arrow

गोविन्दप्रसाद पोखरेल एक व्यक्ति : अनेक व्यक्तित्व

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ माघ १३ शुक्रबार
govinda-prasad-pokharel.jpg

काठमाडौं । गोविन्दप्रसाद पोखरेलको जन्म वि.सं. १९९५ साउन २३ गते गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं.१ नयाँगाउँ अरौँदीमा भएको थियो। बुबा ईश्वरीप्रसाद पोखरेल र आमा रम्बादेवी पोखरेलका पाचौँ सन्तान र दोस्रो पुत्रका रूपमा गोविन्दप्रसाद पोखरेलको जन्म भएको थियो। पोखरेलका एक दाजु, दुई भाइहरू र पाँच दिदीबहिनीमध्ये कान्छो भाइ गुणनिधि पोखरेल र कान्छी बहिनी कमला घिमिरे जीवितै नै हुनुहुन्छ भने अन्य दाजुभाइ र दिदीबहिनीको स्वर्गारोहण भइसकेको छ। गोविन्दप्रसाद पोखरेलकी एक श्रीमती रुक्मिणी, तीन छोराहरू विष्णु, युवराज, सोमराज र एक छोरी शान्ता मरासिनी हुनुहुन्छ। करिब ३१ वर्ष नेपाल सरकारको निजामती सेवामा रही अनिवार्य अवकाश भएका पोखरेल जीवनको उत्तरार्धमा आउँदा रोगसँग लडेर अन्ततः यही माघ १ गते स्वर्गारोहण हुनुभयो। पूर्वीय धर्म दर्शन परम्परामा साउनको जन्म र माघको मरणलाई अति नै उत्तम मान्ने गरिन्छ। यस किसिमले गोविन्दप्रसाद पोखरेलको जन्म र मृत्यु पनि उत्तम महिनामा नै भएको देखिन्छ।         पोखरेलसँगको मेरो व्यक्तिगत नाता सम्बन्धको कुरा गर्दा उहाँ मेरो मावली हजुरबुबा अर्थात् मेरो बुबाको माहिलो मामा हुनुहुन्छ। मान्छेको जन्म र मृत्यु शाश्वत सत्य भए पनि उहाँको मृत्यु हुँदा मलाई पत्याउन अत्यन्तै गार्‍हो भयो। होला र ? होइन कि ? जस्ता अनेक प्रश्नहरू मनमा उठे। यो मनले हो नै भनेर सजिलै मान्न सकेन। तर पनि मनलाई निष्ठुरी बनाएर आँखाभरि आँसु ल्याई मन भक्कानो पारेर   आफूले आफैँलाई सम्हाल्दै र सम्झाउँदै हजुरबुवाको त्यो भौतिक शरीर अब हामीबीच रहेन भनेर स्वीकार्नुको विकल्प नै रहेन । उहाँलाई एउटा डरलाग्दो रोगले आक्रमण गरेर लामो समयदेखि दु:ख दिइरहेको थियो। धेरै वर्ष रोगसँग लड्नु पनि भयो । चिकित्सकहरूले अनेक प्रयत्न गर्दा पनि उहाँ बच्न सक्नु भएन। अन्ततः हामी सबैलाई छोडेर कहिल्यै नफर्किने गरी सदाका लागि यो धर्ती छोड्नु भयो । आज उहाँको भौतिक शरीर हामी माझ  छैन तर पनि उहाँका धार्मिक, सामाजिक, शैक्षिक, राजनीतिक प्रेरणादायी विचारहरू जीवितै छन् । उहाँका ती विचार र सत्कर्मले हामीलाई जिउनको लागि मार्ग निर्देशन गराउने नै छन् । उहाँले बोलाउँदा ए नाति ! र राजु ! भन्ने गरेका ती मधुर, मिठास, मायाका आशीर्वचन र वाणीहरू मन मस्तिष्कमा अझै गुन्जिरहेकै छन् र म सुनिरहेकै छु र सुनिरहेकै हुनेछु। अब बिपनामा वा यो भौतिक संसारमा त म मेरो आदरणीय मावली हजुरबुवाको त्यो मधुर वाणी र भौतिक शरीर सुन्न, देख्न र भेट्न नपाए पनि मेरो जीवन यात्राको गोरेटोमा एउटा मार्गदर्शक व्यक्तित्वको रूपमा भने पक्कै भेट्ने छु र उहाँको जीवन दर्शनलाई आत्मसात् गर्नेछु ।

हजुरबुबाले यो संसार छोडेर गए पनि उहाँको विचार, सत्कर्म र जीवन दर्शनको एउटा विशाल पाठशाला भने जीवित नै छ, जुन पाठशालाबाट धेरै शिष्यहरू दीक्षित भएका थिए र छौँ।  यतिबेला नेपाली समाजमा बढ्दै गएको पश्चिमी संस्कार र संस्कृतिको   अन्धानुकरणको प्रवृत्तिलाई रोक्नका लागि पनि हजुरबुबाका ती पूर्वीय जीवन दर्शनका आध्यात्मिक र धार्मिक क्रियाकलाप र प्रेरणादायी विचारहरू  अत्यन्तै व्यावहारिक र महत्त्वपूर्ण छन् । हजुरबुबा कर्मकाण्डी  विद्वान हुनुहुन्थ्यो । उहाँमा ज्योतिषीय ज्ञान पनि थियो। हजुरबुबामा कर्मकाण्डीय ज्ञान र आध्यात्मिक ज्ञान विशाल नै थियो । हजुरबुबाले आफ्नो परिवार, आफन्त र यो सिङ्गो समाजलाई विशेष किसिमका व्यावहारिक, जीवनोपयोगी, आध्यात्मिक, धार्मिक, नैतिक, सामाजिक, शैक्षिक आदि विचार र सन्देशहरू सम्प्रेषण गर्नुभएको छ। उहाँमा पूर्वीय दर्शन, आध्यात्मिक र धार्मिक ज्ञानको भण्डार र विश्वास थियो । उहाँमा हिन्द धर्म र ईश्वरप्रति अत्यन्तै आस्था र विश्वास थियो। यहाँ मैले यस सानो लेखमा उहाँको बहुआयामिक व्यक्तित्वलाई त पुरै समेट्न त सक्दिन तर पनि उहाँको बारेमा मेरो मनमा उठेका केही तथ्यगत र केही मनोगत कुरालाई उजागर गर्दै छु । मेरो बाल्यकालदेखि अहिलेसम्म आउँदा हजुरबुवाका सामाजिक, नैतिक, धार्मिक, आध्यात्मिक, शैक्षिक आदि जस्ता केही व्यक्तित्वलाई  संक्षेपमा भए पनि उतार्ने प्रयास गर्दैछु।

हजुरबुवा गोविन्दप्रसाद पोखरेलको बाल्यकाल उहाँको जन्म घर अरौँदीमा नै बितेको थियो । उहाँले आफ्नै हजुरबुवा र बुवाबाट प्रारम्भिक शिक्षा ग्रहण गर्नुभयो। त्यस बेला गुरुकुल शिक्षा प्रणाली हुँदा हजुरबुबाले कहिले आफ्नै घरमा गुरुलाई राखी र कहिले गुरुको घरमा बसी वेद, रुद्री, चण्डी आदि जस्ता शिक्षा ग्रहण गर्नुभएको थियो । उहाँको औपचारिक शिक्षा भने अर्घाखाँची जिल्लाको खिदिममा रहेको हरिहर संस्कृत पाठशालाबाट भएको थियो । गोविन्दप्रसाद पोखरेलले यहीँबाट नै पूर्व मध्यमा उत्तीर्ण गर्नुभएको थियो भने भारतको बनारसबाट मध्यमा उत्तीर्ण र शास्त्रीसम्मको अध्ययन गर्नु भएको थियो। उहाँले यो योग्यता हासिल गरी नेपाल फर्केर अर्घाखाँची जिल्लाको वाङ्लामा रहेको संस्कृत पाठशालामा केही वर्ष शिक्षक भई शिक्षण सेवामा लाग्नुभयो । जब नेपालमा नयाँ शिक्षा लागू भयो त्यसपछि उहाँ विद्यालय निरीक्षक भई ३१ वर्ष लगातार नेपाल सरकारको कर्मचारी भई सेवा गर्नु भयो। उहाँको ३१ वर्षे कार्यानुभव र जिल्ला भनेका अर्घाखाँची र गुल्मी रहे।

यति लामो समयसम्म अर्घाखाँची र गुल्मी जिल्लामा बस्दा उहाँले गाउँ गाउँमा विद्यालय स्थापना गर्न र सर्वसाधारणसम्म शिक्षाको पहुँच पुर्‍याउन, गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरीक्षकको तर्फबाट गरिनु पर्ने महत्त्वपूर्ण भूमिका र योगदान निर्वाह गर्नु भएको थियो। गुल्मी र अर्घाखाँचीमा सबैले उहाँलाई गोविन्द गुरु भनेर सम्मानजनक तरिकाले सम्बोधन गर्थे। सरकारी जागिरबाट अनिवार्य अवकाश भएपछि विसं २०५८ देखि २०६० सम्म उहाँ आफ्नै गाउँको श्री नयाँगाउँ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार्न महत्त्वपूर्ण योगदान दिनु भएको थियो।

मेरो जन्म घर गुल्मी भन्भने गैराखर्कदेखि गोविन्द  हजुरबुबाको जन्म घरको दूरी २-३ घण्टाको पैदल यात्रा हुन्थ्यो। म सानैछँदादेखि नै मेरो पूजनीय हजुरबुवा स्व लोकनाथ पन्थीसित अरौदी गएका थुप्रै घटनाहरू सम्झन्छु । मलाई लाग्छ,त्यस बेला मेरो हजुरबुबालाई त्यो नयाँगाउँको अरौदी गाउँले नै अत्यन्तै सम्मान र माया गर्थ्यो। मेरो हजुरबुबा अरौँदीकाे कुनै एउटा  उपल्लाघरको भिनाजु मात्र नभएर एक्लेसल्ला, टन्टे, धौलेघर, तालेघर आदिजस्ता घरहरूबाट पनि अत्यन्तै आदरणीय खहरेखोले भिनाजुको रूपमा सम्मान पाउनुहुन्थ्यो। प्रायः हजुरबुबा ससुराल जाँदा सबै घर पस्नु हुन्थ्यो । सन्चो बिसन्चो सोध्नुहुन्थ्यो, गोठमा गाईबस्तु के कति छन् भनेर सोध्नुहुन्थ्यो र घरपरिवारका सदस्य को कहाँ कहाँ के गर्दै छन् भनेर सबै जानकारी हासिल गर्नुहुन्थ्यो। सायद म अरौँदी नगएको अहिले करिब तीन दशक भए होला जस्तो लाग्छ । तर पनि तत्कालीन अरौँदीको सामाजिक र भौगोलिक अवस्थाका बारेमा अझै पनि धेरै कुराहरू मेरो मानस पटलमा ताजै र स्मरणीय छन् ।

बुबाको मामाघर हुनुको कारण अरौँदीप्रतिको सद्भाव र माया लाग्नु स्वाभाविकै हो। मेरो बुबा र गोविन्द हजुरबुबा मामाभान्ज भए पनि दौँतरी जस्ता हुनुहुन्थ्यो र हजुरबुबाले घर परिवारमा विशेष किसिमको निर्णय लिनुपर्दा गोविन्द हजुरबुबालाई सोध्नु हुन्थ्यो। गोविन्द हजुरबुबाले पनि मेरो हजुरबुबालाई भिनाजु मात्र नभएर आदरणीय अभिभावकको रूपमा व्यवहार गर्नुहुन्थ्यो । हामी अरौँदी जाने भनेपछि मरिहत्ते गर्थ्यौँ। सुन्तलाको सिजनमा सुन्तला खान र ल्याउन पाइने र अन्य तिथि पर्वमा हजुरबुबाले सधैँ बोलाउने हुनाले पनि प्रायः गइरहन्थ्यौँ। अरौँदीको मामाघर  र हाम्रो घर एउटै घर जस्तो थियो र आवतजावत पनि बाक्लो हुन्थ्यो।

म गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा  हाई स्कुल पढ्दा पनि हजुरबुवा गोविन्दप्रसाद पोखरेल तम्घासमै जिल्ला शिक्षा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । यसले गर्दा पनि म  उहाँसँग अझै नजिक हुने मौका मिलेको थियो। उहाँ त्यस बेला जिल्ला शिक्षा कार्यालय तम्घासमा प्राथमिक विद्यालय निरीक्षक हुनुहुन्थ्यो। हामी तम्घासको पुरानो बसपार्क नजिक सुर्केपाटा एउटै घरमा डेरा गरी बस्थ्यौँ। हजुर बुबा आध्यात्मिक र स्वयं पाक्के हुनुहुन्थ्यो। हजुरबुबा एक्लै बस्दा होस् वा परिवारमा जहिले र जस्तोसुकै परिस्थितिमा सकुन्जेल बिहान बेलुका नित्यकर्म र पूजापाठ विधि विधानले सम्पन्न  गरेर मात्र खाना खानुहुन्थ्यो। हजुरबुवा आफ्नो धर्ममा कट्टर र आस्थावान हुनुहुन्थ्यो। तम्घासमा बस्दा प्रायः बेलुका खाना खाएपछि एक दुई घण्टा घरायसी र राजनीतिक कुराकानी हुन्थे।

सरकारी जागिरे हुनुको नाताले उहाँ काङ्ग्रेसी भनेर नचिनिए तापनि नेपाली काङ्ग्रेसको विचारप्रति अत्यन्तै आस्थावान हुनुहुन्थ्यो। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको योगदान बारेमा गुणगान र प्रशंसा गर्नुहुन्थ्यो। त्यसबेला तुलसी काका, स्व नरहरि पोखरेल र गोविन्द हजुरबुबाका बीचमा हुने कुराकानीहरूमा समसामयिक, पारिवारिक, धार्मिक  नातागत, इष्टमित्र आदिका बारेमा जानकारीमूलक र व्यवहारोपयोगी मिठामिठा र रसिला कुराहरू हुन्थे, हामीहरू चाख लगाएर सुन्ने गर्थ्यौँ। उहाँहरूका कुराहरूबाट व्यावहारिक, नैतिक, आध्यात्मिक, राजनैतिक आदि ज्ञान प्राप्तहुन्थ्यो । हजुरबुबाले असल चरित्रको हुने र ज्ञानी बन्ने कुरामा बारम्बार प्रेरणा दिनुहुन्थ्यो।

म स्नातक पढ्न काठमाडौं आएपछि हजुरबुबाका छोराहरूले काठमाडौंमा घर बनाउनु भयो। उहाँ जागिरबाट अवकाश भएपछि उहाँको बसाइँ पनि काठमाडौंमा अलि बाक्लो  हुन थाल्यो। काठमाडौंमा बस्दा पनि हजुरबुबाले रक्षा बन्धन र श्राद्धमा नाति ! भन्दै सधैँ बोलाउनु हुन्थ्यो। म खुशी हुँदै जान्थे। म जागिरको सिलसिलामा बुटबलतिर बस्न थालेपछि हजुरबुबासँगको भेटघाट अलि पातलो हुँदै गएको थियो तर पनि वर्षको एक दुई पटक बुटबल जानुहुन्थ्यो र भेटघाट  हुन्थ्यो। रुपन्देहीको शंकरनगरमा मेरो हजुरबुबा आमा बस्ने हुनाले पनि गोविन्द हजुरबुबा समय समयमा दिदी भिनाजुलाई भेट्न आउनु हुन्थ्यो । खासगरी त्यहीबेला भेटघाट हुन्थ्यो । 

गोविन्द हजुरबुबा पछिल्लो केही वर्ष बिरामी हुनुभयो। उहाँलाई प्रत्यक्ष भेट्न नपाए पनि सोधपुछ भइरहन्थ्यो। उहाँको कान्छो सुपुत्र सोमराज मार्फत हजुरबुबाको स्वास्थ्यको अवस्था बुझिरहेको थिएँ । सोमराज कार्यकारी सम्पादक रहेको यही हाम्रा कुरा डट कमबाट नै आदरणीय हजुरबुबाको स्वर्गारोहण भएको खबर थाहा पाएँ। अब यस संसारमा उहाँको भौतिक शरीर नरहे तापनि उहाँको जीवन दर्शन र प्रेरणाका वाणीहरू सधैभरि बाँचिरहेकै हुनेछन् र बचाउनु पर्ने हाम्रो कर्तव्य पनि हुनेछ। ए राजु ! र नाति ! भन्दा सुनिएका ती माया, मिठास, स्नेह, आशीर्वाद र प्रेरणाहरू कहिल्यै भुल्ने छैन।             अन्त्यमा, यस संसारबाट कहिल्यै नफर्किने गरी स्वर्गलोक जानुभएका बहुआयामिक व्यक्तित्व मेरो आदरणीय मावली हजुरबुबालाई शिर निहुराई श्रद्धाञ्जली ! अनि फेरि पनि हार्दिक श्रद्धाञ्जली !!



नयाँ