- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाल्यकालबारे स्वयंलाई सबै कुरा थाहा हुँदैन । मानव मस्तिष्क चेतनशील र शिक्षित–दीक्षित हुँदै जाँदा आफ्नो बाल्यकालका समय सन्दर्भ र घटनाक्रमबारे अभिभावकजनबाट सुनिन्छ र बुझिन्छ । चेतना विकासको क्रममा जिम्मेवारी बोधसमेत हुँदै जाँदा आफूभन्दा जुनियर भाइबहिनीहरू अर्थात् बालबालिका र तिनको सर्वाङ्ग जीवन विकासबारे थाहा हुन्छ । सम्भवतः यहि नै पुस्तान्तरणको एउटा सचेत क्रम हो र श्रृङ्खला पनि ।
मैले जान्दादेखि नै सधैंभरि एकनाशको जोशिलो र फूर्तिलोपनका साथ विशेषतः बालस्वास्थ्य र महिला स्वास्थ्यको क्षेत्रमा अगाडि–अगाडि देखिने नाउँ हो रमादेवी काफ्ले । अचेतन, असुरक्षित र अस्थिर झोडाफडानीपछिको जनजीवनमा रमा आमा भरपर्दो सामाजिक स्वास्थ्य परिचायिका हुनुहुन्थ्यो, अद्यपि हुनुहुन्छ । विभिन्न नाउँ, उपनाउँका विविध सिर्जित चाङमाथि आफू उभिएर सामाजिक र सांस्कृतिक हिसाबले व्यग्र मनस्थिति र मनोविज्ञानलाई डोहोर्याउन सक्ने प्रेरणादायी उर्जा हो काफ्ले आमा ।
आज जस्तो सुविधा र हाम्रा अग्रजमा पनि स्वास्थ्यसम्बन्धी चेतना थिएन । जनमतको पहुँचमा सरकार थिएन । जन्मदेखि मृत्युपर्यन्त जीवनकालका घटनाक्रममा कि त लामा धाँमीझाँक्रीको सम्झना हुन्थ्यो कि सुढेनी अर्थात् स्वास्थ्य परिचायिकाको । बालबच्चालाई बान्ता झाडापखला लागेको अवस्था होस् वा प्रसुति–प्रसवको समय होस्–सबैलाई याद हुन्थ्यो काफ्ले आमा अर्थात् रमा आमाको ।
वनौषधिको प्रयोगसँगै बजारमा उपलब्ध अंग्रेजी ओखती लिएर प्रत्येक बालजीवनको सहारा बन्नुभएकी रमा आमा परम्परागत खाना र खाजा परिकारका अतिरिक्त चिउरा––तरकारी, मकै–भटमास, गुन्द्रुक–सिन्की, फ्याप्लो रोटी, सातु, उसिनिएका सखरखण्ड–आलु–पिडालु र घरायसी खाद्यवस्तुमा निरोग जीवन छ भनेर सार्वजनिक ढंगले वकालत गर्ने ग्रामीण वकिल हो भनेर भन्दा अतिशयोक्ति हुँदैन ।
लालनपालन र भरणपोषणका दृष्टिकोणले सहज जिम्मेवारीबोध गर्न सक्ने सदस्य सङ्ख्या भएको परिवार बनाउनुपर्नेमा रायसुझाउने, यसका लागि परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती स्थानीय दिदीबहिनीहरूलाई समयसमयमा गर्भजाँच गर्न प्रेरित गर्ने, गर्भकालभरि आरामविरामको अवस्थाबारे प्रशिक्षित गर्ने तथा सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनेलगायतका काममा आमा रमादेवी काफ्लेलाई समाजलाई कहिल्यै भुल्न नसक्ने गुण लगाउनुभएको छ ।
२००६ साल फागुन २५ गते पाँचथरको नेम्याङमा आमा धनमाया र बुबा कमलप्रसाद खनालको कोखबाट जन्मलिएकी रमादेवी अनौपचारिक साँवा अक्षरज्ञान बटुल्ने क्रमसँगै स्वास्थ्य सम्बन्धी निकै रूची अभिरूची लिने बालिकामा पर्नुहुन्थ्यो । सामान्य पढाइलेखाइबाट गुज्रिएको बाल्यकालको उत्तरार्धमै २०१९ साल मंसिर २५ गते जिल्लाकै रोमानन्द काफ्लेसँग परम्परागत विवाह बन्धनको रथमा हाँकिन पुग्नुहुन्छ । विवाहपछि गृहस्थ लिएर उहाँहरू २०२१ सालमा झापाको हडिया बुधबारेमा बसाइँसराई आउनुहुन्छ । यहाँको बसाइँ उहाँको रूचि अनुकूल नभएपछि उहाँहरू २०२७ सालमा मोरङको सलकपुरमा पुग्नुहुन्छ ।
सलकपुरले पनि उहाँहरूलाई चिन्न सक्दैन र लगत्तैपछि इटहरा जानुहुन्छ । झोडाफडानीको लगत्तैपछि खुल्दै गएको पथरीले उहाँहरूलाई मोहनी लगाउछ र २०३६ सालयता निरन्तर पथरीको बसाइँ गर्न थाल्नुहुन्छ ०३६ सालको बसाइँसँगै स्वास्थ्य क्षेत्रमा दिलचस्पी राख्नुहुने उहाँ आफूले झैँं शिक्षाबाट विभिन्न कारणले वञ्चित रहन पुगेका कयौं निरक्षर दिदीबहिनीहरूलाई साक्षर तुल्याउन पटकपटक प्रौढ शिक्षाअभियान सञ्चालन गर्नुहुन्छ । प्रौढ शिक्षा सञ्चालन सहयोगीबाट शिक्षा सञ्चालनकै क्रममा दिदीबहिनीकै जीवनबाट आफूले व्यवहारमा धेरै कुरा सिकेकोले आफूलाई पनि दिदीबहिनीको सुरक्षित मातृत्वको अधिकारमुखी काममा अग्रसरताका साथ अहिलेसम्म उभ्याउनुभएको छ ।
औपचारिक हिसाबले २०४७ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम लिन र सेवा प्रवाह गर्न थाल्नुभएकी उहाँले समाजका कयौं संघसंस्थाको नेतृत्वसेमत प्रदान गर्नुभएको छ । अध्यात्म, अध्यात्मिक कर्म, पुराण, पौराणिक महत्त्वका कथावस्तुमा मन लगाउने आमा स्वास्थ्यका अतिरिक्त सांस्कृतिक पहिचानका दृष्टिकोणले लोपोन्मुख रहेको बालन र संगिनीलाई पनि पुनरुत्थान गर्न र पुस्तान्तरण गर्न लालायित हुनुहुन्छ । त्यही सक्रियताका साथ संस्थागत जिम्मेवारीका साथ अग्रभागमा रहेर क्रियाशील देखिनुहुन्छ ।
स्वयंसेविकाको काम गरेवापत उहाँजस्ता स्वयंसेवीको कुनै खास पारिश्रमिक हुँदैन । बासुदेव र अर्जुन नाउँका २ छोरा र देवका र इन्दिरा २ छोरी सहितको गृहस्थ चलाउन दैनिक निकै धौधौ थियो नै । तथापि वर्षमा एकपटक प्राप्त हुने पोशाकले आफूलाई यस क्षेत्रमा उभ्याउन र हिँडाउन पाउँदा सन्तुष्टि मिलेको अनुभूति उहाँ व्यवहारमै दिनुहुन्छ अहोरात्र खटेर । अहिले पनि गाउँघर र टोलटोलमा कुनै न कुनै प्रकारको महिला हिंसा छ । यसका विरूद्ध आवाज उठाउनु र महिलाहरूलाई निर्धक्क घरबाहिर निकाल्न सक्नुमा आफ्नो सफलता ठान्नुभएकी आमा रमाले स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेर सरकारले ल्याएको भिटामिन ए, दादुरा नाशक औषधी, पोलियो थोपा, परिवार नियोजनका साधन वितरण, विभिन्न खोप कार्यक्रम सञ्चालन गर्नुदेखि सुरक्षित मातृत्व कार्यक्रमका लागि निःशुल्क परामर्श दिने काममा उत्तिकै गति र सक्रियताका साथ खट्ने गर्नुभएको छ ।
वास्तवमा उहाँजस्तै सामाजिक जागरणको अगुवा आमाहरूले स्थानीय तहमा सरकारले निःशुल्क व्यवस्थापन गरेको परिवार नियोजन सेवा, गर्भजाँच सेवा, प्रसूतिपछि कवज लगाइदिने सेवा, प्रसूतिपछिको हेरचाह, स्तनपान, हात्तीपाइले, कुष्ठरोग लगायतका सेवा क्षेत्रमा भूमिकाको प्रभावकारिता देखिएको छ । उहाँहरूकै सक्रिय भूमिकाका कारण पछिल्लो समय नसर्ने रोगको पहिचान र व्यवस्थापन, शिक्षा, कृषिका क्षेत्रमा पनि महिला हिंसाविरूद्धको जनचेतना अभिवृद्धि भएको कुरा हामीले बिर्सन्न हुन्न । उहाँ अहिले पनि टोलटोलमा आमा समूहमाझ स्वास्थ्य समस्या र स्वास्थ्य सचेतनाका बारेमा छलफल चलाउनु हुन्छ । विभिन्न जनस्वास्थ्यमा आधारित समस्यामाथि छलफल र आफू रहेको वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समूदायमा आधारित स्वास्थ्य कार्यक्रममा सक्रियतापूर्वक चासो लिनुहुन्छ उहाँ ।
मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्यसम्बन्धी तमाम ग्रामीण चासोका विषयमा सक्रियता दर्शाइरहँदा उहाँको निःशुल्क स्वास्थ्य प्रवर्धन सेवा र यसमार्फत प्राथमिक उपचार तथा प्रेषण र स्वास्थ्य सन्देश समूदायमा फैलाउने कुराले सरकारको राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाइरहेको छ भन्ने विषय हामीले सम्झन भुल्न हुन्न । साविकको पथरी गाविस वडा नं –८ आइतबारे र हाल पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ स्थायी निवासी उहाँ आफूलाई कुनै राजनीतिक दलको छाप लागेको कार्यकर्ताभन्दा पनि सामाजिक कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका भनेर चिनिएकोमा खुशी व्यक्त गर्ने उहाँले आज पनि विद्यालय व्यवस्थापन समिति, ज्येष्ठ नागरिक एकता समन्वय समिति, सांस्कृतिक मूल्य मान्यताको संरक्षककर्ताको रूपमा उभ्याइरहनु भएको छ ।
आफ्नो र समकालीन साथीहरूको समय त यसै बित्यो । अब नयाँ पुस्ता हाम्रोजस्तो गरी मसिनो ढंगले खट्दैन । सरकारले विभिन्न क्षेत्रमा एउटा जनमुखी मानक बनाएको छ । विभिन्न विषयगत सेवाको दायरा फराकिलो हुँदै गएको छ । यस क्षेत्रमा पनि सरकारले स्वयंसेविकाका लागि स्वास्थ्य बीमा र पुग्दो भत्तासम्म व्यवस्था गरिदिए ग्रामीण जनजीवनमा आशाको उज्यालो छरिने थियो र स्वास्थ्य स्वयंसेविकाको भूमिका थप बढी प्रभावकारी हुने थियो – उहाँ भन्नुहुन्छ ।
अहिलेजस्तो ऊ बेलामा जनताको पहुँचमा सरकार थिएन, सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ र सामाजिक सुरक्षासम्बन्धी काम गर्ने डेस्क थिएन, कार्यक्रम शाखा महाशाखा थिएन । गाउँघरमा सुढेनी भनेर चिनिनु हुने आमा र दिदीबहिनीहरूले महिला स्वयंसेविकाको काम गर्नुपर्ने समय थियो । यिनै सुढेनीकै सुझबुझमा कतिपय दिदीबहिनीले सहजरूपमा मातृत्व पाएका छन् भने कतिपयले अकालमा जिउज्यान गुमाएका छन् । यिनै आमा र दिदीबहिनीहरूले नै तमाम सरूवा रोग, प्रजनन स्वास्थ्य र यस सम्बन्धी सेवा र शिशु तथा आमाको स्वास्थ्य सम्बन्धी सम्पूर्ण हेरचाह र कहिलेकाहिँ त वृद्ध–वृद्धा बुबा–आमाकोसमेत स्वास्थ्य हेरचाहको जिम्मा लिनुपर्ने हुन्थ्यो ।
यस्तो काममा निर्धक्क ढंगले सामाजिक योगदान गरेकी अगुवा पात्र हुनुहुन्छ – रमादेवी काफ्ले । किट परीक्षण गरेर नचाहेको गर्भ छ भने सुरक्षित गर्भपतन सेवा दिने सक्ने हो भने र चाहेको गर्भ छ भने सुरक्षित मातृत्वको औषधि विज्ञानको प्रयोगसहित परामर्श दिने व्यवस्था हुने हो भने आमा रमादेवी काफ्ले यो समयकै गाइनो चिकित्सक हो, त्यो बेलाको त हो नै ।