- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घर आउँदै गर्दा गाडीमै घोत्लिन थालेँ – जीवनमा पिटरले भने जस्तै म कति पल्ट र कसरी ’लक्कि बास्टर्ड’ सावित भएको हुँला त ?
फर्केर हेर्दा थाहा लाग्यो नितान्त एक्ला एवं पिल्पिले पलहरुले मलाई स्वयंप्रति विश्वास गर्न प्रेरित गरी मेहनती बनाएका रहेछन् र ‘लक्कि बास्टर्ड’ को ठप्पा लगाएर छोडेका रहेछन् ।
१९ औं शताब्दीका नामुद जर्मन दर्शनशास्त्री फ्रिडरिक निचेले सन् १८८८ मा ब्यक्त गरेको प्रसिद्ध भनाइ याद आयोः ‘जीवन नामक युद्धको पाठशालामा जुन कुराले मलाई मार्न सक्दैन त्यसैले मलाई बलियो बनाएर छोड्छ ।’
धेरैमध्ये तीन प्रसङ्गहरु उल्लेख गर्न चाहेँः
सन १९८९ मा म अठार पुगेर उन्नाइस वर्षमा लाग्दै थिएँ । बहिनीहरु क्रमशः १४ र ९ वर्षका थिए । आमाले संयुक्त परिवारबाट छुट्टिएर बस्ने गरी अंश माग गर्नु भएको थियो ।
तर भाइसँग छुट्टिनु पर्दाको पीडाले होला मेरो मुटु चाहिँ दशैंमा खसी काटेर केराको पातमाथि भाग लगाइएका साना साना मासुका थुप्रा जस्तै टुक्रा टुक्रा भएको थियो ।
लोग्ने मान्छे भएर रुनु हुन्न भन्ने सुनेको थिएँ । त्यसैले होला पीडा जति आँशु बनेर बाहिर निस्कन नसकी भित्र भित्रबाटै घाँटीमा आएर भरिएको हुन्थ्यो । आफूलाई कमीला भन्दा पनि सानो र निरीह महसुस गरिरहेको अवस्था थियो ।
ऐनामा आफूलाई हेर्ने आँट गर्न छोडेको धेरै दिन भैसकेको थियो । नारायण गोपालका वियोगले भरिएका गीत मात्रै सुन्न मन लाग्थ्यो । दिनहरु एकदमै लामा प्रतित हुन्थे ।
निष्पट्ट काला रातहरु झनै युग जस्तै लामा र कष्टकर !
त्यत्तिकैमा दाजु (ठूलोबुबाको छोरा) मणिग्राम (बुटवलको) मा साँझको बेला रिक्सा नपाएकोले हिंडेर आउँदै हुनुहुन्छ भन्ने कुरा नजिकै बर्मेली टोलको एक जना साइकलमा आएको हाम्रो अलिक टाढाको नाता पर्ने मानिसले भने पछि म उहाँलाई लिन जाने भनी साइकल टिपेर हुइँकिएँ ।
दुखिरहेको मनले शायद सान्त्वना खोजिरहेको थियो । उहाँलाई शिवपुर हाइ स्कुल हुँदै एक्लै आउँदै गरेको भेटेँ । साइकल रोकेँ । उहाँ पछाडि बस्नुभयो । मैले साइकल चलाएँ ।
हामी घर फर्कियौं । दाजु घरभरीमा हक्की स्वभावको हुनुहुन्थ्यो जस्तो लाग्थ्यो ।
बैंकमा जागीर गर्नुहुन्थ्यो । ममा उहाँ मेरो अध्ययनको ब्यवस्थाका लागि अन्तिम आशाको दीयो बन्नुहुनेछ भन्ने जस्तो लागेको थियो ।
मलाइ अंशबण्डा भन्दा पनि अध्ययनलाई कसरी निरन्तरता दिन सकिन्छ होला भन्ने अज्ञात भयले सताइरहेको थियो ।
बाटोमा दाजुले मेरो अध्ययनको ब्यवस्थाबारे केही कुरा गर्नुहोला भन्ने लागेको थियो । उहाँले केही पनि भन्नु भएन ।
घर पुगेपछि पनि केही कुरा भएनन् ।
दुई दिनपछि दाजुलाई जसरी ल्याएको थिएँ त्यसैगरी मणिग्रामसम्म साइकलमा छोड्न गएँ । दाजुले त्यो हदसम्मको उदासिनता देखाउनुहोला भन्ने संकेतसम्म मात्र पाएको भए हृदय त्यति टुट्दैन्थ्यो होला जति टुट्यो ।
एउटा सुकेको रूख ढले जस्तै गरी मनको तटमा बडो ठूलो आवाजमा गर्लम्म बझारियो । तर त्यो टुटाइको आवाज सुन्ने म स्वयं बाहेक कोही थिएनन् । एउटा अन्तिम आशाको दियो निभेर अँध्यारो भएको अवस्था थियो ।
कुखुराको फुल फुटेर नै चल्ला जन्मन्छ भने जस्तै मन टुक्रिएर मेरो ब्यक्तित्वले जन्म लिँदैन भन्ने कुरा त्यतिबेलै मलाई कसरी थाहा होस् !
त्यो साँझ मेरो दोस्रो जन्म भैरहेको थियो । सहाराको लागि तिन्को नै नभएपछि मसँग दुई वटा विकल्प मात्रै बाँकी थिएः डुबेर मर्ने वा पौडी खेलेर खरो उत्रने ।
मैले आफै पौडी खेलेर तैरिने अनि विस्तारै किनारामा पुग्ने निधो गरेको थिएँ ।
जीवनमा जान्नुपर्ने त्यत्ति मात्रै रहेछ । अरु सबै ज्ञान बुद्धि विलासका कुरा रहेछन् ।
त्यो घटनापछि मैले घाम जस्तै छर्लङ्ग बुझेँ हामीले धानका खेतमा झारको गोडमेल किन गर्दा रहेछौं भनेर ।
मैले झाररुपी ती सान्त्वना–आश्वासन–आशाको खोजीमा आफूलाई जेलिरहेको थिएँ । हानि पुर्याइरहेको थिएँ भन्ने कुरा स्पष्ट भएपछि मलाई जीवनको गति समात्न बेर लागेन ।
मैले कुनै कुरामा कसैको आशा गर्न छोडेँ । समय समयमा भैरहवा, बुटवल अनि काठमाडौंका रोजगारदाताहरुबाट महिनौँसम्म काम गर्दा पनि पारिश्रमिक हात नपर्दा, ठगिनु पर्दा निराशा र ब्यग्रताका झारहरुले मलाई जेल्न एवं ढाक्न नखोजेका होइनन् ।
तर ती अज्ञात डर अनि आशाका झारबाट जेलिएर निसास्सिनुअघि म कसो–कसो आफू कहाँ छु र कसरी अगाडि बढिरहेको छु भन्ने ज्ञानले नियन्त्रित हुन्थेँ र जेलिनबाट बच्थेँ ।
त्यसपछि त आफू वरिपरि त्यस्ता झार पलाउने अवसर नै दिइन् जसले केही समय पछि मलाई नै निमोठ्न थालुन् ।
मैले निरन्तर आफूलाई मात्र विश्वास गरेँ र अगाडि बढेँ ।
(क्रमशः अर्को शनिबार)
लेखकको लक्कि बास्टर्डको पहिलो भाग पनि पढौं–