arrow

जलसमाधि

logo
शीतल गिरी,
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
jalsamadhi-shital-giri.jpg

योगमायाको जन्म विक्रम संवत् १९२४ मा भोजपुर इलाकाको सिम्ले गोगनेको सानामझुवामा न्यौपाने ब्राह्मण परिवारमा भएको थियो । बुबा श्रीलाल र आमा चन्द्रकला न्यौपानेकी एक मात्र छोरीको रुपमा यिनको जन्म भएको थियो । यिनी सानै उमेरदेखि तीक्ष्ण बुद्धि र चञ्चल स्वभावकी थिइन् । 

योगमाया त्यस बेला जन्मिन् जुन बेला नारीले रजस्वला हुनुअघि नै वैवाहिक जीवनमा बाँधिनुपथ्र्यो । त्यसैअनुरुप यिनको विवाह पाँच वर्षको उमेरमा गोगनेकै ठूलोमझुवाका कोइराला ब्राह्मण परिवारमा भयो । विवाह भएको दुई वर्षपछि यिनलाई वैधव्यको कलङ्क लाग्यो । यिनलाई विधवा भएको कुरा थाहा थिएन । कलिलो उमेरमा नै अलच्छिनी र पोइटोकुवाको लाञ्छनाले यिनी रन्थनिन थालिन् । 

दिन बित्न केहीबेर लागेन । यिनी पूर्ण यौवनावस्थामा पुगिन् । मानवमा हुने सहज गुण यिनमा पनि थियो । समाजबाट प्राप्त लाञ्छनाका कटु शब्दहरूले रन्थनिएकी पनि थिइन् । चञ्चल स्वभावकी यिनले तारुण्यको जोशमा होश समाल्न सकिनन् । 

गाउँमा बस्न नसक्ने अवस्था सिर्जिएपछि एकजना कँडेल थरको युवकसित भागेर भारतको आसाम पुगिन् । वि.सं. १९५६ मा कँडेलको मृत्यु भएपछि त्यहींका डोटेल थरका जैसीसित बसिन् । फलस्वरुप वि.सं. १९६६ मा एउटी छोरी पनि जन्माइन् । यिनको एकाकी जीवन अब थिएन । अस्तिकी विधवा आज पत्नी र माताको रुपमा थिइन् । यिनको गृहस्थी राम्रै चलेको थियो । यसै समयमा यिनी बसेकै गाउँमा पुराण लगाइएको थियो । 

पुराण सुन्न निकै मानिस जम्मा हुन्थे । योगमायाको जोडी पनि त्यहाँ पुराण सुन्न गयो । पुराणको प्रसङ्ग थियो— परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्दछ । 

यस कुराले दुवैको मनमा चोट लाग्नु स्वाभाविकै थियो । तर यसको कुनै समाधान देखेनन् । यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो— यदि अज्ञानतावश कसैले त्यस्तो अपराध गरेको छ र ज्ञान प्राप्त भएपछि त्याग्यो भने त्यसको प्रायश्चित हुन्छ । 

पुराण समाप्त भएपछि दुबै घर फर्के । दुवैको मनमा आफ्ना कर्र्तव्यप्रति पश्चाताप थियो । अतः उनीहरूले छुट्टिएर बस्ने विचार गरे । 

उनीहरू छुट्टिए पनि बालिका साझा थिइन् । यस समस्याले उनीहरू निकै अल्मलिए । अन्ततोगत्वा छोरी नैनकला जोसित बस्न मन्जुर गर्दछिन् उसैले लैजाने सल्लाह भयो । छोरीले आमाको काख रोज्नु स्वभाविक थियो । अतः छोरी आमाको साथ लागिन् । 

 योगमाया विक्षिप्तझैं अन्यमनस्क भएर बाटामा हिंडिरहेकी थिइन् । यसै समयमा एउटा तीर्थयात्रीको हुल स्वर्गद्धारी जान त्यहाँबाट आयो र उनी पनि तीर्थयात्रीको पछि लागेर स्वर्गद्वारी पुगिन् । यस समय स्वर्गद्वारीका महाप्रभु अभयानन्द द्वितीयको निकै ख्याति थियो ।
 
जोसमनी मतमा दीक्षित अभयानन्द द्वितीय पछि गएर ‘स्वर्गद्धारी महाप्रभु’ वा ‘बालातपस्वी’का नामले प्रसिद्ध भए । यिनको जन्म वि.सं. १९१५ सालमा पश्चिम नेपालको प्युठान जिल्लाको रुमनीमा कमर क्षत्रीको कोखमा भएको थियो । बाल्यकालदेखिका कुष्ठरोगी अभयानन्दले हंसानन्दबाट जोसमनी मतको दीक्षा पाए । 

संयोगको कुरा हो जोसमनी मतमा दीक्षित भई सखीको लेकमा तपस्या गर्दा कुष्ठारोग जाती भयो । यिनले आफ्नो जीवन स्वर्गद्वारीको लेकमा गौ पालन र यज्ञ गराउने काममा व्यतीत गरे ।  यिनी जोसमनी सन्त सम्प्रदायमा दीक्षित भए तापनि बाहिरी आचरणमा गेरुवा वस्त्र धारण गर्दथे । 

त्यसको कारणमा भनिन्छ, यिनका गुरु हंसानन्दले अन्तिम समयमा आत्मसंन्यास लिएको घोषित गरे । अभयानन्द द्वितीय (महाप्रभु) का साथ सत्सङ्गका लागि निकै समय योगमाया बसिन् । 

योगमायाको आचरणले महाप्रभु प्रसन्न भएकाले उनैबाट जोसमनी मतमा दीक्षित भइन् । दीक्षा लिएको केही वर्षपछि उनी आफ्नो माइतीघरतिर लागिन् । अभयानन्दले जोसमनी मतमा यज्ञ गराउने एउटा अनौठो र नयाँ परम्परा चलाएका थिए । अतः योगमाया पनि यसै काममा लागिन् । 

सानै उमेरदेखि विलक्षण प्रतिभा, जुझारु र विद्रोही स्वभाव भएकी अन्याय–अत्याचारको विरोध गर्न नडराउने योगमायाले सामाजिक, धार्मिक, राजनीतिक सुधार र सत्य धर्म शिक्षाको पालनाका लागि चलाएको अभियानबाट तत्कालीन समयमा त्यो भेग (भोजपुर, सङ्खुवासभा, धनकुटा, मोरङलगायत) पूरै प्रभावित भएको थियो । 

त्यहाँ उनका अनुयायी प्रशस्त भए । उनको प्रभाव राजधानीसम्म पुगेको थियो । राजधानीका पं.प्रेमनारायण, कविप्रसाद गौतम, लोचननिधि तिवारीलगायतका व्यक्तिहरू उनको दर्शन र सत्सङ्ग गर्न दिङ्गला पुगे । 

उनी पनि एक–दुईपल्ट राजधानी आइन् । बूढी औंलाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया सन्तपरम्पराका भजन रचना गर्दथिन्, रचनाहरू मुखाग्र भन्न सक्थिन् । तत्कालीन जहाँनिया राणाहरूको विरुद्ध समाजमा व्याप्त छुवाछुत, जातिपातिजस्ता कुरीति र कुसंस्कारलगायत भ्रष्टाचार र घुसखोरीजस्ता अनैतिक कार्यहरूको खिलाफमा र धर्मराज्यको पक्षमा कुशल नेतृत्व प्रदान गरिन् । 

आमा योगमाया कविता रच्थिन्, छोरी नैनकला कण्ठाग्र पार्थिन्, निरक्षर नैनकलाका सौजन्यमा हरेराम प्रभुका नाउँले परिचित स्वामी पं.प्रेमनारायणले परिष्कृत गरेर अनुपम कृति ‘श्री सर्वार्थ योगवाणी’ बाहिर ल्याए । 

यही योगवाणीको माध्यमद्वारा कुरीतिहरूका विरोधमा जनचेतना र सामाजिक जागरणको भावना पैदा गर्न यिनी सक्षम भएकी थिइन् ।     
               अहिले गर्छौ भलाद्मी हो आफ्ना खुसैले,     
               भित्री जरा हालिसक्यो लोभी घुसैले ।     
               अन्त्यकालमा त्यो घुसले फटाउला घाँजा,      
               बढो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा ।     
               सारथी उत्रनेछन् सत्य जाग्नेछ,         
               राजा, मन्त्री भारदारलाई ठक्कर लाग्नेछ ।।

      समाजमा व्याप्त बेथितिहरूलाई उछितो काढ्दै सन्तपरम्पराका भजनको माध्यममा आफ्नो आवाज बुलन्द पारिन् ।

               थितिदेखि बेथिति त भएकै छ अहिले  
               त्यही थिति बिग्रिनाले बिन्ती गरें मैले  
               असामीले पहिले कर्जा तिरि सकेछ  
               साहु भन्ने लोभीले त बाँकी भनेछ । 

               दौल थियो हुनुभयो त्यही निर्धाबाटै  
               आसामीले कर्जा ति-यो तमसुक छ ठाडै ।  
               छोरा थियो बालक बाबु मरेछ  
               लोभी साहु माग्न गयो तिर्नु परेछ ।

    
      विद्रोहको भाषा बोल्ने योगमायाले तत्कालीन राणशासक श्री ३ जुद्धशमशेरलाई समेत चुनौती दिँदै ‘अधर्मी राणाहरूको नाश होस् धर्मराज्यको स्थापना होस्’ भन्ने आह्वानसमेत गरेकी थिइन् । राणा शासकहरू सामु समाज सुधारका विभिन्न मागसमेत राखी श्री ३ जुद्धलाई भेट गरी जाहेर गर्दासमेत कुनै सुनुवाई भएन ।

     बरु योगमायालाई वि.सं. १९९५ मा पक्राउ गरी जेल हाले । योगमायाले जेलमा नै विद्रोह दन्काएपछि पक्राउ परेको तीन महिनामा जेलमुक्त भइन् । जेलबाट छुटेपछि नै योगमायाले अभयानन्द द्वितीयको परम्परामा यज्ञ गराउन झन् तीव्र रुपले लागिन् । अभियानको रूपमा समाजमा रहेका सामन्त, जालिफटाहा र ब्राह्मणवादको नाममा गरिने भेदभाव र ठगीलाई सशक्त प्रहार गर्न थालिन् । उनको अभिव्यक्ति यस्तो थियो—     
             एउटा घर श्राद्ध खाई अर्का घरमा आँटे,         
             ग्रहहरू बिन्ति गर्छन् पुरोहितले ढाँटे ।           
             पुरोहितको बुद्धि हेर निक्री लिने जुक्ति, 
             एउटी गौ ले बाह्र जग्गा कहिले हुन्थ्यो मुक्ति ।।         

             कुल त हाम्रो ब्राह्मण हो छैन कुलैमा,      
             जात त सत्य छैन हाम्रो राख चुलैमा ।         
             ब्राह्मण भई सर्व चीजको बिक्री गरेको,     
             मालिक भई दुःखीहरूको वृत्ति हरेको ।। 

सामाजिक र धार्मिक रुपमा रुढिग्रस्त मान्यता र परम्पराले जकडिएको समाजमा परिवर्तन र जागरणका लागि १९९७ सालमा ठूलो यज्ञको आयोजना गरिएको थियो । श्रद्धालु जनताको खुब भीड लाग्यो । तर यो यज्ञ सदाको भन्दा भिन्न थियो । ‘राणाशासनको नाश, धर्मराज्यको स्थापना’ निम्ति नैतिक दवाव दिन मोक्षप्राप्ति गर्ने लक्ष्य यो यज्ञको थियो । 

यिनले त्यहाँ उपस्थित सबै चेलाहरूलाई भनिन्, ‘अब भक्तजनले बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधि लिनुपर्दछ ।’ 

यसका निमित्त हजारौं भारी समिधा (दाउरा) एकत्रित भयो । त्यस समय यिनको यज्ञ ठूलो चर्चाको विषय बन्यो । शक्तिमाईको यज्ञको कुरा भोजपुर इलाकाका अधिकारीले पनि थाहा पाए र उनले धनकुटा गौंडामा मद्धत मागे । त्यस समय धनकुटामा माधवशमशेर जबरा बडाहाकिम थिए । उनले ब्यारेकबाट केही सैनिक खटाए । 

सेनाले यज्ञकुण्डमा घेरा दियो । यज्ञकुण्डमा कसैले प्रवेश गर्न पाएन । 
      
यसरी सरकारले आफ्नो योजनामा हस्तक्षेप गरेको देख्दा शक्तिमाईलाई दुःख लाग्यो । यिनी त्यो ठाउँ छोडेर अरुणकिनारतिर लागिन् । यिनका साथमा हजारौं जनता पनि पछि लागे । 

 शक्तिमाईले यसरी यज्ञकुण्डको परित्याग गरेको हुँदा रक्षा गर्न गएका सबैलाई खुशी लाग्नु स्वभाविकै थियो । यता राजकर्मचारीहरू यज्ञकुण्डको सुरक्षामा व्यस्त थिए उता शक्तिमाई हजारौं जनताका साथ अरुण कोशीको किनारमा पुगिन् । 

 त्यहाँ उपस्थित सबै श्रद्धालु जनताको सामुन्ने भनिन्, “हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्यो । तर आजको दिन अग्निको अभावमा जलसमाधि लिनु पनि उत्तिकै लाभदायक हुनेछ । अतः इच्छा हुनेले मेरो अनुकरण गर्नू ।” त्यो दिन असार महिनाको हरिशयनी एकादशी तिथि परेको थियो र बिहानको झुल्केघामको किरणले हिमाल चुम्दै थियो । त्यहाँ उपस्थित प्रायः सबैले यस निर्णयलाई स्वीकार गरे । 

शक्तिमाई सङ्कल्प पढेर अरुणको गडगडाउँदो असारे भेल भएको अथाह जलराशिमा प्रवेश गरेर यस लोकबाट सदाको निमित्त बिदा भइन् । यो प्रसङ्ग यति विचित्रको छ, शक्तिमाई यानी धर्मगुरुको विश्वासमा भक्तजनले निर्णय गर्ने क्षमता गुमाएर कसरी विवश बन्न पुगे । लाग्दछ मानिसलाई धर्म, राजनीति र यौनले एकोहोरो बनाउँदछ र सहारा खोज्न थाल्दछ । 

धर्ममा एकोहोरिएन भने गुरु र भक्तजनको बीचमा थुप्रै दुःसम्भावनाहरूले असम्भव बनाइदिन्छ । यिनका अनुयायीहरू श्रद्धापूर्वक सङ्कल्प पढ्दै शक्तिमाईको अनुकरणमा पङ्क्तिवद्ध भई पछि–पछि अरुणमा होमिन थाले । 

जलसमाधिको कुरा तत्काल गाउँमा पुग्यो । यज्ञकुण्डको सुरक्षाका लागि खटिएका सैनिक दलले पनि थाहा पायो । उनीहरू तुरुन्त घटनास्थाल पुगे । त्यहाँका जनताका भीडलाई तितरवितर पारे । यस समयसम्म जलसमाधि लिने व्यक्तिको सङ्ख्या ६८ पुगिसकेको थियो । 
     
नाटकीय ढङ्गका यस्ता घटनाले धर्मको नाममा उन्माद जन्माउँछ र राम्रो निकास नपाउँदा विनाश गर्दछ भन्ने बुझिन्छ । विद्रोह र साहसको नयाँ आयाम कायम गर्दै शक्तिमाईले चमत्कारी नेतृत्व प्रदान गरिन् । 

विद्रोह र बलिदानका अनौठा र आश्चर्यजनक यस्ता स्वरूपहरू सम्भवतः विश्वकै इतिहासमा पनि कमैमात्रामा भएका होलान् । एक व्यक्तिको नेतृत्वमा यति धेरै संख्यामा नदीमा हाम फालेर जलसमाधि लिनु आफैंमा विष्मयकारी घटनाको रूपमा उल्लेख गर्न सकिन्छ । यति ठूलो अभियान र घटनाक्रमको इतिहास नेपाली समाजमा अझै राम्ररी उजागर हुन सकेको छैन । 
        
नेपालको इतिहासका विभिन्न घटनाक्रम, आन्दोलन, अभियान, विद्रोह र कालचक्रमा आफ्नो जीवन उत्सर्ग गरेर संघर्षशील विरासत कायम गर्ने अविश्रान्त व्यक्तित्वहरूका नाम सुनौलो अक्षरले लेखिएको छ । 

तिनै सुनौलो अक्षरकी एक सशक्त हकदार हुन्— शक्तिमाई । शक्तिमाई इतिहास, वर्तमान र भविष्यका लागि पनि एक अनुकरणीय सामाजिक, धार्मिक सुधार अभियानकी पात्रका रूपमा आफ्नो संघर्षशील इतिहास र आफूद्वारा अभिव्यक्त गीति कवितात्मक भजन “योगवाणी” मार्फत सुपरिचित रहिरहने छिन् ।
 



नयाँ