arrow

ओली र नेम्वाङको निर्वाचन क्षेत्रको एउटा सडकः बिरामी बोकेको गाडी रातभर हिलोमा डुब्यो

logo
राम योङहाङ र प्रकाश नेपाल
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
rabi-damak.jpg
फाल्गुनन्द मार्गमा देखिएको दृश्य । तस्विरहरु: राम योङहाङ

इलाम । केन्द्रिय स्तरमा नयाँ बजेटको तयारी शुरु भएको छ। तर स्थानीय तहमा भएकै बजेट सकिएको छैन्। बजेट कार्यान्वयनको प्रक्रिया पारदर्शी नहुँदा बेरुजु र अनियमितता बढ्दो छ । राजनीतिक भागबन्डा र आपसी खिचातानीका कारण बजेट कार्यान्वयनमा समस्या हुँदा विकास निर्माणका कामहरु प्रभावित भएका छन्। ‘हेभी वेट’ नेता रहेकै जिल्लामा पनि विकासका कामले भनेजति गति लिन सकेको छैन्। जसको प्रत्यक्ष मार गाउँलेहरुले ब्यहोरिरहेका छन्।

प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा रहेको एक महत्वकांक्षी सडक योजना यस्तै नियति ब्यहोरिरहेको छ। पाँचथरबाट झापा जोड्ने उक्त सडकमा देखिएको हालैको एक दृश्यले अवस्था छर्लङ्ग पार्छ। हालैको एक दिन पाँचथरको रवि बजारका एक अधबैंसे व्यक्ति साँझ अचानक बिरामी परे । घाँटी दुखाई र स्वासप्रस्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्‍याउनुपर्ने भयो। साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो ।

रवि-चिसापानी-दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो। तर भारी वर्षाका कारण सडक क्षतविक्षत र हिलाम्य त्यहीमाथि रातीको यात्रा झनै कष्टकर । रात छिप्पिदैं थियो । करिब साढे १२ बजे माङसेबुङ ३ स्थित चतुरे बजार पार गर्न बित्तिकै गाडी हिलोमा एक्कासी फस्यो।

करिब १५ किलोमिटर मात्र पार गरेको गाडीले हिलाम्मे सडक छिचोल्न सकेन्। उपचारका लागि बिरामी लिएर हिंडेको गाडी रातभर त्यही रोकियो। बिरामी लिएर हिडेका आफन्त अत्तालिए, तर कुनै उपाय थिएन। सडकको माथिबाट पहिरो समेत खस्न थालेपछि उनीहरु गाडीबाट बाहिर निस्के। बास बस्नका लागि कुनै प्रबन्ध भएन। विरामीसहित कुरुवाले सडकमा नै रात बिताए।

विहान स्थानीयबासीहरु भेला भए। हिलोमा फसेको गाडी निकाल्न कोसिस गरे तर सकेनन्। स्काभेटर बोलाइयो। करिब ८ बजेतिर स्काभेटर आएर हिलो सोहोरेर फाल्यो। त्यसपछि बल्लतल्ल स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो।

साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो। बिहानमात्र चतुरेबाट दमकतर्फ हिँड्यो। बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन । यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुनेथियो भन्ने विषय सोचनीय बनेको छ।

यो एक प्रतिनिधि घटना मात्र हो। यो सडक वर्षायाममा कैयौंपटक अवरुद्ध हुन्छ। स्थानीयले यस्ता कैयौं घटनाको सामना गर्नुपरिरहेको छ। सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले यात्रा कष्टकर बन्ने गरेको छ। सडकका कारण बिरामीहरु रातभर बाटोमै रोकिनु दुःखद् भएको स्थानीयहरु बताउँछन्।

सो सडकखण्ड निर्माण सुरु भएको करिब तीन दशक पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन्। सडक कालोपत्रे नुहँदा इलामका पश्चिमी क्षेत्र र पाँचथरका केही क्षेत्रका बासिन्दाहरु समस्यामा छन्। हिंउदमा सहजता भएपनि वर्षात सुरु हुनसाथ वर्षौंदेखिको पीडा दोहोरिरहन्छ।

सो सडक कालोपत्रेका लागि अघिलो वर्ष नै ठेक्का सम्झौता भएको छ। दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको हो।

इलामको चिसापानीदेखि झापाक दमकसम्मको ३३ किलोमिटर सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्रेको थालिएको हो। दुई लेनको ३३ किलोमिटर सडक कालोपत्रे सक्ने गरी काम थालिएको हो । झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ। उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको थियो । काठमाडौंको महालक्ष्मी-किरातेश्वर जेभीले निर्माणको काम गरिरहेको छ।

सडकको दोस्रो खण्ड लुम्बिनी-गणपति जेभीले ठेक्का पाएको छ। १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ। तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी-गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ढिलासुस्तीका कारण निर्माण कार्यले गति लिन सकेको छैन।

काम ढिलो हुनुमा स्थानीयले ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छन्। ‘ठेकेदार कम्पनीको हेलचेक्रयाईका कारण हामीले वर्षौंदेखि उही पीडा भोग्नुपरिरहेको छ’ स्थानीय फोमी होटल एण्ड रेस्टुरेन्टका संचालक रोशन राई भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।’ ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन्। तीनै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्किसकेका छन्।

उक्त सडक प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ। राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने ओली र नेम्बाङकै निर्वाचन क्षेत्रको सडकको निर्माणले गति नपाउँदा स्थानीयले विरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ