- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन् । सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गतेदेखि बेटा भर्सनको रुपमा शुरु भएको थियो ।
बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् । यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जना भन्दा बढीले प्यान नम्बर लिसकेका छन् ।
कार्यक्रममा कुनैपनि सेवा लिन नागरिकता, सम्बन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी कार्यक्रममा दिइयो ।
नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता आधारभूत विवरणहरु छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ ।
एसएलसी र प्लस-टु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाको सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ ।
प्रधानमन्त्रीले आइतबारबाटै सुरु गरिएको एप्सबाटै क्युआर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवात समेत गरेका छन् । उनले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गरेका थिए ।
शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए ।
सेवालाई पेपरलस र फेसलेस(आफैं पुग्नुपर्ने झन्झटबाट मुक्त) बताउने भनाई उनको थियो । यसअघिको बेटा सँस्करण मै उत्साह पूर्ण सहभागिता रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । आगामी दिनमा अन्य सरकारी सेवा समेत एपमा थपिने बताउँदै उनले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफ देही बनाउन समेत मद्दत गर्ने पनि प्रधानमन्त्रीले बताए ।
‘सम्मृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाइएको सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यसवर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।