- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महाभारतको युद्ध सकिएपछि महाराज युधिष्ठिरले ठुलो अश्वमेध यज्ञको आयोजना गरे । सो यज्ञको चर्चा यति टाढासम्म फैलियो कि टाढा टाढाबाट महात्मा, ऋषिमुनीहरु अश्वमेध यज्ञमा सहभागी हुन आए । जसले जे माग्यो त्यसलाई सोही कुरा दिइने यज्ञको नियम थियो ।
जब यज्ञ समाप्त हुन लागेको थियो । ऋषिहरू मन्त्रको उच्चारण गरिरहेका थिए । आहुति दिइरहेको अवस्थामा अचानक एक निकै विचित्र रूपको न्याउरी मुसा त्यहाँ आइपुग्यो र यज्ञ कुण्डमा घुम्न थाल्यो । सबै ब्राह्मण भयभीत हुँदै भन्न थाले, ' के कस्तो अशुभ कार्य भएर यो न्याउरी मुसा यहाँ प्रकट भयो ?'
सो न्याउरी मुसाले त्यहाँ उपस्थित सम्पूर्ण जनसमुदायलाई मानव स्वरमै भन्यो, 'हे विप्रजन! म कुनै अशुभ सूचक होइन । तपाईँहरूले जुन यज्ञ गर्नुभयो यो निकै नियमपूर्वक, वेदहरूको अनुकूल छ । म त एक साधारण न्याउरी मुसा हुँ । मैले जब सुने कि महाराज युधिष्ठिर एक विशाल, पुण्यशाली यज्ञ गरिरहनुभएको छ तब मैले सोचे कि शायद यस यज्ञको प्रभावबाट मेरो शरीरको जुन शेष भाग बचेको छ यो पनि सुनको होस यस कारण म यहाँ आएको हुँ ।'
ब्राह्मणहरूले भने, 'यसमा सन्देह गर्ने के कुरा छ र ? यहाँ त वास्तवमै पुण्यशाली, प्रतापि यज्ञ भइरहेको छ ।'
तब न्याउरी मुसा भन्छ, 'म पनि यस्तै सोचेर आएको थिए तर म देख्छु कि यो यज्ञ त त्यो निर्धन ब्राह्मणको यज्ञको बराबर पनि छैन ।'
यो सुनेर त्यहाँ उपस्थित ठुला-ठूला ऋषि मुनी ब्राह्मण जन जो थिए उनीहरूको मान मर्दन भयो । उनीहरूको अभिमान चुर भयो । उनीहरूले सोधे,' त्यो सवा सेरको यज्ञ के थियो ?'
तब न्याउरी मुसा भन्छ, 'सबैले ध्यान दिएर सुन म तिमीहरूलाई बताउँदै छु । महाभारतको युद्ध सुरु हुनुभन्दा पहिलेको कुरा हो । एक ज्यादै गरिब ब्राह्मण थियो । जो चामलको कनिका मागेर ल्याएर आफ्नो परिवारको सदस्यहरूको पालन पोषण गर्थ्यो। सो ब्राह्मणका श्रीमती छोरा र बुहारी गरी उसको परिवारमा चार सदस्य थिए। एक पटक भयङ्कर अनिकाल परेको थियो। यति भयङ्कर अनिकाल कि खेती नै हुन सकेन । खेती नै नभएपछि अन्न पनि भएन । बिचरा ब्राह्मण र उनका परिवार भोकै रहन थाले । एक दिन उनले मुस्किलले केही कनिका मागेर ल्याए। जब उनीहरू भोजन गर्न लागेका थिए अचानक त्यहाँ एक भिखारी भिख माग्दै आउँछ । ब्राह्मणले जब देखे कि अतिथि आएका छन् । उनले अतिथिको निरादर हुनुहुन्न भन्दै आफ्नो भागको खाना भिखारीलाई दिन्छन् । भिखारीले त्यो खाना खाए तर पनि उनको अनुहारमा तृप्तिको कुनै झलक देखिएन ।'
सो देखेर ब्राह्मणी भन्छिन, 'पतिदेव पत्नीको धर्म पतिको अनुसार आचरण गर्नुमा हुन्छ र तपाईँले जुन दान दिनुभयो त्यो दानबाट मलाई यस्तो लाग्दै छ कि हाम्रो अतिथि सन्तुष्ट हुनुहुन्न । तपाईँको दरबारमा कोही अतिथि आए र सन्तुष्ट नभई गए त्यो मेरा लागि पनि अपमानको विषय हो । अत; म यो चाहन्छु कि म आफ्नो हिस्सा पनि भिखारीलाई दिऊ ।'
ब्राह्मणले भने, 'होइन यस्तो कुरा होइन पालन पोषणको जिम्मेवारी मेरो हो मैले आफ्नो भाग दिएको छु तिमी किन भोकै मर्छौ ?
पत्नीले भन्छिन्, 'अह म यो भोजनलाई ग्रहण गर्न सक्दिन । आफ्नो घरमा आएका अतिथि असन्तुष्ट फर्किउन, यो मेरो लागि अशोभनीय कुरा हो ।' उनले आफ्नो हिस्सा पनि त्यो भिखारीलाई दिइन तर पनि भिखारीको भोक शान्त भएन उनी अतृप्त नै रहे ।
तब ब्राह्मण पुत्र भन्छन्, 'पिताजी, तपाईँको घरमा आएको अतिथि मेरो पनि अतिथि हुन् यसै कारण कृपा गरेर मेरो हिस्सा पनि भिखारीलाई दिनुहोस् ।'
ब्राह्मण भन्छन्, 'छोरा हेर हामी वयोवृद्ध मानिस हौ । वृद्ध मानिसहरूलाई खासै भोक पनि लाग्दैन । जवान मानिसलाई भोकले ज्यादा सताउँछ । तिमी आफ्नो हिस्सा खाऊ । हामी दुईले दियौ । अब अधिक दिनु आवश्यकता छैन ।'
तर छोराले मानेन र उसले पनि आग्रह गरेर आफ्नो हिस्सा भिखारीलाई दिए । अब बुहारी पनि भन्न थालिन्, 'सबैले दान दिनुभयो म पनि यस पुण्य मा सहभागी हुन चाहन्छु । मेरो भाग पनि भिखारीलाई दिनुहोस् । जब चारैको हिस्सा भिखारीले पाए तब भिखारी तृप्त भए ।'
त्यो भिखारी अरू कोही नभई स्वयं भगवान् विष्णु थिए जो भिखारीको रूपमा परीक्षा लिन आएका थिए । भगवान्ले प्रसन्न हुँदै ब्राह्मणलाई भने, 'तिम्रो दानमा समर्पण भाव छ । दान त धनी मानिसहरूले पनि दिन्छन् तर तिमीले सर्वस्व दियौ । तिमी भित्र पूर्ण समर्पणको सर्वस्व अर्पित गरिदिने भाव छ । त्यसैले यस भावनाबाट म निकै प्रसन्न छु । म तिमीलाई आफ्नो धाम उपलब्ध गराउँछु । त्यसपछि भगवान् विष्णु अन्तर्ध्यान भए । देवताहरूले पुष्प बर्साउन सुरु गरे र आकाशबाट ठुला- ठुला विमान आए जसमा बसेर ब्राह्मण परिवार वैकुण्ठ गए ।
न्याउरी मुसा भन्छ, 'संयोगवश म पनि त्यहाँ पुगे र मैले जब यति ठुलो पुण्य कार्य देखे तब मैले यस्तो महान् यज्ञमा केही प्रसाद अवश्य लिनुपर्छ भन्ने लाग्यो । तब वहाँ भोजन बनिरहेको थियो त्यसको केही भाग जुन जमिनमा झरेको थियो मैले त्यसलाई सुँघे तब मेरो टाउको सुनको भयो । फेरी म त्यस चुल्हो भएको ठाउँमा गए जहाँ खाना बनिरहेको थियो । त्यो चुल्होमा मेरो शरीर पर्ने बित्तिकै मेरो आधा शरीर सुनको भयो ।'
जब मैले सुने कि युधिष्ठिर महाराजकोमा महान् यज्ञ हुन गइरहेको छ तब मैले सोचे कि त्यहाँ गएर केही पुण्य प्राप्त गरूँ र बाँकी आधा शरीर पनि सुनको बनाऊ । तर म यहाँ सम्पूर्ण यज्ञमा घुमे तर मेरो शरीरको शेष भाग सुनको भएन । यसै कारण मेरो यो निष्कर्ष रह्यो की त्यो गरिब ब्राह्मणको यज्ञ यो अश्वमेध यज्ञ भन्दा कयौँ गुणा ठुलो छ ।
निर्धनसँग केही थिएन उनीहरूले सर्वस्व दिए तर युधिष्ठिरसँग जे थियो त्यसमध्ये उनले केही मात्र दिए, समर्पण र सर्वस्व भावले यज्ञ गरेनन् । यज्ञभित्र पूर्ण आहुति र सिद्धि जुन छ, त्यो सर्वस्व भावले आउँछ ।
त्यस कारण सन्तहरूले भने जबसम्म तिमी भित्र पूर्ण समर्पण भाव हुनेछैन तबसम्म मुक्ति पनि मिल्ने छैन र तिमी त्रिशङ्कु जस्तै बिच आकाशमा अड्की रहनेछौ । न माथि जान सक्नेछौ, न तल आउन सक्नेछौ ।
यसै कारण भक्तिमा पूर्ण समर्पण हुनु नितान्त आवश्यकता छ । जीवनमा यदि हामी पूर्ण रूपले भक्ति गरेनौ भने हाम्रो अधोगति नै हुनेछ । यसै कारण भक्ति मार्गमा समर्पण अत्यावश्यक छ ।