arrow

गुरुको करुणा

कसरी ईश्वर दर्शन गर्न सकुँला 

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ साउन २१ बिहिबार
ramkrishna-vevekananda.jpg

एक पटक श्री रामकृष्ण परमहंसलाई उहाँको एक चेलाले गुरु, म कसरी ईश्वर दर्शन गर्न सकुँला भन्ने जिज्ञासा राखे । उहाँले चेलालाई ल त म सँग आऊ म तिमीलाई देखाइदिन्छु भनेर साथमा लैजानुभयो । 

उहाँ तालको किनारामा पुग्नुभयो र चेलालाई पनि लिएर पानीमा पस्नु भयो । अकस्मात् उहाँको हात चेलाको टाउकोमा पर्‍यो र टाउको पानी भित्र डुब्यो । केही समयपछि चेलाले आफ्नो टाउको पानीबाट बाहिर झिक्यो । टाउको पानीबाट बाहिर आएपछि गुरुले चेलालाई कस्तो अनुभूति भयो त? भन्ने प्रश्न गर्नुभयो । 

चेलाले जवाफ दियो, मलाई लागेको थियो म निसास्सिएर मर्नेछु । म श्वास फेर्न कठिनाइ अनुभव गरिरहेको थिएँ । गुरुले उनलाई भन्नुभयो, हो, त्यसै गरी जब तिमी म त ईश्वर दर्शन गरुँला जस्तो लागेको छ भनेर उहाँप्रति नै डुबिरहेका हुन्छौ तब तिमीले ईश्वर दर्शन पाउने छौँ  ।
 
उहाँ चेलाहरूलाई भन्नुहुन्थ्यो, बाहिरबाट मात्र ईश्वर चाहेर हुँदैन । उनकै खोजमा डुब्दै जानुपर्छ । जसरी समुद्र भित्र डुबेर खोजे मात्र मोती पाइन्छ त्यसरी नै उनकै खोजीमा डुब अनि पाउँछौ, जसरी चास्नीले भरिएको कचौरामा झिँगा टाँसिन जान्छ, त्यसरी नै परमात्मामै टाँसिएर आफ्नो कर्तव्य गर्दै जाऊ,  उनले दर्शन दिन्छन् । 

चेलाले उहाँलाई गुरु, झिँगा त टाँसिएरै त्यसैमा ज्यान फाल्छ नि त ? भन्ने प्रश्न गरे । उनलाई उहाँले सञ्चितानन्द स्वरूप परमात्माको अमृतको कचौरा त्यस्तो होइन, त्यसमा डुबे मात्र चाहिने वस्तु पाइन्छ । 

श्री रामकृष्णका एक चेलालाई खटिरा आएको थियो । उनी श्री रामकृष्णको दर्शन गर्न चार पाँच दिन आउन सकेका थिएनन् । उनले गुरुको दर्शन पाउनका लागि आतुर भएको खबर पठाएपछि गुरु आइपुग्नुभयो । उनले गुरुलाई मलाई हजुरको पाउको धूलो घाउमा लगाउन पाए खटिरा निको हुने थियो भने । 

गुरुले ल त धूलो लगाऊ भन्नुभयो । उनले गुरुलाई खटिराको उपचार त चिकित्सकले गरी हाल्छ, मलाई त्यो धूलो होइन, भवसागर पार हुने धूलोको आवश्यकता परेको छ भने । उनको यस्तो जवाफ सुनेपछि उहाँ भाव विह्वल भएर समाधिमा मग्न हुनुभयो । ती बिरामी भक्तले गुरुको करुणा पाएर आफूलाई धन्य सम्झे  ।

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com
 



नयाँ