सिराहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
1.7k
Shares
लहान। सिराहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगर सभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यही असार १० गतेभित्र नगर तथा गाउँ सभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिराहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन् ।
जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिराहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँ सभामार्फत आव २०७८-७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् । बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
गोलबजार नगरपालिकाले रु ८१ करोड पाँच लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ । सो नगरपालिकाले चालुतर्फ रु ४१ करोड २२ लाख ८८ हजार र पूँजीगततर्फ रु ३९ करोड ८१ लाख ७८ हजार बजेट विनियोजन गरेको नगर प्रवक्ता उमेश बरालले बताउनुभयो । नगर सभा सम्पन्न गरेको सिराहा नगरपालिकाले आव २०७८÷७९ का लागि रु ७९ करोड ४० लाख १८ हजार बजेट विनियोजन गरेको छ भने सुखीपुर नगरपालिकाले रु ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ ।
त्यस्तै मिर्चैया नगरपालिकाले रु ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवणकुमार यादवले बताउनुभयो । जिल्लाको कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले भने अझै सभा गर्न नसकेको जनाइएको छ ।