arrow

जसले लेखे 'म्याउँ म्याउँ बिरालो' उनैको नाम छैन !

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन १२ मंगलबार
deepak-soti.jpg

कावासोती । आफ्नो सन्तानलाई आफ्नै भन्न पनि आमालाई प्रमाण जुटाउन पर्‍यो भने आमाको मनमा के होला ? हो यस्तै बिलखबन्दमा बाँधिएका छन् यति बेला कवि दीपक सोती । उमेरले ७३ लागेका कवि सोतीले आफ्नो ७३ औँ जन्मदिन मनाउँदै गर्दा भने “मैले जन्माएको म्याउँ म्याउँ बिरालोलाई यति बेला मेरै हो भनेर प्रमाण जुटाउनु पर्ने बेला आएको छ ।”

कवि दीपक सोतीको रचना रहेको नेपाली जनजिब्रोमा झुन्डिएको बाल गीत “ म्याउँ म्याउँ  बिरालो यता तिर आऊ” वि.स २०२८ मा रत्न रेकर्डिङ स्टुडियोमा भैरवबहादुरको सङ्गीत र उनकी छोरी सङ्गीता थापाको स्वरमा गीत रेकर्ड भएको थियो । गीत रेकर्डिङको कुरा सम्झिँदै सोतीले भने “ लमजुङबाट ५ दिन हिँडेर काठमाडौँ पुगे पछि पशुपतिमा  भेटिनु भएका प्रज्ञा प्रतिष्ठानका सदस्य कवि श्यामदास वैष्णवसँग डिल्लीबजार पुगियो, चिया खादै गर्दा उहाँले मेरो म्याउँ म्याउँ बिरालो कविता हेर्नुभयो , उहाँले त्यति नै बेला यसलाई रेकर्ड गर्नुपर्छ भन्नुभयो र स्व. भैरव बहादुर थापासँग भेट गराउनु भयो, भैरव बहादुरको सङ्गीत र उहाँकी  सानी छोरी सङ्गीता थापाले यो गीत गाइन् । गीत रेकर्ड भएका  दिन मैले ८५ रुपैयाँ पारिश्रमिक पाएको थिएँ ।”

वि.स २०२८ सालमा उक्त गीत रत्न रेकर्डिङको ८१ नम्बरमा दर्ता भएको सोतीलाई सम्झना छ । गीत रेकर्ड भए पछि सोतीले खासै वास्ता राखेनन्, त्यति बेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोहरूबाट पनि बजेको भने उनलाई सम्झना छ । “सुरु सुरुमा गीतको चासो त्यति राखिन तर विगत ३३ वर्ष देखि गीतको खोजी गरेको छु तर अत्तोपत्तो छैन,” सोतीले भने । “पछि त यही गीत मेरो नाम नराखी पाठ्यपुस्तकमा पनि छापिएर आएछ, थाहा पाउँदा दुख लाग्यो,” सोतीले भने ।

गीत पाठ्यपुस्तकमा बिना नाम छापिएर आए पछि कवि सोतीले तत्कालीन शिक्षा सहायक मन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठ्यपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गरेको  बताए । “शिक्षा सहायक मन्त्रीलाई पनि भेटेर आग्रह गरे तर आन्दोलनको समय थियो त्यो पनि त्यतिकै भयो,” सोतीले भने । पछि आफ्नो नाम नराखी पाठ्यपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले झगडा समेत गरेको सोती सम्झन्छन् । एकता प्रकाशनमा पुगेर झगडा गरे पछि नाम राखिदिने आश्वासन पाएका सोतीलाई त्यो बेला पारिश्रमिक स्वरूप  दुई हजार प्रकाशनले दिएको उनी बताउँछन् । “नाम त हालेनन् हालेनन् झन् सम्पादन गर्दा गीत नै बिगारी दिएछन्,” सोतीले दुखेसो पोखे । अहिले त झन् युटयुवमा त गीत नै बिगारेर आएको देख्दा सोतीले दुखेसो पोख्दै भने “हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन् ।”

आफू सँग भएको गीतको क्यासेट पोखरामा डेरा सर्ने क्रममा फुटे पछि  गीतको खोजीमा ३३ वर्ष देखि रेडियो नेपाल र नेपाल टेलिभिजन धाई रहेको सोती बताउँछन् ।

 रेडियो नेपालका उपनिर्देशक समेत रहेका साहित्यकार नवराज लम्सालले पनि त्यो गीत कवि सोतीकै भएको बताए । “२०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेटहरू फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दै छौँ, भेट्न साथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ,” लम्सालले भने ।

कवि सोतीले आफूले व्यक्तिगत रूपमा भेटेर दीपक जङ्गम, ललिजन रावल, नवराज लम्साल लगाएकालाई गीत खोज्न आग्रह समेत गरेको बताए ।

उमेरले ७३ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बुढो भए पनि हिम्मत हारेको छैन, एक पटक फेरी काठमार्डौ जान्छु, आफ्नो सन्तानको माया कस्लाई पो हुन्न र,” सोतीले भने ।

 कवि सोतीको त्यो गीत
म्याउँ म्याउँ बिरालो यतातिर आऊ
मेरो नाना काटी गर्ने मुसा मारी खाऊ
कराइको  दूध   खाइदेऊ भने
म त भोकै हुन्छु, नखाइदेऊ भन्छु
बाबा भन्छिन् खाली बुबु चोर्न जाली
आमा भन्छिन् चोर्ली भाडाहरू फोर्ली
बुबु चोर्‍यो भने लट्ठीले म हान्छु
नआइज न यता चोर्नै म्याउँ भन्छु

 वि.स  २००६ सालमा लमजुङको कुन्छामा जन्मिएका सोतीको अहिले स्थायी रूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्छन् । वि.स २०२१ मा नरोक मलाई कविता  लेखेर दोस्रो स्थान हासिल गरेका सोती अनवरत रूपमा नेपाली साहित्य सिर्जनामा लागेका छन् । २०२८ सालमा लमजुङको कुन्छा साहित्य  परिषद्को अध्यक्षदेखि , २०३८ मा मकवानपुर साहित्य परिषद् हेटौँडाको संस्थापक उपाध्यक्ष,  २०४६ सालमा युवा साहित्य सदन पोखराको संस्थापक सचिव समेत भएका कवि सोतीको  ‘मेरी  मर्स्याङ्दी’ कविता सङ्ग्रह(२०२८),  ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह(२०३०), ‘जगदम्बा’  काव्य(२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन  कविता सङ्ग्रह(२०६७) फुल्न नसकेका फुलहरू (२०७८) र थुप्रै फुटकर कविताहरू प्रकाशित भएका छन् ।



नयाँ