arrow

तेस्रो प्रयासमा मुख्यमन्त्री बन्दै कांग्रेस नेता कृष्णचन्द्र नेपाली, शनिबार नै नियुक्त हुने

logo
हरि पन्त
प्रकाशित २०७८ जेठ २९ शनिबार
krishna-chandra-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशमा आज(शनिबार )नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार पदमुक्त भएसंगै नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढेको थियो ।

गण्डकीका प्रदेश प्रमुख सीता कुमारी पौडेलले शुक्रबार दिउसो ३ बजे संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेकी थिइन् ।

त्यसको करिब दुई घण्टा भित्रै विपक्षी गठवन्धनमा रहेका ३१ जना सांसद प्रदेश प्रमुखको निवासमै सशरीर सहभागी भएर हस्ताक्षर बुझाए । उनीहरुको हस्ताक्षर सनाखत पनि भइसकेको छ । गठवन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।

प्रदेश प्रमुख पौडेलसमक्ष हस्ताक्षर बुझाउनेमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । सम्भवतः आज दिउसो ३ बजे पश्चात् नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । नेपाली आज मुख्यमन्त्रीमा नियुक्त भए उनले पनि एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ । 

तेस्रो प्रयास सफल, मनाङे निर्णायक

गण्डकीमा सत्ताको रस्साकस्सी चलेको करिब चार महिना भइसकेको छ । वैशाख १५ गते पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदै गर्दा जनमोर्चाका सांसद खीमविक्रम शाही बेपत्ता भएको भन्दै स्थगित गरियो ।

त्यसको करिब ११ दिनपछि विश्वासको मत लिने तयारी हुँदै गर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिए । त्यसपछि प्रदेश प्रमुखले तीन दिनभित्र बहुमत पुर्याएर आउन आह्वान गरिन् ।

यसमा जनमोर्चाभित्रको राजनीति नराम्रोसंग बिग्रियो । पार्टीका संसदीय दलका नेता कृष्ण थापा र सांसद खीमविक्रम शाहीले पार्टीको निर्देशन उल्लंघन गरे ।

जनमोर्चाका दुई सांसद र स्वतन्त्र सांसद दीपक मनाङे तटस्थ बसिदिएपछि विपक्षीले बहुमत पुर्याउन सकेनन् । त्यसपछि प्रदेश प्रमुखले संसदको ठूलो दलको हैसियतमा पृथ्वीसुब्बा गुरुङलाई नै दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरिन् ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । कुनै पनि दलको बहुमत नभएमा तथा दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बन्न नसकेमा उपधारा ४ बमोजिम ठूलो दलको सरकार बन्ने व्यवस्था यो उपधारामा छ ।

मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार विश्वासको मत लिन असफल भए । यसअघि तटस्थ बसेका जनमोर्चाका कृष्ण थापाले फेरि पनि पार्टी निर्देशन उल्लंघन गरे । फलस्वरुप पार्टीले उनलाई दोस्रो पटक पनि बर्खास्त गर्यो । यसअघि तटस्थ बसेका जनमोर्चाका खीमविक्रम शाहीले विपक्षी गठवन्धनलाई साथ दिए ।

यसअघि ढुलमुले बन्दै आएका स्वतन्त्र सांसद दीपक दीपक मनाङेले पनि यस पटक खुलेरै विपक्षीलाई साथ दिए । उनको साथ पाएपछि विपक्षीले ३० को ठाउँमा ३१ सांसद पुर्याए । कृष्ण थापा बर्खास्त भएसंगै गण्डकीमा ५९ जना सांसद छन् त्यसको बहुमत ३० भए पुग्छ । तर मनाङेले साथ दिएपछि गठवन्धनमा ३१ जना पुगेका छन् ।

मनाङेले साथ दिए पनि गुरुङलाई विश्वासको मत नपुग्ने भएपछि बहुमत पुग्ने पक्षलाई सहयोग गरेर संसद जोगाउने निश्कर्षमा पुगे । त्यसैले विश्वासको मत लिने दिन मनाङे संसदमै उपस्थित भएनन् ।

आफ्नै गठबन्धनको सहयात्री दल जनमोर्चाका सांसदले साथ नदिँदा यसअघिका दुई दुई पटकको प्रयास असफल भएको विपक्षी गठबन्धनका लागि अन्तिम समयमा सत्ता पक्षमा गएर मन्त्री बनेका स्वतन्त्र सांसद मनाङे सारथि बने । मनाङेले गठबन्धनका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर मात्रै गरेनन्, गठबन्धनकै साथ लागेर प्रदेश प्रमुखको निवासमा पुगे ।

को हुन् प्रस्तावित मुख्यमन्त्री नेपाली ?

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको क्षेत्र नम्बर १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । तनहुँको कांग्रेस राजनीतिमा सक्रिय गोवर्द्धन शर्माका माहिलो छोरा पोखरेल झण्डै तीन दशक नवलपरासीको राजनीतिमा सक्रिय रहे ।

कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका पोखरेलले १९ वर्ष नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए । तनहुँको तनहुँसुरबाट बसाइँसराइ गरी नवलपरासी आएका पोखरेल कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य समेत बने ।

वि.सं २०२९ देखि २०३६ सम्म अध्यापन पेशा अंगालेका उनले प्रजातान्त्रिक आन्दोलनका निम्ति २०३७ र २०४६ सालमा जेल जीवन समेत ब्यतित गरेका थिए । २०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेवारसमेत बनेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ