एमाले भित्र नेपाल निकट मानिएका एक नेताले हाम्रा कुरासँग भने । केही दिनअघि कर्णाली प्रदेश सभामा त्यहाँका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा एमाले भित्रका नेपाल निकट तीन र ओली निकट एक सांसद गरी चार जनाले फ्लोर क्रस गरेर शाहीका पक्षमा मत दिएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीको पद सोही कारणले जोगिएको थियो भने फ्लोर क्रस गर्ने चारै जना प्रदेश सभाका सांसद अहिले मन्त्री बनेका छन् ।
 
‘प्रतिनिधि सभामा पनि कर्णाली जस्तै होला र कांग्रेस, माओवादी मिलेर सरकार बनाउलान् भन्ने डर एकातिर छ, अर्का तिर जसपाको पुरै वा आधा शक्ति आफ्नो पक्षमा तान्दासमेत अप्ठ्यारो हुने स्थिति देखेरै ओलीले वार्ताको दृश्य देखाइ रहेका छन्,’ नेपाल निकट ती नेता भन्छन् ।

अर्का तिर बिहिबार मात्रै नेपाल समूहका शीर्ष मध्येका १५ नेताले एमाले विभाजनको डिलमा पुगेको भन्दै एकताको अपिल गरेका छन् । पत्रमा ‘नेकपा एमालेलाई विभाजन गर्न पार्टी अध्यक्ष स्वयम् नै सुनियोजित रूपले अगाडी बढिरहेको’ भनिएको छ ।

ओली र नेपालबीच बुधवार (हिजो) समेत होटल मेरियटमा नै वार्ता भएको थियो । भेटमा विष्णु पौडेल पनि सहभागिता रहेको भनिएको थियो । यसअघि लामो समयदेखि प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच भेट भएको थिएन भने दुई नेताहरूले एकले अर्काको चर्को आलोचना गर्दै आइरहेका थिए ।

मङ्गलवार मात्रै ओलीले नेपाल समूहका २७ जना सङ्घीय सांसद र पाँच प्रदेश सांसदलाई पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न रहेको भन्दै किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणको जवाफ ७ दिन भित्र बुझाउन भनिएको थियो ।

बुधवार बालुवाटारमा नेता नेपाल निकट युवा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न पुगेपछि ओलीले वार्ताका लागि पहल गर्न भट्टराईलाई भनेका थिए भने त्यहीबाट नै ओलीले नेपाललाई फोन गरेपछि वार्ताको टुङ्गो लागेको थियो ।

संसद् विघटनको घटना भएबाट प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछि समेत दुई नेताबीच संवादहीनताको स्थिति थियो ।

यसअघि नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी नहुने भनेपछि पार्टीको बैठक नै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ