- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालमा किन राजनीतिक स्थिरता हुन सकेन भनेर सोधिने प्रश्न सिधा राजनीतिक वृत्ततिर सोझिन्छ । यसको उत्तर राजनेता, राजनीतिज्ञ र राजनीतिकर्मीको सैद्धान्तिक बुझाइ र व्यवहारका बीचको अन्तर केलाउने हो भने स्पष्ट भैहाल्छ । नेताको ब्यवहारले राष्ट्रले गति लिने हो । हामीले यस्तो परिपाटी बनाएका छौँ कि सबै पक्ष राजनीतिसँग जोडिएको छ । अधिकारको लगाम आफूतिर खिच्नेले राष्ट्र बनाउने मूल दायित्व र जिम्मेवारी पनि लिनै पर्छ ।
यसर्थ नेता राष्ट्रको त्यस्तो कुशल नेतृत्वकर्ता हुनुपर्यो जसले नेतृत्व कौशल र निर्णय क्षमता प्रदर्शन गर्दै विभिन्न राजनैतिक दलका विचार र सिद्धान्तभन्दा माथि उठेर काम गर्न सकोस् । उसले सबैका विचारहरूलाई समेट्न सक्ने र व्यक्तिगत आकांक्षा र स्वार्थ भन्दा माथि उठेर काम गर्ने हैसियत राखोस् ।
राजनेताले आम जनमानसमा आशा र भरोसाको रक्तसञ्चार गराउँछ । जसले साझा व्यक्तित्वको परिचय बनाउन सक्छ । व्यवस्थापकीय गुण तथा परिणाममुखी तर्कमा विश्वास गर्दछ । सफल परिणाम मापन गर्छ । परिपक्व कुरा र पक्का काम गर्छ । तर राजनेताको जीवनदर्शन प्रश्नवाचक चिन्हको घेरामै सीमित रहनु आजको दुःखद पक्ष हो । समस्या, कारण र समाधानका उपायको प्राथमिकीकरण नै राजनेताको जीवन दर्शन हुन्छ । राजनेताले आफ्नो जीवन दर्शनको कुरा कर्म र व्यवहारबाट प्रदर्शन गर्दछ । राजनीतिज्ञ तथा राजनीतिकर्मीले आउँदो चुनाबबारे चिन्तन गर्छन् तर राजनेताले आउँदो पुस्ताका बारे चिन्तन गर्छन् ।
राजनेताको पगरीले प्रत्यक्ष रुपमा आधुनिक राज्यसँग सम्बन्ध राख्दछ । अतः देश र जनताका निम्ति वास्तु शिल्प चित्रण भैसकेपछि निःसन्देह व्यक्ति राजनेता हुन्छ । समयको मागले जन्माउने त्यो मर्यादित व्यक्ति जसले आफूले बोक्ने भारी राम्ररी बुझेको हुन्छ । अनवरत रुपमा राजनीतिको आदर्श र अभ्यासलाई जागृत गर्दछ । देशका निराशाहरूलाई आशामा बदल्छ । राष्ट्रलाई लोकतन्त्र‚ कानूनी राज्य‚ मानवअधिकार र जनजीविकाको बलियो जगमा उभ्याउँछ ।
कुनै वाद वा विचारको संकीर्णताभन्दा माथि उठेर समाज र राष्ट्रको उज्ज्वल भविष्यको तस्बिर कोर्ने व्यक्ति नै राजनेता हो । विश्व इतिहास हेर्दा प्रायः आर्थिक‚ सामाजिक तथा राजनैतिक अस्तित्व सङ्कट विरुद्धको आन्दोलनको बेला आफ्नो देशको नेतृत्व गर्ने महान् राजनैतिक व्यक्तित्वहरूलाई नागरिकले राजनेताको उपमा दिएको पाइन्छ । अमेरिकाका बेन्जामिन फ्रेङ्कलिन‚ मार्टिन लुथर किंग, दक्षिण अफ्रिकाका नेलसन मण्डेला‚ भारतका महात्मा गान्धी‚ सिङ्गापुरका लि क्वान यू, बेलायतका मार्गरेट थ्याचर‚ बर्माकी आङ साङ सुकी जस्ता ब्यक्तित्वलाई राजनेताका रुपमा लिने गरिन्छ ।
यिनले संकट र अवरोधको समयमा सफलतापूर्वक राष्ट्रको नेतृत्व गर्दै जिम्मेवारी पूरा गर्न सफल प्राप्त गरे । सैद्धान्तिक, वैचारिक र संस्थागत रुपमा विश्वास गुमाइसकेका सत्ताधारीहरुलाई निमिट्यान्न पार्दै अशल शासनलाई संस्थागत गर्ने जिम्मेवारीबाट किन्चित पनि पछि हटेनन् । राजनीतिक विज्ञानमा राजनेता हुन कुनै कसुर बाँकी राखेनन् ।
नेपालको परिप्रेक्ष्यमा हेर्दै गर्दा एकातिर राष्ट्र निर्माता पृथ्वीनारायण शाह राजनेताको स्थानमा देखिन्छन् भने अर्कोतिर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला । एक जना बाईसे–चौबीसे राज्यहरुलाई एकत्रित पार्दै सिङ्गो नेपालको चित्र कोर्ने परिकल्पनाकार, दिब्य उपदेशहरुले नेपालीहरुलाई चीरकालसम्म मार्गदर्शन गर्ने स्वप्नद्रष्टा । अर्का राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको वैचारिक नेतृत्वको जग बसाल्ने, लामो प्रवास जीवन त्यागेर सातवटा मृत्युदण्ड हुन सक्ने राजनीतिक मुद्दाहरू अदालतमा विचाराधीन रहँदा रहँदै पनि देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको संरक्षणका निम्ति भारत निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किने अनि सिक्किम विलयकालमा सुजबुझ देखाउने कर्मयोद्धा ।
राजनेताको माग देश, काल, परिस्थिति अनुरुप हुने गर्दछ । संरचनात्मक सुधार एवं आत्मनिर्भरताको बाटोतिर देश उकालो लागिसकेपछि जनताले राजनेताको अभाव महसुस गर्न छाड्छन् । त्यसबेला राजनेता सम्बन्धी बहस नयाँ पुस्ताका लागिमात्र बाँकी रहनेछ । आवश्यकताको सिद्धान्तमा यो जरुरी हो । तर हाम्रो परिप्रेक्षमा राजनीतिलाई विकास र समृद्धिको तहमा नैतिक तबरले उचाल्न र उत्कृष्ट नेतृत्व गर्न योग्य राजनेताको बहस शुरु हुनु स्वाभाविक हो ।
वीपी जस्ता राजनेताले देखाएको बाटोमा हाम्रा राजनीतिज्ञहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरु हिँड्न सक्नुभयो त ? राजनैतिक सद्गुण, सैद्धान्तिक निष्ठा, समर्पण‚ सांगठनिक क्षमता र इमान्दारिता हुँदा हुँदै पनि राजनेता बन्ने अवसर गुमाउनुपर्यो । समय, परिस्थिति र जनताको परीक्षामा कतै अनुकूल हुन नसक्दा राजनेता हुनबाट वञ्चित हुँदै राजनीतिज्ञमै सीमित हुनुपर्यो कि परेन ?
यद्यपि २०४६ सालको आन्दोलनलाई निष्कर्षमा पुर्याउन गणेशमान सिंहको, पछि अन्तरिम सरकारको नेतृत्व गरी समयमै नेपाल अधिराज्यको संविधान २०४७ जारी गर्दै आम निर्वाचन गराउन सफल कृष्णप्रसाद भट्टराई र दश वर्षे माओवादी सशस्त्र विद्रोहबाट देशलाई मुक्ति दिलाई २०६२–६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलनको सफल नेतृत्व गर्दै देशलाई गणतान्त्रिक युगमा प्रवेश गराउन गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी, शीर्ष र निर्णायक भूमिका थियो ।
गणेशमान प्रधानमन्त्री नै त्यागेर मोहको दौडबाट भागे । तर बाँकी नेताहरु व्यक्तिगत लाभ वा आफ्नो पार्टीको स्वार्थका लागि अधिक मात्रामा केन्द्रित हुन गइ नातावाद, कृपावाद तथा पार्टीको सीमित राजनीतिक घेराभन्दा माथि उठ्न नसक्नाले जे जस्तो हत्कन्डा गरेर भए पनि जनमत निर्माण गर्न खोज्ने, प्रायः आफ्नो र पार्टीको स्वार्थको लागि चुनावी प्रचारमा लागि पर्ने सत्तामा मात्र चासो राख्ने जस्ता कारण र प्रवृत्तिले गर्दा ठूलो त्याग तपस्या र बलिदान गरेका राजनीतिज्ञहरूसमेत गुट र उपगुटको अंश खाएका सीमित घेराका पात्र र सोचाइकोबीचमा मात्र आदरणीय हुँदै गर्दा नेपालमा राजनीतिक अस्थिरताको जग बस्न गएको हो ।
यसरी राजनीतिज्ञहरूले नक्कली बर्दी लगाएर आफ्नो विज्ञापन गर्न थालेकै कारण उनीहरूको सम्भावित राजनेताको पगरी खोसियो । फेरि मानिसलाई औजार र शत्रुको रुपमा सोच्ने बानी परेका हाम्रा राजनीतिज्ञहरूले कम्तीमा आफूले झैँ काम गर्न सक्ने सम्भाव्य नेतृत्वहरुसम्म पनि उत्पादन गर्ने वातावरण निर्माण गरिदिएनन् । खडा गरिदिए केवल कारोबारी राजनीतिकर्मीहरू, जो आपसी हिसाव किताब र गोलमालमा मात्र विश्वास गर्छन् । मै खाऊँ, मै लाऊँ, सुख सयल वा मोज मै गरुँ, मै नाचु मै बाचुँ, अरु सब मरुन् दुर्बलहरु........।
जनतामा दृष्टि भ्रम छरिरहने यिनीहरुलाई तपाईं जति धेरै हेर्नुहुन्छ त्यति नै कम देख्नुहुन्छ । शक्ति, धन वा कानूनी नियम वा नैतिकताको छडीबाट औपचारिक रुपमा बच्न खोज्दै राष्ट्रको लागि शक्तिको खोजीको सट्टा, आफ्नो पार्टी‚ सरकार वा अन्य सत्ता प्राप्तिमा मात्र प्रयासरत कारोबारीहरुबाट देशले के आशा गर्ने ? अपराधलाई राजनीतिकरणमा जोड्ने, राजनीतिलाई अपराधीकरणमा मिसाउने र राजनीतिलाई पेशा बनाउने राजनीतिकर्मीहरूबाट अब पनि केही लछारपाटो लाग्ला र ? यिनीहरुको सोच, कथनी र करनीबाट देशले कुनै निकास पाउने स्थिति देखिँदैन ।
राजनेताको आचरण र सन्देश अनि राजनीतिको निष्ठा र आदर्शलाई खराब राजनीतिकर्मीहरूको भीडले दुर्गन्धित बनाइरहेको छ । वर्तमान सत्तासिन र विपक्षी राजनीतिकर्मीहरूका विगत पाँच वर्षका गतिविधिहरुलाई नै नियालेर हेराँै त ! शेरबहादुर, प्रचण्ड, माधव, झलनाथ, केपी लगायतका नेताहरू नेपाल र नेपालीकै हितका निम्ति हितकर काम गर्दै छन् त ? दुख, कष्ट, संघर्ष र बलिदानको इतिहासले मात्र यिनीहरुलाई राजनेता बनाउन सक्दैन । यी राजनीतिज्ञ वा राजनीतिकर्मीहरूभन्दा माथि उठ्न सकेका छैनन् ।
विगत पाँच वर्षभित्र नेकपाको दुई तिहाइको सरकार र हालको गठबन्धनको सरकारका प्रतिवद्धताहरु अलपत्र छन् । भ्रष्टाचारप्रति शून्य सहनशीलताः व्यवहारमा देखिन्न । प्रदेशका गतिविधिहरूले संघीय प्रणालीप्रति जनताको वितृष्णा बढ्दो छ । दुई दुई पटक संसद् विघटनले संविधानको मर्ममाथि गरेको प्रहारले संविधानवादलाई नै अलोकप्रिय बनाइयो । संवैधानिक निकाय राजनीतिक भर्ती केन्द्र बनाइयो । राज्यका हरेक संयन्त्रमा दलीयकरण घुस्यो । खुलेआम भ्रष्टाचार, अकल्पनीय मुल्यवृद्धि, चरम बेरोजगारी बढ्यो ।
हुँदाहुँदा संसदीय छानबिन भन्दै धेरैलाई चोख्याइयो । सत्ता स्वार्थ भन्दा बढी अबको चुनावको लक्ष्य के होला र ? जनतालाई भेँडा बनाउने र आलोपालो ठगी खाने प्रवृत्तिकै निरन्तरता होइन त यो ? जनतालाई दंग्यायर खान पल्केकाहरू कहिल्यै राजनेता बन्न सक्दैनन् ।
विचौलिया, कमिशनबाज, गणेशवृत्ति अनि आदर्श मूल्य, मान्यता र पद्धतिका विरोधी भुइँफुट्टा राजनीतिकर्मीहरूको जमात बढ्दो छ । तिनकै घेरामा आजका राजनीतिज्ञहरु थुनिएका छन् । तिनलाई ठेगान नलगाउने हो भने इमान्दार जनसेवक राजनीतिकर्मीहरूको खडेरी पर्न गइ भोट, नोट र कोटको राजनीति गर्नेमात्र बाँकी रहने छन् ।
भागबन्डा, बिरासत, अश्लीलता अनि आशीर्वादको राजनीति गर्ने राजनीतिकर्मीमात्र यहाँ टिकिरहने छन् । तसर्थ हामीले आगामी मंसिर ४ को संघ र प्रदेशको निर्वाचनमात्र होइन सधैँ असत्य र अर्धसत्य राजनीति गर्ने राजनीतिकर्मी तथा राजनीतिज्ञहरूलाई चिन्नुपर्छ र राजनेताको खोजी गर्नुपर्छ ।
जनता र राज्यबीचको दूरी बढाउनेहरू, सत्यलाई सधै थाँती राखी विवेकलाई बन्धक बनाउनेहरु अनि जनतालाई जनार्दन होइन अनुचर ठान्नेहरू पटक–पटक हाम्रो घरआँगनमा ङिच्च दाँत देखाएर आशीर्वाद माग्न आउँदै छन् । अब यस्तो हुँदैन भनी बाचा गर्दै लाज पचाउनेलाई हामीले मुखभरिको जवाफ दिएर पठाउन सक्नुपर्यो । विगतमा नागरिकलाई ठगी हिँड्ने राजनीतिकर्मीहरूलाई बर्खास्त गर्दै सभ्य, सुसंस्कृत, उदार र विवेकशील समाज निर्माण गर्ने राजनेताहरुलाई स्थापित गर्न सकेमात्र देशको काँचुली फेरिने छ ।
अन्त्यमा, न्याय गर्ने क्षमता भएको अध्ययनशील‚ भविष्यवेत्ता त्यागी, समर्पित र प्रतिवद्ध राजनेताको माग आजका युवाको आस्थाको केन्द्र हो । वर्तमान राजनीतिज्ञ वा राजनीतिकर्मीहरूले यो जनचाहना बुझ्नै पर्छ । साथै दूरदृष्टि, स्पष्टता, उत्प्रेरक, अदम्य साहस र अद्वितीय आँट भएको, जीवनको राजनैतिक उतार–चढावका सही ठाउँमा सही निर्णय लिई देशलाई निकास दिनसक्ने राजनेता हाम्रो जीवनकालमा अहिले नदेखिए पनि त्यसतर्फको यात्रामा नलागी सुखै छैन ।
होइन भने राजनेता, राजनीतिज्ञ र राजनीतिकर्मीको यो बहस जनताले थालिसकेका छन् । आउँदो पुस्ताले आगामी युगको चिन्ता र चासो देखाउने नै छन् । त्यसैले सजिलै राजनीतिज्ञ बन्न वा हल्कै राजनीतिकर्मी हुन नखोज्नुहोस् । बरु चार पैसा पनि खर्च नगरी, कसैको चाकरी नगरी अनि कुनै तुच्छ बोली नगरी कामले जनविश्वास जित्ने राजनेता बन्नोस् । नजिकिदो चुनावमा हामी यस्तै राजनेतालाई पखिरहेका छौँ ।