- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
शिवपुरी बाबालाई भक्तहरूले प्रश्न गरेका थिए, बाबा, भक्ति केलाई भनिन्छ ? उहाँको जवाफ थियो, 'भक्ति हामीले परमात्मालाई खुसी पार्न गरिने कार्य, स्तुति आदिलाई भनिन्छ । भक्ति हृदयले परमात्मालाई जित्ने विधि हो । हामीले जे काम गरे पनि त्यसमा श्रद्धा हुनुपर्छ, परमात्माप्रति समर्पण हुनुपर्छ । श्रद्धा भक्ति नभई गरेको कामबाट चाहिएको फल पाइन्न । श्री रामकृष्ण परमहंसले बारम्बार पुकार गरिरहनु भएको जस्तै तपाईँहरू पनि परमात्माप्रति श्रद्धा राखेर उहाँको भक्ति गर्नुपर्छ । भक्ति बढाउनाले तपाईँको मन आनन्द हुन्छ । भक्ति देखाउने वस्तु पनि होइन र जति गरे पनि देखाउन सकिन्न । ईश्वरको भक्ति गर्नाले हामीलाई दुःख पीडा कम हुन्छ । तर हामीले याद राख्नु पर्ने कुरा के हो भने देखावटी भक्ति गर्नुहुन्न । देखावटी भक्तिले मानिस आफू अलमलिन्छ र अरूलाई पनि अलमलमा पार्दछ ।'
कसै कसैले उहाँलाई भक्ति बढाउन के कस्ता पुस्तकहरू पढ्नुपर्छ भनेर प्रश्न गर्दथे । उहाँ यस्ता जिज्ञासुहरूलाई श्री नारायणीयम्, श्रीमद्भागवत आदि ग्रन्थ पढ्ने सल्लाह दिनु हुन्थ्यो । भक्ति बढाउनका लागि मन मिल्ने श्रद्धालुहरू एकै ठाउँमा जम्मा भएर भजन कीर्तन गर्दछन्, जसले गर्दा परमात्माप्रति श्रद्धा भक्ति बढ्न जान्छ । कोही कोही पूजा, भजन आदि गर्दा भाव विभोर भएर आँखामा आँसु पनि निकाल्छन् । यो पनि परमात्माको भक्ति हो । हामीमा नारद ऋषि जस्तो भक्ति हुनुपर्छ ।
सिद्ध महापुरुषहरू भक्तिलाई प्रकट नगर्न र गुप्त राख्न सल्लाह दिनुहुन्छ । नत्र भने यो अत्तर जसरी नै उडेर जान्छ । तिमी भजन, कीर्तन भएको ठाउँमा गएर नाच्ने काम गर्दछौ । कर्तव्य पूरा गरेर हरदम त्यसरी नै भजन, कीर्तन गर्दैनौ भने त्यो देखावटी भक्ति हो । अरूले तिम्रो हाव भाव देख्दछन् । तिम्रो प्रशंसा गर्लान् । तर तिमी आफ्नो घरको एक कुनामा गएर कहिल्यै नाचेका छौँ भने तिमीलाई प्रशंसा गर्ने कोही हुँदैनन् । प्रशंसा सुनेनौ भने तिमीमा घमन्ड आउँदैन । जब घमन्ड आउँदैन, तब परमात्मा तिमीसँग नजिकै हुँदै आउँछन् ।
तीर्थयात्रामा गयौँ भने हामीमा भक्ति पनि बढ्न सक्छ । कति कति त म अमुक देवस्थानमा गएर आएपछि आफूलाई मन परेको खाने कुरा छोडेँ भन्दछन् । त्यो ठिकै हो तर काम, क्रोध, लोभ आदि आसुरी विचारहरू भने छोड्न सकेका हुँदैनन् । ती विषयहरू हामीसँगै गएका हुन्छन् र हामीसँगै फर्कन्छन् । हामीले गोपीहरूले गरेको जस्तै भक्तिमा चुर्लुम्म डुब्नु पर्छ जसले गर्दा हामी आफ्नो जीवन सार्थक बनाउन सक्छौँ ।
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com