arrow

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
bharatpur-aspatal-news.jpeg

चितवन। भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ। कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होम आइसोलेसनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन्। त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उनले बताए।

डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ। बिहान ७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्टमा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ। अस्पतालमा आएका बिरामीले समेत आकस्मिक कक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन्।

सङ्क्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताए। अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे।

जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय सङ्क्रमित छन्। तीमध्ये २१४ अस्पतालको आइसोलेसनमा, तीन हजार ५२४ होम आइसोलेसनमा र तीन जना सार्वजनिक आइसोलेसनमा उपचाररत रहेका छन्। जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १६३ को मृत्यु भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ