arrow

प्रवासको प्रभावः बैदेशीक रोजगारिको असर नेपाली समाजमा

logo
जनक पाण्डे,
प्रकाशित २०७३ असार २७ सोमबार
janak-pandey.jpg.jpeg
अपरान्हको समय; सूर्यास्त संगै गोधुली हुँदैछ । गाडिहरु एकपछि अर्को गर्दै आउँदैछन् । एकैछिनमा हेर्दाहेर्दै १ सय भन्दा बढि गाडिहरु (लरिट्रक) जम्मा भईसके कम्पनिको परिसरमा । श्रमिकहरुलाई पानीको जार गाडिमा लोड गर्न भ्याई–नभ्याई छ । यतिबेला यहाँ सबैलाई कामकै हतारो देखिन्छ । मानौ; भोली बिहान फजिरैदेखि यहाँ रोपाइँको चटारो छ ।
 
यो दृश्य हो दुबईको दुरदराजमा रहेको यूएइकै बिकाशमा पनि कान्छो स्टेटको रुपमा चिनिने उम्अल–क्वायनमा अवस्थित एक पानी कम्पनि अल–फलाजको । बिभिन्न देशका गरेर झण्डै ३ सय श्रमिक काम गर्छन यहाँ । ति मध्ये ९० जना नेपाली श्रमिकहरु रहेका छन् । ग्रामिण परिवेशको सरल सामाजिक ब्यवहारमा रमाउँदै दैनिक दुबईको ब्यस्त बजारसँग पानीको साईनो लगाउनु यी नेपाली श्रमिकहरुको दिनचर्या पनि हो । पानी प्रशोधन प्लान्टदेखि शुद्धता मापन हँुदै बितरणसम्म यहाँ नेपाली श्रमिकले जिम्मेवारी पाएको श्रमिकहरु बताउँछन् । आफुहरु यहाँ शुद्ध पानी उत्पादन र बितरण गर्ने तर आफ्नै नेपालीजनले जीबनको पर्याय बनेको शुद्ध पानी पिउन नपाउँदा भने उनिहरुको चित्त दुखाई पनि छ सरकारप्रति । 
 
यहाँ कार्यरत अधिकांश श्रमिकको १ दशक बितिसकेको छ, यो कम्पनिसंग साईनो जोडिएको । पानीबाटै आफ्नो भविश्य जोड्ने आसैआसमा १२ वर्ष बितेको पत्तो छैन ईटहरा–२, मोरङ्गका ३३ बर्षिय बिकाश बस्नेतलाई । बोल्दा मुसुक्क हाँस्ने स्वभावका बिकाशले फेरिपनि लामो समयसम्म परदेश बस्नमा आफुहरुको दोष नभएको भन्दै सरकार लाइनै दोष लगाईहाल्न भ्याए । आफ्नो समाज र घर–परीवार छोडेर टाढा बस्नु बाध्यता बनेको अर्का १२ बर्ष प्रवास भोगेका बुटवलका, ३७ बर्षिय बालकृष्ण भट्टराई सुनाउँछन् ।
 
यसरी प्रबासमा लामो समय बिताउने बिकाश र बालकृष्ण त हाम्रा प्रतिनिधिपात्र मात्र हुन । तिर्खाएको मृगले पानी खोज्दा खोज्दै दिग्भ्रमित भई क्षितिज तर्फ दौडिरहे जस्तो आसैआसमा प्रवास भोग्दै एक यूग (जूग) बितेको पत्तो नपाउने धेरै छन् यहाँ । यूएईमा एक दशक माथि प्रबासी जीबन बिताउनेहरु २० प्रतिशत माथि रहेको हुनसक्ने; बिगत ८ बर्षदेखि दुबईमा कार्यरत पथरी–मोरंग समाज, यूएईका अध्यक्ष कृष्ण पौडेलको भनाई छ । यो युएईमा रहेको रहेको कुल श्रमिक संख्या ४ लाखमध्येको ८० हजार हुन आउँछ । यो तथ्यमा आधारित भएर सामान्यीकरण गर्दापनि हाम्रो प्रवासको लामो बसाईले गर्दा ठूलो संख्यामा हाम्रा समाज र परिबार कुनै न कुनै रुपमा प्रभाबित भएको हुन सक्ने; समाजका अध्यक्ष पौडेल बताउँछन् ।
 
अर्थशास्त्रिय सिद्धान्तमा पनि बिभिन्न समय अन्तराल संगै नयाँ–नयाँ मानबिय आबश्यकताहरुको जन्म हुन्छ । ति मध्ये कुनै दोहोरिन्छन पनि । यहि पारिवारिक आवश्यकता परिपूर्ति गर्ने कर्तब्यपथमा लाग्दालाग्दै आम प्रवासीको प्रवास बसाई लम्बिदै गईरहेको दृष्टान्त हो यो । यसरी जिबनका उर्वर पल प्रवासमै बिताउँदा परिबारसँगको कम भेटघाट, श्रीमतीसँग न्यून सम्पर्क र लामो समयसम्म भटेघाट कम हुँदा आफ्नै सन्तानमा पनि बाबु–आमाप्रति आफ्नोपनको महशुसमा कमि हुनु जस्ता कुराले थप सामाजिक बिचलनहरु निम्तिरहेका छन् ।
 
बिषेशतः बैवाहिक जिबनमा परेको यसको प्रभाबले समाजमा सम्बन्धबिच्छेदका घटनाहरुलाई बढावा दिईरहेको छ । हालसालै मिडीयाले सार्बजनिक गरेको पाँचथर जिल्लाको सम्बन्ध बिच्छेदको मुद्धाहरुलाई नमुनाको रुपमा हेर्दापनि यो दर बढेको देखिन्छ । आर्थिक बर्ष ०७०/७१ मा ५६ वटा सम्वन्ध बिच्छेदका मुद्धा पाँचथर जिल्ला अदालतमा दर्ता भएकामा यो संख्या बढेर आर्थिक बर्ष ०७१/७२ मा ६९ वटा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै आर्थिक बर्ष ०७२/७३ मा यो संख्यामा अझ बृद्धिभई ७८ मा पुगेको देखाउनुले समाजमा प्रत्येक बर्ष सम्बन्ध बिच्छेदका घटना बढिरहेको बुझ्न सकिन्छ ।
 
प्रबासको लामो बसाइले यूवाहरुको सामाजिक भूमिकामा कटौति भइरहको छ । उनिहरु  सामाजिक उत्सब, धर्म–संस्कृति, परम्परा र रितिरिवाज– बिवाह, जन्म र मृत्यू संस्कारमा भागलिन असमर्थ हुँदा समग्र सामाजिक प्रणालिमा नै असर परिरहेको छ । गाउँमा यूवाहरु नहुँदा प्रत्येक गाउँ सुन्य बन्दै गइरहेको छ । यसले सामाजिक बिपद– आगजनि, बाढी, पहिरो, भूकम्म, महामारि र दुर्घटना जस्तो संबेदनशील समयमा तत्काल यूवा नहुँदा स्थानिय स्तरमा बिपद ब्यवस्थापनमा समस्या पर्ने गरेको छ । प्रौढ, महिला र बाल–बालिकाले मात्र यो समाज धान्नुपर्ने स्थिति प्रत्येक गाउँ ठाउँको बिडम्बना बनेको छ अहिले । खास गरेर, मृत्यू संस्कारमा महिलाको मात्र सहभागिता रहेका समाचारहरु बाहिर आएको हामीले सुनिसकेका छौ । यसले पुरुषहरुको परिवार र समाजप्रतिको दायित्व बोधलाई अर्थोपार्जनको रुपमा मात्र संकुचित परिभाषित गरिदिएको छ ।
 
एकातिर परिवारको मुल सदस्य अभिभावक  परदेशमा हुँदा सन्तानहरु मार्गनिर्देशकको अभावमा गलत बाटोमा हिड्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । आधुनिकताको नाममा आफ्ना सन्तानहरु खराब संगतमा पर्दा कुलतमा फँस्ने, सामाजिक मूल्य–मान्यता र कानुन बिपरित अपरिपक्व उमेरमै आफुखुसि बिवाह गर्ने जस्ता समस्याले समाजलाई जकडेको नै छ । त्यस्तै अर्कातिर; अभिभावकहरु घरमा नहुँदा सामाजिक सुरक्षा समेत प्रभावित बन्न सक्छ । फलस्वरुप समाजमा चोरी, हत्या–हिंसा र बलात्कार जस्ता अपराधका घटनाहरु हुनसक्ने सम्भावना रहन्छ ।  
 
आज हामी ४० लाख नेपाली मुलुक बाहिर बिश्वको बिभिन्न भूगोलमा बस्दै आएका छौं । यो बसाईसँगै हामी बाहय संस्कृतिसँग पनि अभ्यस्त हुनेहुँदा सास्कृतिक प्रसारबाट हुने नकारात्मक प्रभाव सिधा हाम्रा मौलिक कला र संस्कृतिको विरुद्धमा पर्ने खतरा पनि रहन्छ । यतिबेला संस्कृति र सामाजिक कृयाकलापको प्रसारको पाटोलाई हेर्दा हाम्रा संस्कारमा सकारात्मक भन्दा बढि नकारात्मक प्रबृतिले चाडो समाजलाई असर गर्ने गरेको छ । संस्कृतिसंगै प्रसारित सामाजिक कृयाकलापले अन्ततः हाम्रो नेपाली मौलिकपनमा नै बिचलन नआउला भन्न सकिन्न । तसर्थ; यस सन्दर्भमा अहिलेनै हामीले सामाजिक–सास्कृतिक अस्तित्व र पहिचान माथि पनि बिचार राख्नु यूक्तिसंगत ठहरिएला 
 
एकातिर सामाजिक र पारिबारीक बिग्रहको कारक बन्दै गईरहेको परदेशको रोजगारले मुख्य रुपमा बैवाहिक जिबनलाई बेथितिमा पुर्याइदिएको छ नै । अर्कातिर देशको शतिmस्रोत यूवा शक्ति बिदेश पलायन हुदा राज्यको सर्वाङ्गिण बिकासका लागि यूवाको अभाव खड्किएको छ । तिनै यूवाको योगदानबाट र्ईतिहासका बिभिन्न कालखण्ड पारगर्दै अहिले हामी स्थिर राजनीतिको अवस्थामा आईपूगेका छौं । जनताको आफ्नै संविधान आएको छ, जसले सबैलाई सार्वभौम शक्ति सम्पन्न बनाएको छ । अनिफेरी आर्थिक बिकास गर्ने पालोमा राज्यले यूवालाई झोला बोकाएर बिदेशिन बाध्य बनाउनु कतिको तर्कसंगत रहला ? बिदेशबाट आउने रेमिट्यान्सले राज्यलाई तत्कालिन रुपमा आर्थिक सहायता मिलेपनि यो नै आर्थिक बिकासका लागी दिर्घकालिन समाधान भने हुन सक्दैन ।   
(janakpandey24@gmail.com)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ