arrow

नेबिसंघलाई निर्देशन दिन मात्र पार्टीले निर्देशन समिति बनाउनु हुन्नः डिल्लीराम सुवेदी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ असार २० सोमबार
dilliram-subedi.jpg.jpeg
वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरका डिल्लीराम सुवेदी नेपाल विद्यार्थी संघको कर्मठ र जागरूक विद्यार्थी नेता हुन्। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका थिए। विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाइमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौं आउँदा उनी फेरि काठमाडौं शिक्षा क्याम्पसमा पनि राजनीतिक रुपमा सकृय रहे। राजनीति मात्रै भन्दा पनि विद्यार्थी राजनीतिलाई प्राज्ञिक पनि बनाउनु पर्दछ भन्ने सोचाईका साथ अघि बढ्ने सुवेदी यावत शैक्षिक सवालहरूमा खह्रो बहसमा उत्रिदै आएका छन्। अध्ययनशिल भनेर चिनिएका सुवेदीका बिद्यार्थी सम्बन्धी लेख, रचना समेत छापिदै आएका छन्। सुवेदीको सम्पादनमा विचार विशेष त्रैमासिक पत्रिका निस्किरहेको छ जसले कांग्रेसको सैदान्तिक धरातलमा देखिएको अभावलाई केही भए पनि पुरा गरेको छ। नेपाली काँग्रेस र संविधानसभा नामक अर्का बुकलेट लगायत १० वटा भन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा समेत संलग्न रहदै आएका सुवेदी काठमाडौ शिक्षा क्यापसको स्ववियू सभापति तथा इकाई अध्यक्ष समेत भैसकेका छन्। सुवेदीले २०६५ सालमा आफ्नो क्याम्पसमा नेविसंघलाई प्यानल नै जिताएर क्याम्पस राजनीतिबाट केन्द्रीय राजनीतिमा सुरू गरेका थिए। उनी पछिल्लो समय नेपाली काँग्रेसमा पनि सकृय रहेका छन्। पछिल्लो महाधिवेशनमा वाग्लुङ जिल्ला क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी बनेका सुवेदी २०६२/६३ को आन्दोलनमा बिद्याथीहरुलाई आन्दोलित बनाउदै अघि बढ्दा काठमाडौंमा पटक पटक पक्राउ परी थुनिएका थिए। तीनै सुवेदी अहिले भने नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताउँछन्। उनै सुवेदीसँग हाम्राकुरा डटकमका सुदर्शन अर्यालले महाधिवेशनको सेरोफेरोमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादित अंश :
 
जतिजति महाधिवेशनको मिति नजिकिँदै छ त्यतित्यति असन्तुष्टिका स्वरहरू पनि चर्किँदो मात्रामा बढीरहेको छन्। यो अवस्थामा तोकिएको मितिमा महाधिवेशन हुन सम्भव छ?
 
नेपाल विद्यार्थी संघको महाधिवेशन गर्न भनेर मिति तोकेको यो नवौं पटक हो। यस भन्दा अगाडि आठ पठकसम्म के कारणले मिति तोकर पनि महाधिवेशन हुन सकेन र के कारणले महाधिवेशन स्थगित भयो भनेर हेर्दा त्यो आठ पटक मिति स्थगित गराएको कारण आज पनि जीवितै छन्। आज पनि यसको समाधान हुन सकेको छैन। समस्या यस्ता हुन् भन्ने पनि सबैलाई थाहा छ। तर महाधिवेशन तयारीको लागि जति काम गरिए पनि मूल कुरो समस्या समाधानका निम्ति अहिलेसम्म यथेष्ठ प्रयास भएको छैन। जुन कारणले महाधिवेशन हुदैन कि भन्ने शंका यथावत छ। मलाई त लाग्छ यो महाधिवेशन गराउनको लागि पार्टी सभापति र नेविसंघ अध्यक्ष तथा केन्द्रीय समितिले चासो दिने हो भने यो तोकिएको मितिमा महाधिवेशन हुन्छ। यसमा पार्टी सभापतिले त पछिलो समय अलिक धेरै नै सक्रियता देखाउनु भएको छ। हामीलाई लाग्छ हाम्रो नेविसंघ नेतृत्व पनि यसमा संवेदनशील बन्नुपर्छ र भएका बिवादहरु सबै बसेर समाधान गर्नुपर्छ। अव तोकिएको मितिमा सबै जिम्मेवार बनेर निर्वाचन गराउनु पर्छ।
 
तपाईले नै भन्नु भयो विवाद समाधानको लागि खासै काम भएको छैन भनेर, सबै विवाद समाधान गरेर महाधिवेशन गर्न अबको एक महिनामा कत्तिको सम्भव छ? 
 
अहिलेको विवाद समाधानको बाटो खोज्न नेविसंघको केन्द्रीय समितिले सात सदस्यीय छानविन समिति गठन गरेको छ। गत असार ५ गते गठन गरिएको समितिले विवादको चूरो कुरा के हो। यसको समाधानको लागि कसले के गर्नुपर्ने र कसरी समाधान गर्न सकिने भन्ने सुझाव सहितको प्रतिवेदन साउन नौ गते सम्म बुझाउनु पर्ने गरी गठन पनि गरेको छ। जसमा केन्द्रीय सदस्य लीलाबल्लभ दाहालको नेतृत्वमा ७ सदस्य रहेका छन्। यो सँगै अर्को अन्यौलको कुरा के छ भने साउन ५ गते प्रतिवेदन बुझाएर यो छोटो समयमा कसरी काम सक्न सकिन्छ भन्ने पनि विषय चासो र अन्योलको विषय बन्न सक्छ। नेपाली काँग्रेसले पनि यो विवादित विषयलाई नीतिगत निर्देशन दिएर विवाद समाधान गर्नको लागि डा. प्रकाशशरण महतको नेतृत्वमा ५ सदस्यीय निर्देशन समिति गठन गर्न लागेको भन्ने बुझिएको छ। यसो भएको खण्डमा त झनै निर्देशन समितिले महाधिवेशन सफल पार्नको लागि आवश्यक सल्लाह सुझाव र निर्देशन दिने छ। त्यसैले अब द्रूत गतिमा काम गर्ने हो भने महाधिवेशन सम्भव रहेको छ। नेपाल विद्यार्थी संघजस्तो संगठनलाई कुनैपनि व्यक्ति–व्यक्तिबीच भागवण्डा गरेर गरेको प्रतिनिधि स्वीकार गरेर महाधिवेशन सफल हुन सक्दैन। २२ जिल्लाबाट अझै १३ सय प्रतिनिधि विधिवत ढङ्गले आउन बाँकी छ। यो सबै कुरा मिलाउनको लागि हामीले विस्तारै काम गरेर तोकिएको मितिमा महाधिवेशन गर्न गाह्रो छ। तर द्रूत गतिमा काम गर्ने हो भने यो सम्भव पनि छ।
 
पार्टीले गठन गरेको निर्देशन समितिले ११ जिल्लामा मात्रै अधिवेशन गर्नू भनेर निर्देशन दिएको खण्डमा तपाईहरू त्यसलाई स्वीकार गरेर महाधिवेशनमा जानुहुन्छ ?    
 
निर्देशन समिति निर्देशनको लागि मात्रै गठन भएको होईन। उहाँहरू सबैलाई न्याय दिनको लागि आउनुहुनेछ न्यायाधीस बनेर। तर वकिल बनेर बहस गर्नको लागि आउनुहुने छैन भन्ने मलाई लागेको छ। अझ हामीलाई प्राप्त सूचना अनुसार त नेपाल विद्यार्थी संघको राजनीतिमा खारिएर जानुभएका श्रद्धेय नेताहरू उक्त समितिमा बस्नुहुने छ भनेसँगै यस्तो हुने छैन भन्ने मलाई विश्वास छ। तर यदि उहाँहरूले पनि त्यस्तै भन्नु भयो भने त यो महाधिवेशन नहुने संकेत हो। यस्ता श्रद्धेय नेताहरूले नेविसंघको महाधिवेशन नहुने गरी काम गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु। 
 
यो महाधिवेशनले गुट उपगुटलाई कत्तिको प्राथमिकता दिने छ जस्तो लाग्छ? अहिले त सभापतिका आकांक्षी नै झण्डै दर्जन पुगिसकेका छन्?  
 
लामो समयसम्म नेविसंघको महाधिवेशन नभएको कारणले धेरै साथीहरूले यसमा आकांक्षा देखाउनुलाई मैले चाहिँ स्वभाविक र सामान्य देखेको छु। कुनै पनि गुटको दायराले मात्रै नेविसंघमा सहि नीति र नेतृत्व लिने र विद्यार्थी साथीहरूको आकांक्षालाई रोक्छ जस्तो त लाग्दैन। तैपनि गुटहरूले केही हदसम्म रोक्ने प्रयास भने गर्नेछ। 
 
यहाँले यो महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने तयारी गरिरहनु भएको छ?   
 
थुप्रै प्रजातन्त्रमा आस्था राख्ने साथीहरू र नेविसंघमा लामो समयसम्म काम गरेका साथीहरूले पनि मेरो त्याग क्षमता र योग्यताको कारणले गर्दा यो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनू भन्ने सुझाव आएको र उहाँहरूको आकांक्षा पनि त्यही रहेकोले मैले यो महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने तयारी गरेको छु। 
 
नेविसंघले शैक्षिक एजेण्डा विर्सिएको, राजनीतिमा मात्रै केन्द्रीत भएको लगायतका आरोप लाग्ने गरेको छ नि, स्वीकार्नु हुन्छ? 
 
यो साँचो हो। तर यो नेपाल विद्यार्थी संघभित्र मात्रै भने कदापी लागू हुने कुरा होईन। हामी सबै बिद्यार्थी संगठनहरू पेशागत र वर्गीय हकहितको लागि भन्दा पनि बढी राजनीतिक सवालमा नै केन्द्रीत रहेका छौं। जब निरंकुश शासनको समयमा पार्टीहरू प्रतिवन्धित थिए। त्यतिवेला नै हामीले लोकतन्त्रविनाको वर्गीय अधिकार सम्भव छैन भन्ने सबै विद्यार्थी संगठनले बुझेका थिए। त्यो पाठशालाबाट हुर्किएर आएको विद्यार्थी आन्दोलन त्यसको विरासतबाट मुक्त हुन सकेको छैन। त्यो राजनीतिक आन्दोलनको विरासतबाट मुक्त हुन सकेको छैन। यी संगठनहरूको पञ्चायत ढाल्ने कुरामा निर्णयक भूमिका रहेको छ। निरंकुश जहानीया शासन ढाल्ने कुरामा र गणतन्त्रसँगै शान्तिप्रक्रियाको टुङ्गो लगाउने काममा समेत विद्यार्थी संगठनहरूको भूमिका निर्णयक रहेको छ। तर अब परिवर्तनको खाँचो छ। समय परिवर्तन भएको छ। हामी पनि परिवर्तन हुनु आवश्यक रहेको छ। जतिवेला हामीले निरंकुश शासन ढाल्नको लागि आफ्नो एजेण्डा राख्यौ अब त्यसलाई सान्दर्भिक रूपले परिमार्जन नगर्ने हो भने हामी टिक्न सक्दैनौं। त्यसैले हामी अब राजनीति भन्दा माथि उठेर शैक्षिक र वर्गीय हितमा काम गर्नु आवश्यक रहेको छ। 
 
तपाईको कल्पनामा अबको नेविसंघ कस्तो हुनुपर्छ जस्तो लाग्छ? 
 
नेपाली विद्यार्थी राजनीतिको नीति संगठन र नेतृत्व सबैमा परिवर्तन हुनु जरूरी रहेको छ। हामीले अब समग्र विद्यार्थी आन्दोलनलाई परिमार्जन गर्नुपर्ने बेला भएको छ। त्यसको नेतृत्व अब नेपाल विद्यार्थी संगठनले गर्नुपर्ने बेला भएको छ। तर हामीले गर्ने नेतृत्व अब कुनै पनि ढुङ्गामुढाको राजनीतिमा मात्रै रूमलिएर बस्यौं भने हामी हामी धेरै पछाडि पर्ने छौं। अब सिद्धान्त र प्राज्ञिक विषयले भरिएको आन्दोलन अब गर्नु जरूरी रहेको छ। अब त्यस्तो आन्दोलन इतिहास बन्नुपर्छ जुन ढुङ्गामुढाबाट मुक्त बन्न सकोस्। हामी अहिले १० लाख विद्यार्थी रहेको निजी शिक्षण संस्थामा जान सकेका छैनौं हामी अहिलेसम्म पनि सरकारी र सामुदायिक विद्यालयमा मात्रै हामी सीमित बनिरहेका छौं। जहाँ उच्च र मध्यम बर्गका अधिकांश विद्यार्थीहरू पढ्दैनन। हामी आफैं पनि त्यस्ता विद्यालय तथा क्याम्पसहरूमा आफ्ना छोराछोरी पढाइरहेका छैनौं। त्यसैले अब हामीले सरकारी शैक्षिक संस्थालाई राजनीतिले ध्वस्त बनायो होइन राजनीतिले कति सुन्दर बनायो भन्ने वातावरण सिर्जना गर्नुपर्ने बेला भएको छ। 
 
अबको तपाईहरूको एजेण्डा शैक्षिक क्षेत्रमा केन्द्रीत हुन्छ या संगठनको सुधारमा? 
 
अब हामी अहिलेसम्म केन्द्रीत रहेको सांगठनिक र राजनीतिक एजेण्डा मात्रै भन्दा पनि शैक्षिक सामाजिक र राजनीतिक एजेण्डामा रचनात्मक भूमिका निर्वाह गर्दै समग्र सांगठनिक सुधारको बाटोमा लाग्ने छौं। यसको लागि विद्यार्थीद्वारा ताजा रूपमा छानिएका प्रतिनीधिहरू छानिएपछि अवश्य पनि यो बाटोमा सबै लाग्ने छन् र यसको नेतृत्व नेपाल विद्यार्थी संघले लिनुपर्छ भन्नेमा सबैको एकमत नै रहेको छ। 
 
तपाईलाई महामन्त्रीमा मतदान गर्ने किन ? 
 
आकर्षण हराउँदै गएको विद्यार्थी राजनीति र चार्मिङ हराउँदै गएको शैक्षिक, सामाजिक र राजनीतिक एजेण्डाको भविष्यलाई उज्वल गराउनको लागि मैले आफ्नो उम्मेदवारी दिँदैछु। लोकतन्त्र विना नेपालको समृद्धि सम्भव छैन भन्ने मान्यता बोकेर त्यही लोकतान्त्रिक विचारले प्रत्येक विद्यार्थीलाई प्रदिप्त बनाउनको निमित्त नेपाल विद्यार्थी संघ एउटा जुझारू विद्यार्थी संगठनको रूपमा राष्ट्रव्यापी बनेर अगाडि बढ्नु जरूरी रहेको छ। प्रत्येक विद्यार्थीले सवल र सुगठित नेतृत्वको विद्यार्थी संगठन पाउनु पर्छ र त्यस्तो संगठन बनाउको लागि मैले हरेक प्राज्ञिक र सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम छु भन्ने दाबीका साथ महामन्त्रीको दाबेदारी गरिरहेको छु। मसँग सुस्पष्ट र सुविचारित कार्यक्रमहरू नै साथीहरूका बीचमा राखेर नेपाल विद्यार्थी संगठनको रूपान्तरण नै गर्ने मुख्य एजेण्डा बोकेर अघि बढेको छु। अबको नेविसंघ ढुङ्गामुढामा होईन सिर्जनशीलतामा रूपान्तरण हुनुपर्छ। विश्वविद्यालय लथालिंग हुन्छ तर हामी राजनीतिक विषयबस्तुमा अल्झिईरहेका हुन्छौं। ३ वर्षमा सकिनु पर्ने पाठ्यक्रमको कार्यक्रम ५ वर्ष लागिरहेको हुन्छ हामीलाई केही वास्ता छैन बरू कुनै नेता विशेषको कार्यक्रममा गईरहेको हुन्छौं। दुई वर्षको स्नातकोत्तर ४ वर्ष लागेर दुई वर्ष विद्यार्थीको समय त्यसै वितिरहेको छ हामीलाई कुनै वास्ता छैन। अन्य शैक्षिक विषयहरू सबै विश्वविद्यालयमा शैक्षिक एजेण्डाहरू प्रभावित भएका छन् हामीलाई वास्ता छैन। विद्यार्थीको हातमा पढाई सुरूभएको ६ महिनासम्म किताव पुग्दैन त्यो पनि हामीलाई मतलव छैन। शिक्षा ऐन थन्किएर १० औं वर्ष बस्छ यस विषयमा हामीलाई चासो हुँदैन। यस्तो ढङ्गबाट अब हामी बाँच्न सक्दैनौं। हाम्रो कारण यहाँका शैक्षिक संस्थाहरू सुध्रिए भन्ने नभएसम्म अब हामी बाँच्न सक्दैनौं। नेपालको सार्वजनिक शिक्षाको गुणस्तरीय स्तरोन्नति विद्यार्थी राजनीतिका कारण मात्रै सम्भव हुन्छ भन्ने कुरा जवसम्म स्थापित गर्न सक्दैनौ तबसम्म हामी बाँचेको विद्यार्थी संगठन बाँचेको अनुभूति समाजलाई दिन सक्दैनौं। त्यस्तो परिस्थितिको परिकल्पनाका साथ संगठनको नेतृत्व दिने दृढ संकल्पका साथ प्रस्तुत हुने कार्ययोजना लिएर अघि बढेको हुनाले म महामन्त्रीको लागि सक्षम छु। त्यसैले धेरै साथीहरूले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा पनि ढुक्क छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ