arrow

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग, निषेधाज्ञा थप खुकुलो हुने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
kathmandu-road-nishedhagya.JPG

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो । 

सङ्घका महासचिव वैकुण्ठ दाहालले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छाड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताएका छन् । 

“निषेधाज्ञाका कारण व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, ब्याज, कर, तलबलगायत कुराले व्यवसायी तनावमा परेका छन्, उक्त तनावलाई कम गर्न व्यापार व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्नुपर्छ”, उनले भने । 

महासचिव दाहालले नागरिक रोगले भन्दा भोकले मर्न लागेको भन्दै काम गरेर जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् । सङ्घले सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको भन्दै अब विस्तारै व्यापार व्यवसायलाई चलाउन दिनुपर्ने बताएको छ । रासस

थप, 
प्रशासनले काठमाडौं उपत्यकामा असार १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर कोरोना भाइरसको महामारी रोकिएको छैन । यसका लागि कुनै पहल भएको पनि छैन । परीक्षण नै कम गराउँदै लगेको अवस्थामा फेरि कुनै समय विकराल स्थिति आउन सक्ने देखिन्छ । 

स्वास्थ्य मापदण्ड कसैले पनि पालना गरेको पाइँदैन । मापदण्ड पालना गर्छु भन्नेहरु नै तोडिरहेका छन् । त्यतिमात्र हैन अहिले पनि सडकमा बिना मास्क हिँडडृुल गरेकाहरु भेटिन्छन् । 

तरकारी पसल, खाद्यान्ह पसल र फलफूलसँगै स्टेशनरी पसलमा पनि बिना मास्क मानिसहरु बस्न थालिसकेका छन् । 

प्रदेश सरकारहरुले हालैमात्र बजेट ल्याउँदा सहभागी भएको त्यो प्रदेशसभाको हलबाटै स्पष्टै हुन्छ कि कत्तिको सचेत छन् उनीहरु । 

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएकामा कोरोनाको संक्रमण दर घट्दै गइरहेको छ । तर परीक्षण बढाएर समूदायलाई कोरोनामुक्त बनाउनेतर्फ प्रशासन नलागेका कारण र स्थानीय तहहरुले थप तदारुकता नदेखाउँदा संक्रमित कम देखिए पनि नघटेको विश्लेषण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ