arrow

सत्सङ्गको फल

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ जेठ २० बिहिबार
viswamitra-basista.png
विश्वामित्र र वशिष्ठ ऋषि

परमेश्वरको सृष्टि यस संसारमा राम्रा-नराम्रा, मित्र-शत्रु, साधु-सन्त सबै थरिका विचारधारा भएका व्यक्तिहरू सँग जम्काभेट हुन्छ, बिछोड हुन्छ । कसैसँगको भेटले जिन्दगीमा बहार ल्याउँछ भने कसैसँगको भेटले दिक्दारी पना । जीवन सफल पार्न चाहने पुरुषले साधु सन्त, विद्वान, आफू भन्दा उच्चस्तरका पुरुषहरूको सङ्गतमा समय बिताउनाले जीवन सार्थक बन्दछ । 

हामी सबैले बाँसको अनुभव गरेकै छौँ । त्यही बाँस हामीले बन्चरोमा हाल्यौँ भने श्रीखण्डका ठुला ठुला रुख काट्न सक्छौँ । तर त्यही बाँसमा हामीले काटेका श्रीखण्डको धूलोको लेप लगाएर बाल्यौँ भने बाँस सुगन्ध दिने नै हुन जान्छ । त्यही बाँसको अर्को उदाहरण पनि लिऊँ धुवाँ । बाँस बाल्दा धुवाँ आउँछ र वातावरण दूषित बन्न जान्छ । त्यही धुवाँलाई हामीले सङ्कलन गरेर मसी बनायौँ भने ठुला ठुला ग्रन्थहरू हामी लेख्न सक्छौँ ।
 
एक पटक वशिष्ठ ऋषि र विश्वामित्र ऋषिका बिचमा को ठुलो को सानो भन्ने विषयमा मतभेद उत्पन्न भएको थियो । विश्वामित्रले एक हजार वर्ष सम्म तपस्या गरेका थिए। उनले आफूले गरेको तपस्याको आधा फल वशिष्ठलाई दिने विचार गरेका थिए । वशिष्ठले त्यति तपस्या गरेका थिएनन् तर सपनामा एक घण्टा सत्सङ्ग मात्र गरेका थिए । 

उनले पनि आफूसँग भएको सत्सङ्गको फलको आधा फल विश्वामित्रलाई दिने विचार गरे । विश्वामित्र वसिष्ठसँग रिसाए किनभने उनले एक हजार वर्षसम्म तपस्या गरेका थिए । उनीहरू दुवै जना निसाफ माग्न भनेर ब्रह्मा, विष्णु, महेश्वर आदि देवता कहाँ गए । कसैले पनि उनीहरूलाई निसाफ दिन सकेनन् ।
 
आफ्नो जिज्ञासा शान्त गराउन उनीहरू दुवै जना शेष कहाँ गए र समस्या समाधानका लागि अनुरोध गरे । शेषले पृथ्वीलाई धारणा गरिरहेका थिए । शेषले विश्वामित्रलाई 'मलाई पिसाब गर्न मन लागेको छ, पिसाब नगरेसम्मका लागि पृथ्वी धारणा गर्नु' भनेर थमाइ दिए तर विश्वामित्रले सकेनन् । त्यसपछि उनले आफूले धारणा गरिरहेको पृथ्वी वशिष्ठलाई दिए । 

वशिष्ठले आफ्नो हातको कान्छी औँलाले पृथ्वीलाई सजिलैसँग थामिदिए । यसरी शेष कहाँ गएपछि उनीहरूको झगडा छिनियो । विश्वामित्रले त्यतिका वर्ष गरेको तपस्या भन्दा उनले सपनामा गरेको सत्सङ्गको आधा फल पनि धेरै महत्त्वको हुन गयो। हामी बाँस नै हुन गयौँ भने पनि सत्पुरुषको सङ्गत गर्नाले जीवनलाई सार्थक बनाउन सक्छौँ । 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



नयाँ