“हो मेरो पुस्ता अहिलेको नेतृत्वसँग निकै फ्रस्टेड छ। जसका कारण उनीहरुलाई विद्यमान राजनीतिप्रति ठूलो वितृष्णा पनि छ। म उनीहरुको वाध्यतालाई स्वाभाविक ठान्छु र उनीहरुको कन्सेप्ट वदल्न सक्छु भन्ने विश्वास लिएर राजनितिमा संलग्न छु।” कुपण्डोल नजिकै रहेको एक चियापसलमा म चिया पिउदै थिएँ। मेरो पछाडीवाट आएको कुनै व्यक्तिको यस्तो कुरा मेरो कानमा पर्यो। सुरुमा त म आफ्नौ धुनमा थिए। खासै वास्ता गरिन।
एकछिन पछि फेरि तिनै व्यक्तिले भनेको सुनें, “हामी राजनीतिलाई केबल सत्ता प्राप्ति र सत्ता ढाल्ने खेलका रुपमा मात्र बुझ्यौ अथवा हामी त्यसै अनुसार प्रशिक्षित भइरह्यौँ। त्यसैले आम युवा र तन्नेरीहरुमा यो खेल प्रति निरन्तर बितृष्णा जागिरह्यो। म यो बदल्छु भनेर राजनीतिमा आएको छु।”
कुनै वेला नेपाली कांग्रेसका लोकप्रिय तन्नेरी नेता गगन थापाले जस्तै गरि निकै आत्मविश्वासका साथ आएको यस्तो कुरा कुन चाही नेताले भन्यो भनेर पछाडी फर्कि हेरें। म एककिसिमले दंग परें। दंग यसअर्थमा कि, त्यो कुरा कुनै तीस कटेको युवा नेताले भनिरहेको थिएन न त पच्चीस कटेका युवाले। पछी सोध्दा थाहा भयो उनी जम्मा २३ वर्षे भर्खर इञ्जिनियरिंग सकेका फ्रेस इञ्जिनियर रहेछन्। उनि पाँच छ जनाको बिचमा बसेर आफ्नो कुरा राखिरहेका थिए। पर्वत घर भइ हाल काठमाडौ रहेका एक तन्नेरी नेता रहेछन् राजिव रिमाल। शारिरिक हिसावले पनि दुब्लो देखिने उनलाई जो कोहीले पनि यति धेरै राजनितिक ज्ञान र आत्मविश्वासका साथ वोल्न सक्छन् भनेर पत्याउन गाह्रै पर्छ।
पत्याउन गाह्रो यो पनि पर्छ कि उनी इञ्जिनियरिंग क्याम्पस पोखराका ने.वि. संघ इकाइका सदस्य, सहसचिव हुँदै सचिवको रुपमा रहेर सांगठनिक रुपमा एक किसिमले जिम्मेवारी वहन गरिसकेका रहेछन्। आउदै गरेको ने वि संघको महाधिवेसनको लागी उनले सदस्यको निम्ति उम्मेदवारी दिएका समेत रहेछन्।
उनीसँग परिचय गरें । कुराकानीकै क्रममा मैले उनको उमेरलाई लिएर प्रश्न गरे, “राजनितीमा लाग्न यति कलिलै उमेरमा किन हतारो?”
उनी आफैले भने, “म अहिले २३ बर्षको भएँ। म यसलाई सानो उमेर ठान्दिन। यो उमेर आफ्नो करियर र भविष्य प्रति बढि समय खर्चिनु पर्ने उमेर हो। युवा विद्यार्थीहरु विश्व विद्यालयको डिग्री लिएर विदेश पलायन हुने उमेर पनि यहि हो। यो समस्या वदल्न म जस्तो तन्नेरी उमेरको कोही न कोहीले अग्रसरता लिएर नलाग्ने हो भने यो समस्या कहिल्यै सुध्रने छैन। त्यसैले मैले अग्रसरता देखाँएको हुँ।”
मैले उनको अरु विचार वुझ्ने ध्याउन्नले सोधे, “तपाईभन्दा सिनियरहरु धेरै छन् जससँग स्वभाविकरुपमा तपाईभन्दा धेरै अनुभव छ। त्यसैले तपाई त उनीहरुको सक्रियतालाई सम्मान गर्दै उनीहरुको सहायक बन्नुपर्ने होइन र?”
उनले भने, “हो, मलाई थाहा छ अहिले नेतृत्वको दावी गर्नेहरु म भन्दा धेरै सिनियर हुनुहुन्छ। म उहाँहरुको उर्वर समयको लगानीलाई ठुलो सम्मान गर्छु। यदि नियमित समयमै महाधिवेशन हुन्थ्यो भने हामीहरु जस्तो पुस्ता अन्योलमा रहेर बस्नु पर्ने थिएन। तर नेतृत्व ब्यवस्थापनको नाममा हाम्रो जोश, जाँगर, क्षमता र क्रियाशिलतालाई सेलाउन दिन हुदैन भन्ने मेरो मान्यता हो।”
त्यसो भए शैक्षिक क्षेत्रमा राजनितिक हस्तक्षेप कत्तिको ठीक हो? मैले उनको मनको कुरा खोतल्ने कासिस गरे।
“हो, हामी राजनितीको नाममा शक्ति अपचलनको मार्गमा उद्यत छौँ। हाम्रो अभ्यास विशुद्ध शैक्षिक र प्राज्ञिक हुनुपर्ने हो। विद्यार्थी भर्ना, विद्यालय ब्यवस्थापन समितीको सवाल होस या अन्य नियुक्तिका बिषयहरु यि सबैमा बिद्यार्थी संगठनको भुमिका अत्यन्तै अस्वभाविक र अप्राकृतिक देखिन्छ। म सदैव यसको बिरोध र भत्सर्ना गरिरहन्छु। म यो शैलीबाट संञ्चालित सांगठनिक संरचनमा नै आमुल परिर्वतनको पक्षमा आवाज उठाइरहने छु।”
एकछिन पछि उनले सोचेझै गरेर वडो महत्वपूर्ण वाक्य भने, “शिक्षामा राजनीति होइन, राजनीतिमा सकारात्मक शैक्षिक हस्तक्षेप स्थापित गरौं।” मेरो मन्त्र यही हो।
पटक पटक मिति तोकिदै स्थगित नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी साउन २३,२४,२५ गते काठमाण्डौमा हुँदैछ। विद्यार्थीहरुको संगठनका रुपमा स्थापित नेविसंघ भित्र अहिले पनि करिब ४० बर्ष उमेर समुहका नेताहरुनै नेतृत्वको होडबाजीमा देखिदै छन्। नाम विद्यार्थी संघ भए पनि गैरविद्यार्थी जमात नै यसमा फेरि पनि हावी हुन उद्यत देखिन्छ नै। धेरै जसो पुरानै अनुहारका नेताहरुनै महत्वपुर्ण पदको दाबा गरिरहेको समयमा केहि तन्नेरीहरु पनि साहस गरेर नेतृत्वको प्रतिष्पर्धामा आएका छन्। नेविसंघको बर्तमान सांगठनिक अकर्मण्यताका बिचमा नयाँ युवा विद्यार्थीहरु यसरि मैदानमा होमिनु निश्चय पनि सकारात्मक कदम हो।
उनी हेर्दा सानै देखिन्छन् र उमेरले पनि तरुण छन्। तर उनका कुरा निकै चोटिलो र महत्वपूर्ण लाग्छन् एक अनुभवी पाको पुस्ताको व्यक्तिले गर्ने जस्तै। आउदै गरेको महाधिवेसनमा उनी सदस्यमा जित्छन् जित्दैनन् अलग कुरा हो। तर उनी भविष्यमा ने वि संघ र माउ पार्टी नेपाली कांग्रेसमा एक संभावना बोकेका व्यक्ति चाही पक्कै हुन् भन्न करै लाग्छ उनीसँग भेटहुने जोकोहीलाई। उनी जस्तै तन्नेरी पुस्तावाट नयाँ केही गर्छु भनेर यसैगरि लागिपरेका तन्नेरी नेताहरुले चुनावमा जित हार जसको भएपनि समग्र नेविसंघ संगठन र माउ पार्टी कांग्रेसको पार्टी सुद्धिकरणमा सकारात्मक अर्थ भने अवश्य राख्दछ।