arrow

फ्ल्यासब्याकः लक्कि बास्टर्ड–१

logo
कृष्ण शर्मा,
प्रकाशित २०७९ फागुन ६ शनिबार
krishna-sharma-lucky-bastard-1.jpg

प्रिय पाठक, केहीबेरका लागि तपाई सबैलाई मैले एक दशकअघिको एक नितान्त निजी समयमा लैजान चाहेँ । यो सन् २०१२ को अन्त्यतिरको घटना हो । 

अमेरिकाको वाशिंटन डीसीस्थित मैले काम गर्ने संस्थाले आफ्ना कर्मचारीहरुलाई मेहेनतका साथ काम गरेबापत धन्यवाद दिने हेतुले स्थानीय तारे होटेलमा एक रात्रिभोजको आयोजना गरेको थियो । 

हिउँले शहरै सेताम्ये पारेको साँझ म होटलको मुख्यद्वारबाट छिरेको मात्रै के थिएँ सहकर्मी पिटरले मलाइ देखिहाले । अनि तुफान जस्तै ढोकातिर हुर्रिंदै आए । मैले त्यो वर्ष अमेरिकाका लगभग आधा भन्दा बढी जति राज्यहरु अमेरिकी सरकारकै खर्च संयोजनमा ओहरदोहर गरेको यथार्थसँग ’कर्मचारी यात्रा संयोजक’ भएको नाताले उनी राम्रैसँग बाकिफ थिए । 

बधाइ एवं नयाँ वर्षको शुभकामना दिँदै मैले मुठ्ठी पारेर तेर्साएको दाहिने हातमा उनले नदुख्ने गरी टुच्च एक फिस्ट दिए । अभिवादनको यस्तो
अफ्रिकी–अमेरिकी समुदायबीच अति नै प्रचलित शैलीलाई त्यसबेलाका राष्ट्रपति बराक ओबामाले अभ्यासमा ल्याएर एकाएक लोकप्रिय गराएका थिए ।

त्यसपछि पिटरले अलिक कुप्री परेर मलाई चिपिक्क अंगालो मारे । ताकि उनको बडेमानको भुँडीले मेरो पातलो शरीरलाई नठेलोस् । अनि उनी अत्यन्तै मित्रवत शैलीमा मेरो कानमा फुस्फुसाए ‘यु लक्कि बास्टर्ड !’

 अंग्रेजी भाषाको उक्त टुक्काको लाक्षणिक अर्थ त्यतिबेलासम्म मलाई थाहा थिएन । नेपालको दुर्गम गुल्मी जिल्लाको त्यस दुर्गम धुर्कोटको नजिकै जन्मिहुर्केको यो साधारण भन्दा पनि अति साधारण मानिसलाई अंग्रेजीका सबै शब्दहरुको अर्थ कसरी पो थाहा होस् ।

उक्त अंग्रेजी टुक्काको सोझो नेपाली अनुवाद त ‘तँ भाग्यमानी रण्डीको छोरो’ हुन्थ्यो । मैले अनुमान गर्नै सक्दिनथेँ कि कसैले मलाई
त्यस्तो तल्लो स्तरमा ओर्लेर गाली गर्न सकोस् । 

अनायास मन खिन्न भयो । म त्यति खुशी हुन सकिन जति हुनु पर्दथ्यो । यद्यपि त्यो साँझ मैले राम्रो काम गरे बापत कम्पनीबाट एक प्रमाण पत्र पनि पाउँदै थिएँ ।

म त्यति सजिलै रिसाइहाल्ने मानिस हैन । तर पिटरसँग म त्यो साँझ आफूले महसुस गर्नुअघि नै झमक्कै अँध्यारो हुने गरी रिसाएँ । 

अहिले त्यो लाटो रीसयुक्त क्षण सम्झँदा मनमनै हाँसो उठ्छ । 

मलाई कति रीस उठेको थियो भने नेपालमा मात्रै भएको भए जे त होला भनेर उनको नाक कुच्चिने गरी कम्तीमा एक मुक्का त पक्कै हान्थेँ होला । 

वा हातको गिलासमा भएको ह्विस्की उनको अनुहारमा फ्याँकेर बदला लिन्थेँ होला । वा ती सबै केही गर्न नसके शायद निच स्तरका अश्लील गाली गरेर भए पनि रीस फेर्थें होला । 

तर त्यतिबेला मैले दायाँ बायाँ केही गरिन । रीसमै भए पनि खिसिक्क हाँसेर औपचारिकता निभाएँ । 

पछि उडाएको भए पनि उडाओस् भन्ने सोचेर बाहिर जानु पर्ने भो भन्दै उनीबाट छुट्टिएँ । 

बिचरा उनले मेरो मनोदशा कसरी थाहा पाउन् । उनलाई मेरो अंग्रेजी भाषाका टुक्काप्रतिको त्यो तहसम्मको अज्ञानताबारे के थाहा ? 

सोझो तरीकाले उल्टै भने, ‘टेक केयर, म्यान ! ई–मिट यु फर वर्क आफ्टर न्यु इयर डे !’

अर्थात् ‘आफ्नो ख्याल राख्नु ! नयाँ वर्षको पहिलो दिनपछि कामको शिलशिलामा इन्टरनेट मार्फत भेटौंला ।’

उनीबाट छुट्टिएपछि म हतार हतार बाथरूम गएँ र आई–फोनमा गुगल गरेँ । गुगलले देखाएको अर्थप्रति पूरा विश्वास लागेन । अनि गोविन्दलाई त्यहीँबाट तुरुन्त फोन गरेर सोधेँ ।

मित्र गोविन्दले तत्कालै फोनमा भने –पश्चिमी मुलुकहरुमा ‘एकदमै भाग्यमानी मानिस’ लाई मित्रवत बोलीचालीको लवजमा त्यसो भन्छन् । 

त्यसपछि त के हुनु थियो र ? बाथरूममा भएको भित्ताभरिको ऐनाले म  दङ्ग भएको देखायो ।

पार्टी चलिरहेको ठाउँमा गएँ र पिटरसँग ह्विस्की पिउँदै मज्जाले खुलेरगफिन थालेँ । 

उनको अगाडि आफूलाई यसरी प्रस्तुत गरेँ कि मानौं केही बेरअघि मेरो मनमा ठेस लागेकै थिएन । म झमक्क रिसाएकै थिइन । बाहिर निस्कनु पर्ने इमर्जेन्सी सिमर्जेन्सी केही छँदै थिएन । 

नशा चढेपछि आफ्नो अंग्रेजी भाषाका उखान टुक्का प्रतिको अज्ञानताबारे मात्रै होइन आफूले ‘यु लक्कि बास्टर्ड’ लाई गालीको रुपमा बुझेर रिसाएको कुरासमेत उनलाई बताएँ । 

यी सबै कुरापछि हामी खुवै हास्यौँ । 

तर मलाई लाग्छ पिटर यदि डाक्टर भएको भए उनले तुरुन्तै मेरो स्वास्थ्य सम्बन्धी प्रोफाइलमा ‘बाइपोलर ब्यक्तित्व’ को ट्याग झुन्डाइदिइसकेका हुन्थे होला । क्रमशः अर्को शनिबार

(शर्मा हाल अमेरिकाको भर्जिनिया राज्यमा बस्छन् । उनले नेपालमा हुँदा पत्रकारिता गर्ने क्रममा ‘दि राइजिङ नेपाल’ मा आठ वर्ष काम गरे । अमेरिकामा उनले करिब ६ वर्षसम्म ‘दि वाशिंटन पोष्ट’ मा काम गरे । उनले डा. सन्दुक रुइत र अर्का एक अमेरिकी आँखा रोग विशेषज्ञद्वारा नेपालका हिमाली क्षेत्रमा संचालित निःशुल्क आँखा शिविरमा आधारित ‘दोस्रा सूर्यहरु’ नामक डेभिड रेलिनको पुस्तकका लागि एक वर्षसम्म रान्डम हाउस प्रकाशन गृहमा कपी एडिटरको रुपमा करारमा काम गरे । ‘अकिन्चन शर्मा’ को साहित्यिक उपनाममा उनले थुप्रै कथा, कविता तथा निबन्ध प्रकाशित गरेका छन् । लेखक शर्मालाई हाम्राकुरा डट कममा स्वस्फूर्त नियमित लेख्नका लागि अनुबन्ध गरिएको छ ।)
 



नयाँ