arrow

सरकारको प्रतिविम्ब

logo
नवीन चन्द्र घिमिरे, लमजुङ
प्रकाशित २०७८ असार १४ सोमबार
singhadarwar.jpg.jpeg

यो सरकार दुरुस्तै साहित्यिक गाथाजस्तै लाग्छ
यौटा पूर्ण कथानक कृतिजस्तै लाग्छ
र यौटा सिङ्गो उपन्यास जस्तै लाग्छ
जसमा कुनै नीरसता नभएको होस्,
पाठ्यक्रममा कुनै आलश्यता नभएको होस् ।
उपन्यासभित्र समग्र कहानी र पात्रहरूले 
पाठकहरूलाई रोमाञ्चक बनाउँछन्, 
प्रतिबिम्बित गरिएका प्रसङ्गहरूले 
सिलसिलेवार आरोह-अवरोह ल्याउँछन्, 
हरेक अध्याय तथा परिच्छेदहरू 
साहित्यका नवैरसले सिँगारिए झैँ लाग्छन् ।।
 
जब मूल नायक र मूल नायिका बिचको 
अगाध प्रेम मध्यरातमा झल्किन्छ
रातभर रातभर प्रेमिल यात्रा चलिरहन्छ 
प्रेमान्धताले भरिएर कुनै जुगल निर्णय लिन्छन्
उपन्यासको यो मूलकथाको संरचना,
शृङ्गार रसले सजिएको पाउँछु ।।
 
हरेक भीमकाय पात्रहरू नतमस्तक हुन्छन्,
यिनका सामु लघुशङ्का चुहाउँछन्,
बन्दाबन्दीकै बिच रातारात हनुमान गतिमा
सांसद उठाएर राजधानी छिराउँछन्,
उपन्यासको यो एकाइको संरचना,
वीर रसले गुँथिएको पाउँछु ।।
 
हज्जारौं नागरिकहरूको मृत्युवरणसँगै 
सिंहरदरबारमा शीतल सपनाहरू देखेर बस्छन्
जब चुच्चे नक्साको शानदार फूर्ती एकाएक
भौतिक भूगोलमा र पाठ्यक्रममा निरीहता बनेर सेलाउँछ
उपन्यासको यो हरफको संरचना,
करूण रसले सिञ्चिएको पाउँछु ।।
 
चुनावी बाचाका हरेक बुँदाहरूभित्र,
रेल अनि पानी जहाजका उडन्ते प्रणका हरफहरू हुन्छन्
मानौं कि कुनै हास्यपात्रका चुट्किलाजस्ता
चोकचोकमा नायकका भाषित मन्तव्यहरू सुनिन्छ
उपन्यासको यो दृष्यको संरचना,
हास्य रसले संरचित भएको पाउँछु ।।
 
डबलीको मन्चमा लाल(लाल नेत्र गर्दै 
क्रोधित मुद्रा अनि खलनायकी शैलीमा नायक स्वयम् उभिँदै 
फरक मत राख्नेहरूमाथि बलात् आक्रमणका लागि 
साइबर सेना र अरिङ्गालहरूलाई आदेश दिन्छन् 
उपन्यासको यो भागको संरचना,
रौद्र रसले संगठित भएको पाउँछु ।।
 
एकाएक कुनै पात्र पजनीमा पर्छ, कुनै पात्र अपदस्थमा पर्छ 
मूलपात्रकै रनक, सनक र झनकमा अकल्पित भयङ्कर प्रलय हुन्छ
कुन प्रहरमा आँधी आँउछ, हुरी आउँछ सुइँको पत्तो हुँदैन
कुन बखत कसको घरबास उडाएर लैजान्छ थाहा हुँदैन
उपन्यासको यो परिवेशको संरचना,
भयानक रसले त्रस्त पारेको पाउँछु ।।
 
वर्षौंदेखि तय गरिएका र समयसँगै पूरा भएका स्वप्निल योजनाहरू 
मानौं कि, रातारात यिनैको मायावी कर्मले तमाम भएका हुन् 
बडो गर्वका साथ रिबन काट्छन् र पटाक्षेप गर्छन्
अमूक योजनाहरू जादूमयी ढङ्गले पूरा गर्ने भ्रम छर्दै ढुङ्गा गाड्छन्
उपन्यासको यो खण्डको संरचना,
अद्भूत रसले जेलेको पाउँछु ।।
 
संसद बाहिरै हठात् हठात् कानून जारी गरिएका
घीनलाग्दा दृष्यहरू अनि पात्रहरूको नाङ्गो नाच देखिन्छ
सुनकाण्ड, यति, ओम्नी, सत्तरी करोड आदिजस्ता
अनगिन्ती प्रकरण र भ्रष्ट आचरणले भरिएका पटकथाहरू पढिन्छ
उपन्यासको यो अनुच्छेदको संरचना,
बीभत्स रसले बाँधिएको पाउँछु ।।
 
महामारीको फैलावट र विपत्तिको पीडामा
नागरिक जीवन मूल्यको याचना गरिरहेका हुन्छन्, 
निरीह सरकार अन्यमनस्कतामा घोराउँदै
मूर्दाशान्ति बनेर बालुवाटारमा निदाएको देख्छु,
उपन्यासको यो प्रसङ्गको संरचना,
शान्त रसले भरिएको पाउँछु ।।
 
म सरकारको प्रतिरक्षा गर्न चाहन्छु,
कि कसैले भद्दा सङ्गठन भनोस् 
कि कसैले अप्रासाङ्गिक भनोस्,
या कि कसैले नीरस भनोस्(
सरकारका हरेक पाटा पक्षहरू
लय मिलेका र बान्की मिलेका 
एक सुगठित गाथाहरूजस्तै लाग्छन्
सिलसिलेवार आरोह(अवरोह ल्याउने
एक कथानक प्रेम प्रसङ्गजस्तै लाग्छन्
अनेकन रहस्य र जञ्जालले बुनिएको
एक भव्य अपराध कहानी जस्तै लाग्छन्
र यो सिङ्गो सरकार
साहित्यभित्रका नवैरसले भरिएको 
एक पूर्ण औपन्यासिक कृतिजस्तै लाग्छ ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ