arrow

एमालेको सहमति अझै टाढा

ओलीलाई नेपालको जवाफः महाराजको आममाफी चाहिएन, गुण्डा लगाएर तर्सिनेवाला छैनौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
ko-oli-madhav-nepal1.jpg

काठमाडौं । सत्ताबाट बाहिरिएको नेकपा एमाले भित्रको आन्तरिक विवाद अझै सुल्झिने देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोहोरी चलिरहेको छ । दुई नेताहरुको दोहोरी चलिरहँदा दोस्रो र तेस्रो पुस्ताका नेताहरु भने अझै पनि पार्टी मिलाउने उपायको खोजीमा लागेकै छन् । 

शुक्रबार दिउँसो भीम रावलले राजीनामा फिर्ता गरे । शुक्रबार नै एमाले विवाद निरुपण कार्यदलमा रहेका नेताहरु छलफलमा जुटे । नेपाल पक्षका नेताहरुले रावलसँग र ओली पक्षका नेताहरु विष्णु पौडेलको घरमा बसेर आन्तरिक छलफल गरे । उनीहरुले माधव नेपाललाई तत्कालै पार्टीको दोस्रो अध्यक्ष बनाउने भन्दा पनि नेपाल पक्षका १६ देखि २० जना केन्द्रीय सदस्य बनाउने, स्थायी कमिटी र पोलिटव्यूरोमा केही मानिसहरु थप गर्ने, समानान्तर कमिटीमा रहेका नेताहरुको व्यवस्थापन गर्ने जस्ता विषयमा छलफल गरिरहेका बेला नेपाललाई संसदीय दलको नेता बनाएर जाने विषयमा पनि छलफल अघि बढाएका छन् । यद्यपि नेपाल पक्षका नेताहरुले यो विषय गौण भएको बताउँदै आएका छन् । 

कार्यदलका सदस्यहरुबीच कुराकानी चलिरहेका बेला नेपालले भने पार्टी एकतामा अवरोध आइरहेको बताएका थिए । अविश्वासको खाडल रहेका कारण त्यसलाई पुर्ने समय घर्केको बताएर नेपालले माफी दिने ओलीको राजा महाराजाको शैली आफूहरुलाई मान्य नहुने बताएका थिए । 

बिहीबार नै ओलीले आममाफीको घोषणा गरेर पार्टी एकताप्रति थप लचकता अपनाएको बताएपछि भने नेपालले शुक्रबार ओलीको निरंकुश र हुकुमी शैलीमा सुधार नआएको भन्दै कमीकमजोरीलाई गहिरिएर चिरफारसहित आत्मसमीक्षा गरेको अवस्थामा मात्र पार्टीलाई एकतावद्ध बनाउने प्रयास सफल हुने प्रष्ट्याएका छन् । उनले स्पष्टीकरण सोधिएका आफूसहितका २२ सांसदलाई अध्यक्ष केपी ओलीले राजषी शैलीले आममाफीको घोषणा गरेकोमा व्यंग्यसमेत गरेका थिए ।

 ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरुमाथि जतिलाई स्पष्टिकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ, एमनेस्टि इज ग्यारेण्टेड । महाराजधिराज बोल्नुभएको छ । हामी गदगद भयौं, वाह!!! वाह!!! हाम्रो महाराजधिराज कति खुशी भएछन्, हामीलाई आममाफी दिनेछन्, नाच्नुपर्ने भो, खुशी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसैलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरेँ, त्यो मैले फिर्ता लिएको छु, भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ नेपालले आक्रोशित हुँदै भने । 

४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रमको उत्तराद्धमा निकै कडा रुपमा प्रस्तुत भएका नेपालले एकताका लागि आफूले संयमता अपनाउँदा अपनाउँदै पनि ओलीमा सुधार नदेखिएको बताए । ‘म त मान्छे सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, पुष्पलाल स्मृतिसम्बन्धी चम्पादेवीको कार्यक्रममा मैले मिठो मिठो शब्द मात्र निकालेँ, एउटा शब्द पनि तलमाथि ननिस्क्योस्  भन्ने सोचेँ, छेउँमा बसेका साथीहरुले ईशारा गरिरहनुभएको छ, कमरेड, ख्याल गरेर बोल्नुहोला भनेको छ । ख्याल गरेरै बोलेको छु । यो जिब्रो त्यतिकै चलिरहन्छ । त्यसकारण जिब्रोले बोल्दिहाल्ला कि भन्ने कत्रो चिन्ता छ तैपनि सुध्रने कुरै छैन,’ नेपाल शुक्रबारको कार्यक्रममा निकै कडा रुपमा प्रस्तुत भए ।
 
असार २७ गते राति एमाले विवाद निरुपणका लागि बनेका कार्यदलका सदस्यहरुले १० बूँदे सहमति प्रस्तावमा नेता नेपालले हल्का असहमति रहेको जनाउ दिएका थिए । उनले मेरो अनुपस्थिति र सहमति बेगर जसले हस्ताक्षर गरेको भए पनि त्यो मान्य नहुने र अदालतलाई प्रभावित पार्न नपाइने भन्दै कार्यदलका सदस्यहरुप्रति नै शंका गरेका थिए । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थासम्म आइपुग्दा आफूले कार्यदलमा पठाएका सदस्यहरुको आग्रहलाई अस्वीकार गर्दै आएपछि भीम रावलसमेत नेपालसँग चिसिए । रावललाई फकाउन नेपाल आफै रावल निवास पुग्नुपरेको थियो । 

उता ओलीले पनि बालकोट पुगेर नेपाललाई पार्टीमा कुनै स्थान नभएको र लालगद्धारको घोषणा गरेर १० बुँदे सहमति कार्यान्वयन नहुने संकेत गरेका थिए । यसबीचमा ओली पक्षले बाँदेर जुलुश निकाल्ने र नेपालको पुत्ला बनाएर जलाउने सम्मको काम गरेपछि नेपाल पक्षले आफ्ना समूहबाट अखिल फोर्स बनाउने पिपुल्स भोलिन्टेयर्स बनाउने जस्ता कार्य निरन्तर भए । 

तर ओली पक्षले गत आइतबार राखेको स्थायी कमिटी बैठकबाट भने १० बुँदे अनुमोदन गरेर एकताका लागि थोरै लचकता प्रस्तुत गरेको थियो । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले भने १० बुँदे अनुमोदन पनि गर्ने २२ जना सांसदलाई स्पष्टीकरण पनि सोधेर एकता कठिन मोडमा पुगेको संकेत गरेको थियो । तर त्यसपछिका सबै बैठकमा ओलीलाई पार्टी एकताको लागि दबाब बढ्दै गयो । साथै नेपाल पक्षका ५ र ओली पक्ष ५ गरी १० सदस्यीय टोलीले ६० जना भन्दा बढी समूह बनाएर एकताको दबाब दिने जानकारी दिएपछि ओली–नेपाल दुवै जना दबाबमा परेको महसुस गरेर ओलीले पनि आम माफीको घोषणा गरे । 

नेपाल पक्षका झपट रावल, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, ओली पक्षबाट सूर्य पाठक, कृष्णप्रसाद दाहाल, शान्ति पाख्रिन लगायतका नेताहरुले दबाब अभियाननै शुरु गरेका थिए । त्यसले ओलीलाई दबाबमा राखेको थियो । केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टी मिलाउन आफूले मही पनि मथ्ने बताएका थिए । तर नेपालले  सत्ताच्युतपछि पनि ओलीमा दम्भ र अहंकार उस्तै रहेको भन्दै नेपालले आफूलाई अझै गुण्डा देखाएर तर्साउन खोजेको आरोपसमेत लगाएका छन् ।


‘दिउँसो (बिहीबार) म भक्तपुरमा गएँ । १ हजार १ सदस्यीय पिपुल्स भोलन्टियर्स घोषणामा मैले भने, डनगिरी नसिक्नु, सताउने काम नगर्नु, अनि माधव नेपालको घरको वरिपरि गएर बाँदर जुलुश निकाल्ने बाँदरे प्रवृत्ति नबोक्नु । माधव नेपालको घर छेउँ रिङरोडमा राति १० बजेको समयमा २०–२५ जना पुगेका थिए, उपरखुट्टी लगाएर मोटरसाइकलमा बसेका रहेछन्, माधव नेपाल तर्साउँदा तर्सिने मान्छे हो ? कोही तर्सिनेवाला छैन । हामी विशेष धातुतले बनेका मान्छे हौं । स्टालिनले भनेझैं कम्युनिष्टहरु विशेष धातुले बनेका हुन्छन्, सबैलाई चेतना भया,’ नेपालले भने ।

त्यसपछि उनले आफू सिंगो पार्टी एकता बनाउन लागेको पनि बताउन भ्याए  ‘हामी सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौं । सिंगै पार्टी एकताबद्ध हुन सक्दैन भने सहकार्य गरेर जान चाहन्छौं । मतभिन्नताका बीचमा पनि एकताको सम्भावनाको खोजी गर्छौं’ नेपालले भने,‘ राष्टियता, लोकतन्त्र, जनजीविका, सुशासन, विकास निर्माण र भ्रष्टाचार लगायतका  विषयमा हामी सँगसँगै कार्यगत एकता गरेर जान सक्छौं, आन्दोलनलाई त्यसरी पनि लैजानुपर्ने आवश्यकता छ ।’ 

आरोप प्रत्यारोप जारी रहँदा ओलीले आफू हदैसम्मको लचकता अपनाएको र जसरी भए पनि पार्टी मिलाउने अभियानमा लागेको बताएका छन् । उनले नेपाल पक्षका नेता रावललाई पनि पार्टी मिलाउन र नेपाललाई सहमतिमा ल्याउन आग्रह गरिरहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ