- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कुनै समयमा एउटा धनाढ्य साहु थियो, तर उसलाई धनको मोह भने छुटेको थिएन । उसको एउटा छोरा तथा छोरी थिए । छोरीको विवाह भएपछि तीनै जना रमाइलो सँग समय बिताउँदै थिए । उसले छोरोको विवाह पनि गरिसकेको थियो तर बुहारी घरमा नबसी माइतमै बस्न गएकी थिइन् । अकस्मात् साहुलाई बढी धन कमाउने इच्छा जाग्यो । उसले पत्नीसँग सल्लाह गर्यो र छोरालाई विदेशमा व्यापार गर्न पठाउन भनेर केही रकम दिएर विदेशमा पठायो । छोरा खुसी भयो र व्यापारका लागि विदेश तर्फ गयो ।
केही दिनको यात्रा पछि ऊ एक महात्माको कुटीमा पुग्यो । महात्मा पनि एक नवजवान युवकलाई देखेर दङ्ग परे । केही दिन बसेपछि साहुको छोराले आफू व्यापार गर्न आएको कुरा बतायो । महात्माले उसको मन अध्ययन गरिहाले र उसले व्यापार गर्ने बुद्धि नपुग्ने आङ्कलन गरे ।
उनले त्यो केटासँग भएको रकम कुनै धार्मिक कार्यमा खर्च गरेमा उसलाई ६ वटा उपदेश दिने कुरा बताए । उसले उनको कुरा मान्यो । महात्माले उसलाई ६ वटा उपदेश दिए । उनको उपदेश यस प्रकारका थिए । १. बाबु आशामा अडेको हुन्छ २. आमा प्रेममा ३. सुखमा मात्र दिदी बहिनी हुन्छन्, ४.दुःखमा आत्मीय मित्र मात्र काम लाग्छ, ५. आँखा अगाडिको मात्र पत्नी, ६. जो जागृत (होस) छ, त्यो जीवित रहन सक्छ ।
यसरी महात्मासँग ६ वटा उपदेश लिएर ऊ घर फर्केर आयो । उसको बाबु भने छोराले धेरै धन कमाएर ल्यायो होला भनेर दङ्ग परेको थियो तर उसले बाबुलाई महात्माले दिएको ६ उपदेश हातमा राखिदियो । ती उपदेश देखेर बाबु रिसायो र उसलाई घरबाट निकाला गरिदियो । उसको त्यो स्थिति देखेर आमालाई माया लाग्यो र ८ वटा लड्डु बनाइन् । ४ वटामा ४ वटा हीरा राखिदिइन् । छोरा हिँड्ने बेलामा भनिन्, 'बाबु, दुःख परेको बेलामा मात्र यी लड्डु फोर्नु, नत्र नफोर्नु ।' यसरी उसले दुई वटा उपदेशको अनुभव गर्यो । ऊ आमाले दिएको लड्डु खाँदै दिन बिताउँदै गयो ।
मनले त उ विरक्त छँदै थियो । शारीरिक रूपमा पनि उ जोगी जस्तो भएर हिँड्यो । ऊ पहिले आफ्नो दिदीको घरमा पुग्यो । दिदीको घर सम्पन्न थियो । दिदीले चोकमा आएको थाङ्ने, माग्ने भाइ चिनी हाली । त्यस्तो थाङ्ने भाइ देखेर आफू भेट गर्न आइन । भान्सामा गएर नोकरलाई उसलाई खाना खान दिएर पठाइदिनु भनेर अह्राइन् । नोकरहरूले त्यसै गरे । खाना खाएर उ हिँड्यो । उसले पाएको तेस्रो उपदेश पनि अनुभव भइहाल्यो ।
ऊ अगाडि बढ्दै गयो । बिस्तारै दुःख पाउँदै पनि गयो । ऊ सँग खर्च भएन । आमाको बचन मानेर उसले एउटा लड्डु फोर्यो र हीरा झिकेर साहु कहाँ बेच्न गयो । साहुले पनि ४ लाख पर्ने हीरा २० रुपैयाँमा किन्यो तर पैसा दिन भने आनाकानी गरिरह्यो । उसले साहुसँग हीराको मोल माग गरेको आग्रह वरपरका मानिसहरूले सुने । सबैले मिलेर दुवै जनालाई पुलिस थानामा लगे । सौभाग्यवश त्यो थानाको हाकिम उसको साथी रहेछ । उसले साहुसँग भएको हीरा फर्काएर त्यो केटाको हातमा राखिदियो । यसरी उसले दुखमा साथी भन्ने उपदेशको पनि अनुभव गर्यो ।
त्यहाँबाट ऊ प्रस्थान गर्यो र ससुरालीमा पुग्यो । पत्नीले पनि झुत्रो मुत्रो जोगीको लुगा लगाएको आफ्नो पति देखि तर चिन्न सकिन । उसले पत्नी चिन्यो तर के काम । उसको ससुराले ज्वाइँ पनि चिनेन तर आफू महात्मा प्रति श्रद्धा गर्ने हुनाले बगैँचामा एउटा सानो कुटी बनाइ दियो र सेवा गर्न लाग्यो । केही दिन पछि उसको पत्नी पनि बिस्तारै सेवामा आउन लागि । सेवा गर्दा गर्दा ऊ जोगीको मोहमा फसी र आफूलाई पत्नी स्वीकार गर्न अनुरोध गरी । उसले यो कुरा मन्जुर गरेन । उसले दृष्टिमा पत्नी भन्ने उपदेशको पनि फलिभूत भएको अनुभव गरी हाल्यो ।
यसरी स्त्रीको मोहबाट फुत्केर ऊ अगाडि बढ्यो । बाटोमा उसले राजाको दरबारको मूल ढोकामा ठुलो नगरा देख्यो । उसले नगरा बजायो । त्यो नगरा राजाको छोरी विवाह गर्नका लागि योग्य वर खोज्नका लागि राखिएको रहेछ । राजाको सर्त पनि रहेछ, जो एक रात उनको छोरीसँग कोठामा बिताउँछ, उसलाई भोलिपल्ट नै छोरीको कन्यादान गर्ने । राजाका मानिसहरूले उसलाई समाते र कुरा बुझे । राजाको सर्त उनीहरूले बताए । उसले महात्माको अन्तिम उपदेश सम्झियो अनि उसले मन्जुर गर्यो ।
रात पर्यो, खानपिन पछि ऊ राजकुमारीको कोठामा गयो । महात्माले दिएको ६ उपदेश मध्ये ५ वटाको त उसले प्रयोग गरिसकेको थियो । अव एउटा मात्र बाँकी रहन गयो जो ब्युँझ्यो, त्यो बाँच्यो । ऊ जिउँदै बस्यो । आधारातमा राजकुमारीको नाकबाट एउटा सानो सर्प निस्केर शरीर फुलाउँदै उसको नजिक आइरहेको देख्यो । उसले दराजमा एउटा तलवार देख्यो र हतार हतारले सर्पलाई मार्यो । यसरी उसले ज्यान बचायो ।
भोलिपल्ट बिहान राजाको मानिसहरू ऊ मरेको होला भनेर मलामी जान सामानहरू लिएर हाजिर भए तर उसलाई बिउझैँ देखे र छक्क परे । यो कुरा राजाको कानमा पनि पुग्यो । राजाले आफ्नो प्रतिज्ञा स्वरूप छोरी उसलाई दिए र धेरै दाइजो सहित आफ्नो घरमा फर्काइदिए । उसको त्यो चकचकी देखेर बाबुलाई पश्चात्ताप भयो र सबै जना मिलेर बस्न थाले । यसरी साधुको उपदेश पालना गर्नाले उसको जीवन तथा परिवारको मनस्थितिमा नै परिवर्तन हुन गयो ।
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com