arrow

फ्ल्यासब्याकः लक्कि बास्टर्ड–३

logo
कृष्ण शर्मा,
प्रकाशित २०७९ फागुन २० शनिबार
krishna-sharma- lucky-bastard-3.jpg

दोस्रो प्रसङ्गः अमेरिका आएपछि वाशिंटन पोष्टको जागीरले मलाई भर्जिनिया जस्तो महँगो ठाउँमा दुई छोराछोरी सहितको परिवारसँग बाँच्न मात्र सक्ने आर्थिक हैसियतमा सीमित गरेको थियो । 

इमान्दारीपूर्वक लेखेर बाँच्ने पत्रकारले कहीँ पनि परिवारलाई सुख सुविस्तामा राख्न सकेको देखेको थिइन । पूँजीवादी मुलुकमा आएपछि पनि पत्रकारिता छोड्न नसक्नु शायद मेरो उक्त पेशाप्रतिको अनावश्यक लगाव र आफूले त्यो काम मात्रै जान्नुको बाध्यता थियो क्यार ! 

के गरेर यो पेशा छोड्ने होला भनी चिन्तामग्न थिएँ । यस्तैमा आर्थर इन्सानाले क्यालिफोर्नियाबाट फोन गर्यो । अमेरिकाको अति प्रसिद्ध रान्डम हाउस प्रकाशन गृहका लागि ठेक्कामा काम गर्दो रहेछ । फोनमा भन्यो, ‘डेविड रेलिन बितेको वर्ष दिन भैसक्यो । अन्ततः हाम्रो कम्पनीले उनको अन्तिम पुस्तक ‘सेकेण्ड सन्स’ (दोस्रा सूर्यहरु) लाई अन्तिम रूप दिने निर्णय गरेको छ । अब हामीलाई अंग्रेजी र नेपाली भाषा जानेको पत्रकार मात्र होइन कि नेपालको भूगोल, संस्कृति र हिमाली क्षेत्रतिर बोलिने विभिन्न भाषिकाहरुबारे पनि हेक्का भएको एक सक्षम मानिस चाहिएको छ ताकि उनको किताबलाई तोकिएको समय भित्रै सम्पादन सहयोग, फ्याक्ट चेक र अडियो भोइस ओभर करेक्सन गर्न सकियोस् । नेपाली दूतावासले तिम्रो नाम दियो । हामीसँग काम गर्ने इच्छा भए कृपया तिम्रो बायो डाटा पठाइदेऊ ।’

मैले कम्प्युटरमा डेविड रेलिन र सेकेण्ड सन्सबारे खोज्ने प्रयास गरेँ । रेलिनले ग्रेग मोर्टेन्सनसँगको सहकार्यमा लेखेको बिश्व प्रसिद्ध ‘चियाका
तीन प्यालाहरु’ र उसले आत्महत्या गरेको कुरा बाहेक उनका अपूरा कामहरुबारे त्यति धेरै सूचनाहरु भेटिएनन् । इन्सानालाई फोन गरेँ । 

उसले रेलिनको अन्तिम प्रोजेक्ट नेपालको आँखा डाक्टर सन्दुक रुइत र अमेरिकी डाक्टर जेफरि टबिनको मोतियाबिन्दु रोगबाट ग्रस्त हिमालय क्षेत्रमा बस्ने मानिसहरुलाई ध्यानमा राखेर गरिएको निःशुल्क आँखा उपचार शिविरको बारेमा रहेको बतायो । 

त्यो सुन्दा साथ मैले पैसाको केही कुरा नगरी तुरुन्त आफ्नो बायो डाटा पठाएँ । 

उक्त किताबको सम्पादन प्रकृयामा सामेल हुन पाउनु नै मेरो लागि धेरै ठूलो कुरा थियो । 

मेरा लागि त्यो धेरै अर्थमा एक अपूर्व अवसर साबित हुँदैछ भन्ने कुराको अनुमान पहिल्यै थियो । 

म नेपालमा हुँदा ती डा. रुइत नै थिए जसले भारतको मदुरईमा समेत पत्ता लाग्न नसकेको मेरो आँखाभित्र बल्झिएको समस्यालाई ‘डायग्नोज’ गरी शल्यक्रियाका  लागि सिफारिस गरेका थिए । 

त्यसको दुई दिनपछि इन्सानाले ‘कन्ट्रयाक्ट लेटर’ ई–मेल गर्यो ।

मैले वाशिंटन पोस्टबाट बिदा लिएँ । रेलिनको ‘सेकेण्ड सन्स’ प्रोजेक्टमा काम गरेपछि म फेरि एक पटक ‘लक्कि बास्टर्ड’ भैसकेको थिएँ । 

त्यसपछि जागिरका लागि मैले लामो समयसम्म कतै निवेदन पेश गर्नु परेन ।

तेस्रो प्रसङ्ग
४७ वर्ष पुगिसक्दा भिन्दा भिन्दै स्थान एवं भिन्दा भिन्दै परिस्थितिमा मैले धेरै संघर्ष र त्यसै अनुसारका उपलब्धि प्राप्त गरिसकेको थिएँ । 

तर पनि म बाँकी भविष्यको मामिलामा चाहिँ अलिक बेपर्बाह नै थिएँ भन्दा फरक नपर्ला । उत्तर–आधुनिक पश्चिमा साहित्यले क्याम्पस पढ्दादेखि नै मेरो दिमागमा जीवनको निरर्थकताको आगो सल्काइदिएकाले मैले जीवनलाई धेरै जसो त्यो लिकबाट कुँदेको देख्थेँ जो अरुले सायद देख्दैनथे । 

गरिरहेको कामप्रति मेरो रुची निरन्तर घट्दै गैरहेको थियो । जीवनको ब्यवस्थाप्रति नै लगाव घट्दै गैरहेको थियो । 

धेरै वर्षअघि छोडेको कामप्रतिको धङधङीले गिजोलिरहेको थियो । अनुभव र योग्यता अनुसारको नयाँ काम खोज्ने जाँगर मरिरहेको थियो । 

श्रीमतीजीले फलानो जागीरको लागि निवेदन दिनुभयो ? भनेर सोधेपछि तयारी बिना हतार हतार निवेदन दिन्थेँ अनि भन्थेँ –अँ ! दिएको छु;
अन्तर्वार्तामा बोलाउलान् नि ।

टड फिलिप्सद्वारा निर्देशित ‘जोकर’ नामक फिल्म चौथो पटक हेर्दै गरेको रंगे हात समातेपछि उनको रीसको पारो चढ्नु एकदमै जायज थियो । 

त्यसको अर्को दिन उनले मलाई मेरो टार्न खोज्ने प्रयासलाई असफल बनाउँदै डाक्टरकोमा लिएर गइन् । 

बल्ल थाहा पाएँ म त केही मेसो नपाइकनै मिड–लाइफ क्राइसिसको उत्कर्षमा रहेछु । 

ज्याकलिन फिनिक्स र म आ–आफूले बनाएका छाँगाबाट एक साथ खसिरहेका रहेछौँ ।

त्यसपछिका केही दिनहरु त्यति सुखद रहेनन् । म र जीवनबीच तालमेल मिलिरहेको थिएन । 

मैले जीवनलाई दोष नै दिन्नथेँ । तर जीवनले मलाइ एकोहोरो टोकिरहन्थ्यो । 

मसँग जीवनका विरुद्ध लाखौँ प्रश्न हुन्थे । तर पनि म सोध्दिनथेँ । जीवनले भने मलाई नालायक एवं अल्छी करार गरिसकेको अवस्था थियो । 

यद्यपि म बिहान उठेदेखि राति नसुत्दासम्म केही न केही गरिरहेको हुन्थेँ । 

जीवन र मबीच दुस्मनी यो हदसम्म पुगेको थियो कि हामीले एक अर्कालाई हेर्न पनि चाहन्नथ्यौं । 

तर त्यो घृणा–युद्ध रुस र युक्रेनको जस्तो लामो समयसम्म टिक्न पाएन ।

एक दिन ब्रिट्नि पिरेलीले फोन गरिन् र सोधिन् कतै म अझै पनि उपयुक्त जागीरको खोजी गरिरहेको त छैन ? 

मैले मन पर्ने कामको खोजी कायमै छ भनेँ ।

उनले मलाई लिंक्डिनमा भेटेको जिकिर गरिन् । सोधिन् कतै म ह्वाइटहाउसमा भाषाविद्को रूपमा काम गर्नका लागि इच्छुक छु कि भनेर ।  

के खोज्छस् काना आँखो । 

हिन्दी, नेपाली र संस्कृत भाषा ज्ञान सम्बन्धी परीक्षाका चरणहरु शुरु भए । 

तेस्रो चरणमा म फेल भएँ । अरु सबै पनि फेल भएछन् । केही दिनपछि फेरि त्यही नम्बरबाट फोन आयो । 

परीक्षाको अर्को मौका दिइयो । म पास भएँ ।

पृष्ठभूमि सम्बन्धी अन्तरिम सफाइ आउन तीन महिना लाग्यो । पूरा सफाइ आएपछि नियुक्ति लिएँ ।

ह्वाइटहाउसले ‘अन कल’ मा रहेका कर्मचारीलाई वार्षिक पार्टीमा बोलाउँदैन ।

यदि बोलाउँदो हो त त्यहाँको कुनै पिटरले मलाइ हुर्रिंदै आएर अँगालो हाल्दै भन्दो होः ‘यु, लक्कि बास्टर्ड’ !
(क्रमशः अर्को शनिबार) 
लेखकको लक्कि बास्टर्डको पहिलो भाग पनि पढौं– फ्ल्यासब्याकः लक्कि बास्टर्ड–१
लेखकको लक्कि बास्टर्डको दोस्रोे भाग पनि पढौं–फ्ल्यासब्याकः लक्कि बास्टर्ड–२



नयाँ