arrow

दोस्रोपटक अदालतबाट ब्युँतिएको संसद बैठक बस्दै, यस्ता छन् कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
parliament_of_nepal.png

काठमाडौं । सर्वोच्च अदालतबाट दोस्रो पटक ब्युँतिएपछि प्रतिनिधि सभाको पहिलो बैठक आइतबार बस्दैछ । राष्ट्रिय सभाको बैठक पनि आइतबारै बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ । यीमध्ये बजेटसम्बन्धी ३ वटा अध्यादेशसमेत रहेका छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले हठात् असार २८ गते राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो । 

असार २८ गते नै सर्वोच्च अदालतले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै पुनस्र्थापना गरिदिएको थियो । अदालतले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा समय नै तोकेर परमादेश दिएको थियो । त्यस्तै साउन ३ गते संसद बैठक डाक्न पनि आदेश दिएको थियो । 

सोही आदेश अनुसार देउवा  २९ असारमा प्रधानमन्त्री बनेका थिए । आइतबार बस्ने अभिवेशनको लागि सम्पूर्ण सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षण भइसकेको छ ।

जसमा तीन कर्मचारीमा कोरोना देखिएको छ । अन्यलाई भने केही भएको छैन । 

बस्दै कार्यव्यवस्था समिति बैठक र दलहरुका संसदीय दलका बैठक
संसद व्युँतिएपछिको पहिलो बैठक भएकाले गर्दा पनि प्रारम्भिक दिनको बैठक हुनेछ । राष्ट्रपतिले पठाएको पत्र पढ्नेदेखि शुभकामना आदान प्रदानका कुराहरु हुन सक्ने सांसदहरुले बताएका छन् । 

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेबारेमा समेत पनि प्रक्रिया अगाडि बढ्न सक्ने देखिएको छ । विश्वासको मत लिएपछिमात्रै मन्त्रिमण्डल विस्तार हुने सहमति दलहरुबीच भएकाले विश्वासकै मतलाई जोड दिइएको छ । 

संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनै पर्छ । तर देउवाले पहिलो विश्वासको मत लिएरमात्र अन्य प्रक्रिया अगाडि बढाउन खोजिरहेका छन् । 

देउवाले विश्वासको मत पाउँदा प्रतिनिधिसभाको निर्वाचन निर्धारित समय १७ महिनापछि हुनेछ भने विश्वासको मत नपाउँदा संविधानअनुसार ६ महिनाभित्र गर्नुपर्नेछ । देउवाले ढुक्क भएर अगाडि बढ्ने रणनीति बनाएका छन् । 

यसअघि आइतबार बिहान कार्य व्यवस्था समितिको बैठक बस्दैछ । यो बैठकमा विश्वासको मत लिने सम्बन्धमा कुराकानी हुने बताइएको छ । सबै दलका संसदीय दलको बैठक पनि आइतबारै बस्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ