arrow

संसद् विघटन गर्नेहरू चंगेज खान बन्लान् कि बुद्ध ? 

logo
लाओस राई 
प्रकाशित २०७८ जेठ २९ शनिबार
lawas.jpg

इतिहास भन्ने बित्तिकै विगतको महत्त्वपूर्ण घटना वा गतिविधिहरूको सङ्ग्रह हो भन्ने बुझ्नुपर्छ । जुन दूर भविष्यमा भूत (विगत) बुझ्ने दस्ताबेज पनि  हो । संक्षिप्तमा भन्दा वर्तमानमा गरिएको महत्त्वपूर्ण गतिविधि नै इतिहास हो । सामान्यतया इतिहासको जन्म सहज र सरल तरिकाले हुँदैन । भएको पनि छैन । त्यो कालखण्डको जन्म त अति कठिन अवस्थाहरूका बीच उत्पन्न हुने विरोध, विद्रोह, द्वन्द्व, युद्ध, परिवर्तन र रूपान्तरणद्वारा मात्र हुन्छ । र त्यसको लागि सङ्घर्ष र बलिदानको प्रमुख भूमिका रहन्छ । अनि मात्र कठिन पूर्ण घडीले इतिहासको रूप लिन्छ । इतिहासकै सन्दर्भमा रोजा लक्जेम्वर भन्छिन्-‘इतिहास त्यो धारा हो, जसमा आफ्नो जमानाको आर्थिक स्थितिबाट उत्पन्न भएका वर्ग शक्तिहरूले आफ्नो वर्ग स्वार्थहरूका लागि परस्पर सङ्घर्ष  गर्दछन् ।’

सिङ्गो मानव समाज स्थापनाको इतिहास, समाज भित्र स्थापित विविध असमानताको इतिहास र त्यही असमान व्यवहारले निम्त्याएको विद्रोह र द्वन्द्वले निर्माण गरेको विकराल, भयावह र भयकंर अवस्था सबै इतिहासको प्रमुख पक्षहरू हुन् । ती सबै ऐतिहासिक घटना र विविध पक्षहरूको पुनः अध्ययन र लेखन नै इतिहास खोतल्ने प्रयास हो । समग्र विश्व ब्रह्माण्ड माथि मानव जातिले गरेको खोज, अनुसन्धान, विकास निर्माण र उत्पादन  वितरणलगायत सम्पूर्ण गतिविधिहरू  इतिहासको विषय बस्तु भित्र पर्छ ।

यस आलेखमा मानव जातिको विभिन्न क्रियाकलापसँग सम्बन्धित ऐतिहासिक पक्षहरूलाई कोट्याउनु भन्दा पनि तिनै मानव जातिले गरेको राजनीतिको सेरोफेरोसँग सम्बन्धित केही घटनाहरू र त्यसको प्रभावको केन्द्रमा रहेर इतिहासलाई कोट्याउने प्रयास गरौँ । वंश र जातिको  विकाससँगै विकसित राजनीतिक पद्धतिले धेरै जाति वंशको नाश गर्‍यो । आदिम युगमा हिंसाको माध्यमबाट राजनीति हुन्थ्यो । एक जाति वा वंशले अर्को जाति वा वंशलाई सखाप पार्थ्यो । राज्य निर्माणको प्रक्रिया हिंसाबाटै सुरु हुन्थ्यो ।  त्यो राजनीतिको एउटा बर्बर युग थियो । त्यही क्रमले राज्य निर्माण हुँदै गयो । हिंसाको अन्त्य हुनुको सट्टा राज्य नै हिंस्रक हुने र राज्यले नै हिंसालाई जीवित राख्न चाहन्थ्यो भन्ने तत्कालीन समयका बर्बर घटनाहरूले देखाउँछ ।

एकातिर १३औं शताब्दीमा मङ्गोलियाका चंगेज खान क्रूर शासकको रूपमा उभ्यायो । हिंसक गतिविधि नै साम्राज्य बिस्तारको हतियार थियो उनको  । उनले करोडौँ मानिसको हत्या गरे । उनी इतिहासको सबैभन्दा क्रूर र हिंसक शासक बने । अर्कोतिर ईसा पूर्व छैठौं शताब्दीमा कपिलवस्तु राज्यका राजपुरुष गौतम बुद्धले हिंसा र नरसंहारको राजनीतिलाई घृणा गर्दै वैकल्पिक ज्ञानको खोजी गर्न राजगद्दी साथै परिवार नै त्यागे । सु-संस्कृत र शान्त मानव समाज निर्माणका लागि हिंसा राम्रो हुँदैन । बुद्धले हिंसा विरोधी मनोविज्ञान निर्माण गर्दै हिँडेको झन्डै १५ सय वर्ष पछिसम्म पनि मङ्गोलियामा त्यसको प्रभाव परेको देखिएन । सायद प्रचार प्रसारको माध्यमको अभावले हो कि या भाषिक कठिनाइले हो बुद्धको ज्ञानले चंगेज खानलाई रोकेन ।

राम्रो नराम्रो जे भए पनि यी दुई घटनाले विश्वलाई ठुलो पाठ चाहिँ अवश्य सिकाएको छ । त्यसैले यी पक्षहरूको बारेमा धेरै बहस गर्नु उचित हुँदैन । किनकि यस विषयमा जति  लामो बहस गरे पनि निष्कर्ष निकाल्न त्यति सजिलो छैन । यो सत्ता त्याग र मोहको प्रसङ्गलाई कोट्याउने प्रयास मात्र हो । फेरि यी घटनाहरू इतिहासमा उल्लेखित नै छन् । सबै कुरा वा यसको सकारात्मक र नकारात्मक पक्ष इतिहासले बताइसकेको छ । त्यो इतिहासले सिर्जना गरेको परिस्थिति जगजाहेर नै छ ।

धेरै परको इतिहासलाई नहेरी डार्विनको बाँच्नको (अस्तित्व) लागि सङ्घर्ष भन्ने विचारबाट विश्व राजनीतिको ऐतिहासिक घटना र त्यसले निर्माण गरेको मनोवैज्ञानिक असरलाई हेरौँ । उनको विचारमा पृथ्वीका हरेक प्राणीहरुबीच सङ्घर्ष निरन्तर  भइरहेको हुन्छ । जसको उद्देश्य केवल बाँच्ने हुन्छ । यानकी पराजितको पतन र विजयीको राज हुन्छ । विचार निर्माणको हिसाबले डार्विनको भनाइमा सङ्घर्षका विभिन्न मुहानहरू छन् । जुन मानव जीवन र सिङ्गो समाज अघि बढ्नको लागि उपयोगी ठहरिन्छ । सङ्घर्ष कुरा गर्ने बित्तिकै कार्ल मार्क्सको नाम अग्रस्थानमा आउँछ । उनले निर्माण गरेको सिद्धान्तको मूल मर्म पनि समाजमा विद्यमान श्रमजीवी वर्ग र पुँजीपति वर्गहरू बीचको सङ्घर्ष हो । त्यो सङ्घर्षमा सर्वहारा वर्गको जित विजयीसँग जोडिन्छ ।र उनले त्यस्तो खालको सङ्घर्षलाई वर्ग सङ्घर्षको इतिहास पनि भनेका छन् । यिनै पक्षहरूको आधारमा  समाजको निर्माणको प्रारम्भिक चरणदेखि विभिन्न स्वरूपमा वर्गहरूको विभाजन, वर्ग द्वन्द्व र सङ्घर्षको सुरुवात पनि सँगै भएको हो भन्ने मार्क्सको भनाइ छ । जब सन् १८४८ मा मार्क्सले सर्वहारा र श्रमजीवी वर्गको राज्यको कल्पना गर्दै कम्युनिस्ट घोषणा पत्र निर्माण गरे त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ तरङ्ग उत्पन्न गर्‍यो ।

डार्विन र मार्क्स दुवै जनाको विचारमा सङ्घर्षलाई प्रधानता दिएको हुँदा सङ्घर्षको मनोविज्ञान निर्माणमा ती दुई विचारको महत्त्वपूर्ण भूमिका  देखिन्छ । सङ्घर्षको धाराहरू निर्माण  हुँदै जाँदा मार्क्सवादी विचारले विश्व उचालेको इतिहास सबै जानकार नै छन् । सङ्घर्षको सन्दर्भमा मार्क्सवादी विचारक रोजा लग्जेम्वरले भन्छिन्– ‘समाजमा वर्ग निर्माण, वर्गीय उत्पीडन, वर्गीय असमानता जस्ता पक्षहरू राज्य आफैले निर्माण गर्छ । तिनकै बहानामा शासकहरूले राज गर्ने गर्छन् ।’ सोही धारणाको विकास क्रमशः भएको पाइन्छ ।

राजनीतिक जीवनको सुरुवाती चरणमा प्रखर मार्क्सवादी देखिएका एडवार्ड बेर्नश्टाइन पछि संशोधनवादी कित्तामा उभिँदै क्रान्तिलाई उपेक्षा गर्न थाले । यहाँ विश्व राजनीतिको बदलिएको धाराको मात्र कुरा गर्न खोजेको होइन ।  जर्मन, बेलायत, रुस, फ्रान्स, स्पेन र एसियाली देश भियतनाम, चीनमा जस्तै नेपालमा पनि सैद्धान्तिक र वैचारिक परिवर्तन हुँदै गाएको हो भने सन्दर्भमा मात्र माथिका ऐतिहासिक घटनाक्रमहरु उल्लेख गर्न खोजिएको हो ।

नेपालको राजनीतिक व्यवस्थालाई सिद्धान्तले निर्दिष्ट गरेको इतिहास लामो छैन । २०१५ सालको बिपी कोइरालाको  नेतृत्वको सरकारले समाजवादको आधारभूत मान्यतालाई कार्यान्वयन गर्न नपाउँदै राजा महेन्द्रले समाजवादी विचारमा उभिएको व्यवस्थालाई हत्या गरिदिए । त्यसपछि उत्तर कोरियाको जस्तै तानाशाही शैलीमा चिनियाँ मोडेलको व्यवस्था ‘पञ्चायती व्यवस्था’को नामले देश चल्यो । आफू माओ कै चेला नभए पनि महेद्रले माओत्सेतुङ बन्ने कोसिस गरेका थिए । उनले स्वतन्त्रताप्रति गरेका प्रतिबन्धात्मक कार्यहरू र माओको तक्मा जस्तै उनको पनि तक्मा निर्माणबाट ती सबै कुराको पुष्टि हुन्छ । उनी जतिसुकै राष्ट्रवादी, देश प्रेमी, जनता प्रति जिम्मेवार हुँ भने पनि जनताको स्वतन्त्रताको हत्यारा हो भनेर धेरै नेपालीले बुझेका छन् । त्यसको प्रमाण २०१७ सालको पौष १ गतेको घटनाबाट छर्लङ्ग हुन्छ ।

त्यसपछि मात्र नेपालमा क्रमिक रूपले मार्क्सवादी र माओवादी बिचारहरू प्रचार आउन थालेको हो भन्ने कुरा ऐतिहासिक घटना क्रमले देखाउँछ । पहिलो कुरा राजा महेन्द्रको शासन कालमा समाजवादी धारबाट अलिकति चिप्लिएर बेर्नश्टाइनको संशोधनवादी कित्तामा पुगिसकेको पाइन्छ । त्यसको उदाहरण वि।स।२०४८ पछि कांग्रेसले  लिएको मिश्रित अर्थव्यवस्था अवधारणालाई लिन सकिन्छ । ठिक यही बिन्दु या चरणदेखि नेपाली समाज तीन खण्डमा विभक्त देखिन्छ । पहिलो दरवारिया, दोस्रो पुँजीपति र तेस्रो गरिब तथा गरिखाने समूह ।

यिनै विभाजित समाजलाई माओवादी घटकहरूले शासक तथा सामान्ती समूह र तिनका सहयोगीहरूलाई दक्षिणपन्थी, उद्योगीहरूलाई पुँजीपति वर्ग र गरिब तथा गरिखाने समूहलाई श्रमजीवी वर्ग वा सर्वहारा मजदुर वर्गको संज्ञा दिए ।  त्यही  त्रिकोणात्मक वर्गीय भिडन्तको अवस्थामा माओवादी ‘जनयुद्ध’को सुरुवात भयो । विद्यमान धार्मिक, सामाजिक, आर्थिक असमानता जस्ता कारणहरू हुँदाहुँदै त्यसको अर्को कारणको रूपमा नेपाली काङ्ग्रेसभित्र बढ्दै गएको संशोधनवादी कार्यक्रम र पुँजीवादप्रतिको मोहलाई भन्न सकिन्छ । अर्कोतिर जति पनि कम्युनिष्ट पार्टीहरू थिए र छन् ती सबै पार्टीहरू संशोधन हुँदै संसदीय व्यवस्थामा विश्राम गर्न थालेसँगै क्रान्तिकारी कम्युनिष्ट पार्टीविहीनको अवस्था सिर्जना भएको छ ।

२०७७ पौष ५ को संसद् विघटनपछि नेकपा विभाजन र पुनर्स्थापित संसद् पनि लगत्तै छ महिनामा नै दोस्रो पटकको  विघटनले नेकपा एमाले पनि विभाजनको डिलमा उभिन पुग्यो । कांग्रेस, माओवादी, माधव नेपाल पक्षको कम्युनिस्ट पार्टी र उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टीले संसद्को पुनः स्थापना निम्ति कानुनी लडाई लडिरहेका छन् । महन्त ठाकुरले उनका सहयोगीहरूलाई अवसरवादको मार्ग समात्दै संशोधनवादी प्रवृत्तिका नाइके एवम् अधिभुतवाद र एकत्ववादी चरित्रका वामपन्थी केपी ओलीको मन्त्रिमण्डलमा सहभागी भएपछि तराई-मधेसको पार्टी पनि अवसरवादीहरूको क्लब मात्र रहेछ भन्ने देखियो ।

धार्मिक अतिवादी सामन्तीहरूको सङ्गतले पूर्वकम्युनिष्ट केपी ओली दक्षिणपन्थी, पुनरुत्थानवादी र दलाल पुँजीपतिको मार्ग समात्दै गणतन्त्र मास्ने मानसिकतामा उद्यत देखिन्छन् । राजनीतिको प्रत्येक समस्यालाई सर्वोच्च अदालतमा प्रवेश गराउने कामको थालनी भएको छ । यसले पहिलो कुरा संसद्को असक्षमता र संसदीय व्यवस्थाको खिल्ली उडाइरहेको छ भने अर्कोतिर अदालतलाई राजनीतिकरण गराउन खोजिएको हो कि भन्ने भान गराउँछ । यी दुवै कुरा संसदीय लोकतन्त्रमा सुहाउँदैन । किनभने सबै निकायको काम निर्धारण गरिएको हुन्छ । अब यसमा रह्यो कुरा सत्ता केन्द्रित राजनीतिक खेलको । साम्यवादी सिद्धान्त खाएका केपी ओलीले संसदीय व्यवस्थाको खेल राम्रै खेलिरहेको देख्दा कांग्रेस सभापति शेरबहादुर देउवा रनभुल्लमा परिरहेका छन्  ।

हाल घटिरहेको घटनाको नालीबेली यस कारणले उल्लेख गरेको हो कि यी सबै राजनीतिक घटनाहरू इतिहास बन्ने क्रममा छन् । बन्दै गरेको राजनीतिक इतिहासले जस्तोसुकै प्रभाव परोस् त्यो इतिहास बन्छ बन्छ । वर्तमानलाई हाँक्ने सबल व्यवस्था बन्न सक्दैन । दशकौँदेखि लोकतन्त्र प्रेमी जनताले लडेर ल्याएको शासन व्यवस्था र संसदीय प्रणालीलाई कमजोर बनाउने प्रयास इतिहास अवश्य बन्छ । त्यसैले यी इतिहास बन्दै गरेको घटना र पात्रहरू चंगेज खानले बनाएजस्तो इतिहास बनाउने हो कि बुद्धको जस्तो इतिहास बनाउने हो त्यो स्वयमले जानुन् ।



नयाँ