arrow

काठमाडौँमा नाम मात्रैको निषेधाज्ञा : जता हेर्‍यो उतै भीड

सरकारी अव्यवस्थाको पराकाष्ठा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
pashupatinath-bhid.jpg

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएयता अर्थात् १६ वैशाख २०७८ बाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा निरन्तर छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप गरेको निषेधाज्ञा आदेश पनि ८ भदौसम्म कायम छ । तर उपत्यकामा पटक पटक थपिएका निषेधाज्ञा आदेश भने नाम मात्रैको भएको छ । आज बिहान पशुपतिनाथ मन्दिरमा देखिएको दर्शनार्थीको अचाक्ली भीड त्यस्तै थियो । कुनै मेला तथा उत्सव भन्दा कम नलाग्ने पशुपतिनाथको आज बिहानको दृश्यले कोरोनालाई नै गिज्याइ रहेको भान हुन्थ्यो । 

पशुपति नाथमा मात्रै होइन पछिल्लो समय सरकारी अड्डाहरूमा पनि सर्वसाधारणको भीड बढ्न थालेको छ । चाहे कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्र होस चाहे खोप लगाइसकेपछि प्रमाणीकरणको कागजात लिनका लागि होस सर्वसाधारण भिडभाडकै बिचमा छन् । सरकारी स्तरबाट समेत भीड नियन्त्रण र जनताको सुविधामुखी सेवा प्रवाह भएको पाइँदैन । यसै गरी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभाग होस् या त घर जग्गाको कारोबार हुने निकाय नापी मालपोतमा नै होस सर्वसाधारणको भीड बढ्ने र दुःख पाउने क्रम सुरु भइसकेको छ । यसै गरी सार्वजनिक सवारी साधनमा समेत सर्वसाधारणको चाँप बढ्न थालेको छ भने होटेल तथा रेष्टुरेण्टहरुमा समेत स्वास्थ्य सुरक्षाको पालना भएको देखिन छाडेको छ । 

काठमाडौँका मुख्य बजारहरूमा पनि सर्वसाधारणको भीड बढ्दै गएको छ । असन, इन्द्रचोक, महाबौद्ध, चाबहिल, कोटेश्वर, कलङ्की, कालीमाटी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रमा बिहान र बेलुकी सर्वसाधारणको बाक्लो उपस्थिति रहने गरेको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने सरकारी स्तरबाट निषेधाज्ञाको पालनामा कडाइ गरिएको र पालना भए नभएको अनुगमनसमेत गर्दै आइएको बताउँछन् ।  ‘प्रशासन कार्यालयले सहायक प्रजिअको नेतृत्वमा निषेधाज्ञाको आदेश पालना भए नभएको अनुगमन गर्दै आइरहेको छ, आम सर्वसाधारणलाई निषेधाज्ञाको आदेश पालना गराउने सन्दर्भमा सचेतनात्मक काम पनि जारी राखिएको छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । 

तर स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरू भने सरकारी सेवा प्रवाहमा नै त्रुटि औँल्याउँछन् । ‘सरकारले दिने सेवा प्रवाह महामारी मैत्री छैन, सेवा प्रवाहमा हुने भिडभाडमा पनि समाधान देखाउनु पर्छ, सरकारको सेवा प्रवाहको अवस्था नै महामारी बढाउने किसिमको छ,’ एक स्वास्थ्यसँग सम्बन्धित विज्ञले भने । 

स्वास्थ्यसँग सम्बन्धित निकायले भने काठमाडौँ उपत्यकालाई कोरोनाको ‘रेड जोन’मा राखिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ हजार ५७९, ललितपुरमा १ हजार ३१९ र भक्तपुरमा १ हजार ९१८ सक्रिय सङ्क्रमित छन् । काठमाडौँमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई सङ्क्रमण पुष्टि हुन थालेको छ । 

कोरोना सङ्क्रमणको गति बढ्दै जाँदा काठमाडौँ उपत्यकाका निजी तथा सरकारी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरूसमेत बढ्न थालिसकेका छन् भने सङ्क्रमितको सङ्ख्यासँगै मृत्युदरसमेत बढ्दै जान थालेको छ ।  हाल काठमाडौँ प्रशासनले राती ८ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातीको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको बताएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । यो परीक्षण हेर्दा प्रत्येक चार जनामा एक लाई सङ्क्रमण पुष्टि भइरहेको छ । परीक्षणका क्रममा काठमाडौँ उपत्यकालगायत ठुला सहरमा दैनिक २० देखि २५ प्रतिशतसम्म सङ्क्रमण पुष्टि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ