arrow

ज्यानको बाजी लगाएर उपचार गर्दै संक्रमित स्वास्थ्यकर्मी

logo
भेषराज बस्नेत,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
bheri-hospital.jpg

राँझा । कोरोना संक्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुन पुगेका छन् । कोभिड-१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना संक्रमित भएका छन् ।

कैयौँ नर्सिङ स्टाफ संक्रमित भएर पनि आफूजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा संक्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफँै संक्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा थापाको भनाइ छ ।

सो अस्पतालमा कोरोना बिरामीका लागि १४२ श्यया छुट्याइएकामा संक्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२  बिरामी छन् । श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले १०० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ