arrow

कुरा रामकुमारीका

रामकुमारी झाँक्री : भरोसायोग्य सारथी

माधव नेपालको आँट र भरोसाको पर्याय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
ramkumari-jhakri2.jpg

काठमाडौं । एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई रामकमारी झाँक्रीले हातमा समाएर आयोगभित्र लगेको तस्वीरले निकै चर्चा पायो। मुलधारका सबै मिडियाले उनको सो तस्वीरलाई प्रमुखताका साख स्थान दिए।

आफ्नै समूहभित्रका प्रभावशाली नेताहरुले नेपाललाई साथ नदिएका बेला झाक्रीले निरन्तर नेपाललाई साथ मात्रै दिइनन निर्वाचन आयोगसम्म नै पुगेर हातमा समाएर भित्र लैजाने काम गरिन। माधव नेपाल भन्दा थोरै अघि गाडीबाट ओर्लेका राजेन्द्र पाण्डेले नेपाललाई बाटो देखाउदै गर्दा पछिल्लो गाडीबाट आयोग आइपुगेकी झाक्रीले हातमै समातेर लगिन। उनले जे गरिन त्यसपछि माधव नेपालले समेत ढाडस महुशस गरेका थिए।

२०५४ सालमा पार्टी विभाजनका बेला वामदेव गौतमलाई योगेश भट्टराई र रुपनारायण श्रेष्ठले यसैगरी साथ दिएका थिए । छैठौ महाधिवेशनको क्रममा भट्टराई र श्रेष्ठलाई कारवाही गरेपछि पार्टी विभाजनकै तहमा पुगेको थियो । त्यतिबेला नयाँ दल बनाउनुपर्छ भनेर सक्रिय भूमिका खेलेका उनीहरु पछि पार्टीभित्र प्रभावशाली बन्दै गए ।

घनश्याम भूषाल मालेबाटै आएर उपमहासचिव भए भने योगेश भट्टराई एमालेको सचिव भए । अहिले पनि नयाँ दल दर्ता गर्नुअघिसम्म घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भिम रावल, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रघु पन्त, विष्णु रिजाल लगायतले साथ दिएका थिए । तर उनीहरु पार्टीविभाजनका लागि तयार भएनन । जब माधव नेपालले पार्टी विभाजनको तयारी गरे त्यतिबेला उनीहरु लाखापाखा लागे । झाक्री भने माधव नेपालको पक्षमा चट्टाने अडान लिएर उभिइन् । धेरै हस्तीहरुले माधव नेपालको साथ छाड्दा उनले छाडिनन् । नीलो पोशाकमा निर्वाचन आयोग पुगेकी रामकुमारी झाँक्रीले माधव नेपालको हात समाएर तान्दा धेरैको ध्यान आकर्षित भएको थियो ।

No description available.

एमालेमा नेपाल समूहमा लागेकी झाक्री भूषाल-भट्टराई नजिक रहेकी नेतृ हुन् । मालेबाट सँगै एमाले प्रवेश गरेकी झाक्रि अनेरास्ववियूको पोखरा राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएपछि चर्चामा आएकी थिएन । २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा-महाधिवेशनबाट उनी अध्यक्ष भएपछि उनी केही समय राजनीतिबाट टाढा भएकी थिइन्।

त्यो भन्दा अघि २०६२/०६३को जनआन्दोलनमा प्रहरीको कुटाईबाट टाउको फूट्दा उनी निकै चर्चामा आएकी थिइन । त्यही तस्वीरले उनलाई विद्यार्थी आन्दोलन र पार्टीमा स्थापित गर्यो । पार्टीको नेतृत्व सडकमा नआउदा उनी सडकमा रहेकी थिइन ।  ‘यो गणतन्त्र हामीले रगत बगाएर ल्याएको हो यसमा हाम्रो रगत मिसिएको छ’, बेलाबेलामा झाक्रीले भन्ने गरेकी छिन् ।

पुस ५ गते केपी शर्मा ओलीले प्रतिनीधि सभा विघठन गरेपछि उनी दाहाल-नेपाल समूहमा लागेकी थिइन । विघटनविरुद्ध काठमाडौंमा विशाल सभाको आयोजना गरेका बेला सभामा वक्ताको रुपमा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्दै गर्दा फरक दृश्य देखिएको थियो । उनी प्रतिगमन मुर्दावाद लेखिएको ज्याकेट लगाएर स्टेजमा चढेकी थिईन् । उद्घोषक लिलामणि पोखरेलले वक्ताको रुपमा झाँक्रीलाई बोलाएपछि उनी माईकमा नपुग्दै कालो ज्याकेट फ्याँकेकी थिईन् । र, सम्बोधन गर्नुभन्दा पहिले मास्क खोल्दै मुखमा टाँसिएको कालो टेप पनि खोलेर फ्याँकेकी थिईन् । र, उनले सम्बोधनको सुरुमा भनेकी थिइन-‘बोल्न पाईन्छ ’ । त्यतिबेला झाक्रीलाई प्रहरीले खोजी गरिरहेको थियो । त्यसकै भोलिपल्ट प्रहरीले राष्ट्रपतिविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा गोरखामा आयोजित एउटा कार्यक्रममा नेकपा नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’को उपमा दिँदै भनिन्, ‘म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु- निर्वाचनको तयारीका लागि कार्गेट, सुखसुविधा, ऐशआराम, शितल निवास छोडेर पहिले कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कतातिर बसाईँ छ भन्ने सुनेको छु । हैन भने बालकोट नै गए पनि हुन्छ ।’ उनको यही भनाईले उनलाई प्रहरीसम्म पुर्याएको थियो ।

यसैगरी पटक-पटक चर्चामा आएकी नेतृ झाक्री त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारको चर्को आलोचना गर्दै आएकी थिइन । असार २८ गते नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले कार्यदलले गरेको १० बुँदे सहमतिलाई स्वागत गर्न हतार नगर्न नेताहरुलाई सुझाएकी थिइन । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेकी थिइन् ।

साउन २३ गते नेपाल समूहले आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा भीम रावलसँग झाक्रीले विभिन्न प्रश्न उठाउदै सवाल जवाफ गरेकी थिइन । बैठकमा रावलले ओलीलाई गाली गर्न थालेपछि झाँक्रीले यही कुरा ओलीसँग गएर बोल्न सक्नुहुन्छ ? यहाँ एउटा कुरा गर्ने, ओलीसँग पुगेपछि भतक्कै गल्ने हाम्रा नेताहरुको बानीले समुहलाई धोका दिने काम भएको भन्दै रावललाई गालेकी थिइन । ‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ? यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ रु मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’ झाँक्रीले रावलमाथी आक्रोस पोखेकी  थिइन ।

यसरी आफ्नै समूहभित्र पनि फरक छवि बनाउदै गएकी झाक्रीले पछिल्ला दिनमा आफ्नै नेताहरुलाई ‘खरो’ रुपमा प्रश्न उठाउदै आएकी थिइन । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन की नदिने भन्ने बारेमा मतभेद हुँदा योगेश भट्टराइले तत्काल राजिनामा दिन नहुने मत राखेका थिए । त्यतिबेला उनले सांसद पदबाट राजिनामा दिनुपर्छ भन्ने मत अघि सारेकी थिइन । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने बेलामा योगेश भट्टराईले फरक मत राखेपछि हाम्रा नेताहरुलाई खरो भयो भन्दै भट्टराईको आलोचना गरेकी थिइन ।

नेतृ झाक्रीले अहिले देखाएको अडानप्रति सामाजिक सञ्जालमा उनको आँटलाई भरोसा दिनेहरुको कमि छैन । आन्दोलनले वा वैचारिक राजनीतिक क्षमताले तथा आफूले राखेको अडानको कारणले मानिसहरुलाई नेतृत्व तहमा पुर्याउने विगतको परिस्थितिलाई ध्यान दिने हो भने झाक्रीको राजनीतिक धरातल कमजोर छैन । अहिलेपनि नेपाल समूहभित्र निरन्तर लागि रहने एउटा नेतृको रुपमा उनको प्रशंसा गर्नेहरुको कमी छैन । नेपाल नेतृत्वको दलको हैसियत ओली नेतृत्वको दलको भन्दा ठूलो वा सानो जे होला भविष्यले बताउला तर पछिल्ला घटनाक्रमले झाक्रीलाई एउटा जुझारु नेतृको रुपमा भने स्थापित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ