arrow

टिप्पणी

प्रचण्ड, नेपाल र ओलीको वरपर घुमिरहेको राजनीति र लोकतन्त्रमाथि प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
ncp-oli-nepal-prachanda.jpg

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहको बैठक बस्ने सूचना सार्वजनिक भएसँगै नेकपा एमाले केपी ओली समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको कुनै पनि बैठक नरहेको बताएको छ। नेपाल पक्षले केन्द्रीय कमिटी बैठक प्रति ओलीले विज्ञप्ति निकालेर काउण्टर दिएका छन्।

'नेपाल कम्युनिस्ट पार्टी(एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु,' विज्ञप्तिमा भनिएको छ, 'पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत हुने भएकोले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरूमा अपिल गर्दछ।' नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको वक्तव्यमा उल्लेख छ।  

पार्टी एकताको कुरालाई लिएर एमालेमा निकै कसरतहरू भइरहेका छन्। उक्त एकतामा दोस्रो तहका नेताहरू लागेका भए पनि दुई शीर्ष नेताहरूलाई मिलाउन नसक्दा एमाले  पार्टी र नेता-कार्यकर्ताहरू अन्योलमा रहेका छन्। ओली र नेपाललाई मिलाउने कार्यमा खटिएका दोस्रो तहका नेताहरू दिक्क हुन थालेको बताइएको छ। 

पार्टीमा सम्मानजनक अवस्थाका लागि नेता नेपालले कानुनी हस्ताक्षर चल्ने गरी बराबरी अधिकार मागेका छन् । तर त्यो हस्ताक्षर भन्दा पनि नेपाल पक्षका नेताहरू भने दोस्रो अध्यक्ष बनाउनुपर्नेमा जोड गरिरहेका छन् । हस्ताक्षरको खास अर्थ नहुने भएकाले दोस्रो अध्यक्ष नै रहनुपर्ने नेपाल पक्षका नेताहरूको भनाई छ । तर माधव नेपालले भने दोस्रो बन्न मानेका छैनन् । उनले विधान बमोजिम नै अघि बढौँ भनिरहेका छन् । 

अर्कोतिर शेरबहादुर देउवालाई सरकार बनाउन सहयोग गरेका नेपाल पक्षलाई सरकारमा सहभागी हुनका लागि पनि प्रचण्डले दबाब दिइरहेका छन्। उनी सत्तारुढ गठबन्धनमा कम्युनिष्ट विचारधारा राख्नेको बहुमत होस् भन्ने चाहन्छन्। प्रचण्डको नेपाल पक्षलाई सरकारमा ल्याउने दौडधुप हेर्दा उनी कम्युनिष्ट अलायन्स बनाएर सरकार र राजनीतिमा शक्तिशाली हुन चाहन्छन्। 

नेपाल पक्षले सरकारमा आउन चार दिनको समय मागे पछि उसको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने छलफल हुनेछ। सरकार केन्द्रित बैठकले निर्णय गरेपछि देउवा सरकारले पूर्णता पाउने बाटो खुल्नेछ। 

नेपाल पक्षले आफ्नो धारणा प्रष्ट पारेपछि मन्त्रालय भागबण्डाको कुरा पनि टुङ्गो लाग्ने छ। 

यसरी सरसरती हेर्दा पछिल्लो समय माधव नेपालकै वरपर राजनीति घुमिरहेको छ। उनी राजनीतिका पुराना खेलाडी हुन् र उनका पछिल्ला राजनीतिक गतिविधि हेर्दा उनी चतुर एवं सही समयमा सही चाल चल्ने खेलाडीका रूपमा स्थापित भएका छन्। उनको अबको चालले नेपाली राजनीतिको दिशानिर्देश गर्नेछ। 

नेपाली राजनीतिले आफ्नो लय समात्नका लागि केही समय लाग्ने देखिन्छ। पछिल्लो समय राजनीति प्रचण्ड, नेपाल र ओलीको वरपर घुमिरहेको छ। कहिले प्रचण्ड-ओली एक हुन्छन् भने कहिले प्रचण्ड-नेपाल । यसरी आपसी द्वन्द्वमा रुमलिरहेका नेताहरूको स्थिति हेर्दा फेरि नयाँ समीकरण बने पनि कसैलाई अचम्म लाग्ने छैन। 

तीन नेताहरूको वरपर घुमेको राजनीतिले लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको छ। जनताहरूले लोकतन्त्र भनेकै यस्तै झगडा गर्ने व्यवस्था हो भनेर प्रश्न गर्न थालेका छन्। यसरी प्रश्नहरू उठ्दा उत्तर दिनु लोकतन्त्रको सुन्दरता हो तर कुनै पनि नेता यो प्रश्नको उत्तर दिने मुडमा देखिँदैनन्। सबैलाई आफ्नो स्थान सुरक्षित गर्नु छ । यही सुरक्षित स्थानको खोजीमा लोकतन्त्र धरापमा नपरोस्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ