arrow

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
krishnachand-nepali-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत हासिल गरेका छन् । शुक्रवार गण्डकी प्रदेशसभामा भएको मतदान प्रक्रियामा पोखरेलको पक्षमा बहुमत सांसद उभिएका हुन् ।  पोखरेल गत शनिवार संविधानको धारा १६८ उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक साता नबित्दै उनले विश्वासको मत लिने निर्णय गरेका थिए । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निर्णय गरेका थिए ।  प्रदेशसभामा कायम ५९ सांसदमध्ये नेपाली काँग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टी (जसपा) का दुई जना र जनमोर्चाका दुई जना र स्वतन्त्र सांसद एवं गरी ३१ जना सांसद पक्षमा मतदान गरे । मुख्यमन्त्री पोखरेलको विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मतदान गरे । 

विश्वासको मत लिनुअघि विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरूमाथि थप जिम्मेवारी आइपरेको बताए ।  उनले सङ्घीयतालाई मजबुत बनाउनका लागि आफू दृढ सं कल्पित रहने बताए । जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।

सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबिचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको चर्चासमेत गरे । नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने बाचा गरेको पनि उनले स्मरण गराए ।

यस्तै, महिलाहरूले भोग्नु परेको धेरै पीडामध्ये एक रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको पनि उनले सुनाए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।

भोलि केन्द्रमा तपाईँहरूको सरकार बन्न सक्ने र त्यो बेला पनि सङ्घीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्ने भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका उनले सङ्घीयतालाई बलियो बनाउन सरकार डटेर लागेमा आफूहरूले खुलेरै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सङ्घीयताको चर्को कुरा गर्ने तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको उनले आरोप लगाए । गुरुङले सङ्घीयता कार्यान्वयनमा केन्द्रका नेताहरूको मानसिकतामा समस्या रहेको आरोप लगाए । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत उनले चेतावनी दिए ।

संसद बैठकमा सत्ता पक्ष र विपक्षका १० सांसद छलफलमा सहभागी भएका थिए । बैठकमा विपक्षी सांसदहरूले सरकार अपवित्र गठबन्धन भएकाले धेरै दिन टिक्न नसक्ने ठोकुवा गरेका थिए भने सत्ता पक्षीय सांसदहरूले विपक्षीको प्रतिवाद गर्दै पोखरेल नेतृत्वको सरकारले प्रदेशलाई समृद्धिको नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका थिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ