arrow

झाँक्री–विष्ट रोचक भिडन्त, गठबन्धन सहजतातिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
ramkumari-jhakri-gokarna-bista-gulmi.jpg

धुर्कोट । लामो समयदेखि नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको गुल्मी–२ मा यसपटक भने परिस्थिति बदलिँदा एमालेका लागि जित निकाल्न कठिन देखिएको छ । विगतमा आफ्नै पार्टीकी सहयात्री नै फरक पार्टीबाट उम्मेदवार बन्दा एमालेका लागि कठिन देखिएको हो ।

राष्ट्रिय राजनीतिमा दुई पार्टीमा प्रभावशाली मानिने दुई यात्रीहरुको रोचक प्रतिस्पर्धाले कसले बाजी मार्ने भन्ने यकिन नभए पनि एमालेका लागि भने एमालेबाटै विभाजन भएर गएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको आडमा कडा चुनौती दिएको छ । 

 लामो समय एउटै राजनीतिक दर्शनमा रहेका एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्ट र पूर्वमन्त्रीसमेत रहेकी एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीबीच प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ । 

एमालेभित्र शालीन व्यक्तित्व बनाएका विष्ट र विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्रीबीचको प्रतिस्पर्धाले पनि रोचक बनाएको छ । 

दुवै नेताहरु एक अर्कालाई गाली नगरी प्रतिस्प्र्धामा उत्रेका छन् । झाँक्री एमाले विद्यार्थी संगठन अखिलको अध्यक्ष हुँदै संसदीय राजनीतिमा प्रवेश गरेकी छिन्  । उनी २०७४ सालमा समानुपातिक सांसद थिइन् ।

एमालेमा रहँदा केपी ओली इतर खेमामा रहँदै आएकी झाँक्री विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय सचिव छिन् ।

उनी शहरी विकास मन्त्री हुँदा छोटो समयमा आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव बढाउन सफल भएको र नयाँ अनुहार खोजिरहेका गुल्मेली मतदाताका लागि उनी राम्रो विकल्प हुनसक्ने विश्लेषण गरिए पनि विष्टलाई कमजोर बनाउन सक्ने आधार भने अझै खडा भैनसकेको त्यहाँका एमाले नेता कार्यकर्ताहरु बताउँछन् । 

एमालेका सचिव विष्टले गुल्मी २ मा आफू २५ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन् । यो पटक पनि चुनाव जितेमा उनी गुल्मी २ बाट ह्याट्रिक पूरा गर्नेछन् । 

२०५६ सालको निर्वाचनदेखि सोही क्षेत्रमा लगातार उम्मेदवार बन्दै आएका विष्ट २०६४ सालको निर्वाचन हारेका थिए । उनलाई माओवादीका चन्द्रबहादुर थापा सागरले हराएका थिए । त्यसपछि २०७० र २०७४ को निर्वाचन जितेका थिए । 

तर यसपटक भने उनलाई चुनाव जित्न सजिलो देखिएको छैन । एकातर्फ वाम लोकतान्त्रिक गठबन्धन बनेको अवस्थामा अर्काेतिर विष्टलाई पार्टी भित्रबाट नै असहयोग देखिएका कारण उनका लागि तगारो देखिएको हो ।

विष्ट र झाँक्री दुवै एमालेमा छँदा केपी ओली पक्षमा थिएनन् । दुवै माधवकुमार नेपाल खेमाका हुन् । तर माधव नेपाललाई १० भाइले अन्तिम समयमा धोका दिए । 

धोका दिनेमा गोकर्ण विष्ट पनि थिए । १० भन्ना साथ केपी ओलीको मन पनि रुचीपूर्वक नजाने भएकाले केही फरक व्यवहार हुँदै आएको बुझिन्छ । 

केही दिनअघि मात्रै निर्वाचनकै मुखमा एमालेका प्रदेश कमिटीका सदस्यले झाँक्रीलाई सहयोग गर्ने बताएपछि विष्टलाई केही हदसम्म धक्का पुगेको छ ।  

पार्टीका प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी सचिव  झाँक्रीलाई चुनावमा सहयोग गर्न आह्वान गरेपछि एमालेलाई धक्का पुगेको हो । 

उनले एमाले उम्मेदवार विष्टमाथि एमाले विभाजनमा भूमिका खेलेको लगायतका आरोप लगाउँदै झाँक्रीलाई मत मागेका छन् । 

‘आन्दोलनबाट खारिएकी एक शसक्त र जुझारु युवा कमरेड रामकुमारी झाँक्रीलाई प्रतिनिधिसभामा गुल्मी २ का मतदाताले विजयी गराउनुपर्ने उचित ठानेको छु’, उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

गौतमले विष्टप्रति लक्षित गर्दै विगतमा पार्टी फुटाउन भूमिका खेलेको र अहिले जिल्लामा काम गरेका नेता कार्यकर्तालाई अमर्यादित व्यवहार गरेको गुनासो गरेका छन् । 

तर पनि शालीन स्वाभावका विष्टले उनीप्रति आफ्नो कुनै गुनासो नभएको भन्दै गाउँ गाउँ पुगेर मत मागिरहेका छन् । 

गठबन्धनबाट प्रदेशतर्फ ‘क’ र ‘ख’ मा क्रमशः नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा लुम्बिनी प्रदेश कमिटीका उपसभापति भुवन श्रेष्ठ र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले उम्मेदवारी दिएका छन् । 
गठबन्धनमा अहिलेसम्म झाँक्री सर्वस्वीकार्य रहेको र प्रदेशका उम्मेदवारहरु पनि प्रभावशाली रहेकाले एमालेलाई भारी पर्ने आँकलन गरिएको छ ।  

एमालेबाट संघमा विष्ट र प्रदेश ‘ख’ बाट दिनेश पन्थीकै निरन्तरता भएको छ भने प्रदेश ‘क’ मा रेसुङ्गा नगरपालिकाका पूर्वमेयर डिल्लीराज भुसालले उम्मेदवारी दिएका छन् । 

२०७४ सालमा माओवादीबाट प्रदेश सांसद जितेका पन्थी नेकपा विभाजनपछि एमालेमै बसेका थिए ।

विगतमा लामो समयदेखि विष्टले जित्दै आएको यो क्षेत्र एमालेबाटै विद्रोह गरेकी झाँक्री गठबन्धनबाट उम्मेदवार भएपछि एमालेको असन्तुष्ट भोट तान्न सक्ने आँकलनसमेत गरिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा धुर्कोट गाउँपालिकामा माओवादी र एमालेको तालमेल भएको बाहेक वडाध्यक्षहरुको मत हेर्दा गठबन्धन १३ सय ९५ मतले अगाडि छ । 

यसकारण पनि गुल्मी–२ मा यसपालिको चुनाव प्रतिस्पर्धाको हिसाबले विगतमा भन्दा रोचक हुने त्यहाँका एक नेताले बताए । 

झाँक्री शहरी विकासमन्त्री हुँदा सालझण्डी–ढोरपाटन सडकखण्डको गुल्मीको पुर्कोटदेखि बाग्लुङ्गको गगरेसम्मका लागि एक अर्ब ७० करोडको बजेट सुनिश्चिततासमेत गरिएको थियो । 

छिट्टै मुआब्जा विवाद समाधानका लागि बजेट सुनिश्चित गरी टेण्डर प्रक्रिया अगाडि बढ्ने भएकाले पनि त्यही विषयलाई झाँक्रीले आफ्नो चुनावी एजेण्डा बनाएर अघि बढेकी छिन् । 

गुल्मी–२ मा कांग्रेसका नेता डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश ‘ख’ मा नरेन्द्रबहादुर अर्यालको बागी परेको छ । प्रदेश ‘क’ मा किन उम्मेदवारी नदिएको भन्ने प्रश्नमा उनले पार्टीकै उम्मेदवार भएकाले समर्थन गरेको बताए । 

यहाँ राप्रपाबाट युवराज घिमिरेले मनोनयन दर्ता गरेका छन् । यद्यपि ती सबै मत एमालेकै काट्ने भएकाले पनि झाँक्री सुरक्षित हुनसक्ने आँकलन गरिएको छ । 

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा गुल्मी–२ मा एकीकृत समाजवादी चौथो पार्टी हो । एमालेले ३१ हजार २ सय ५३, कांग्रेसले २९ हजार ८ सय २१, माओवादीले १ हजार ८ सय ४१, एकीकृत समाजवादीले ६ सय ५८ तथा राप्रपाले १ सय १ मत प्राप्त गरेका थिए ।  

गठबन्धन हुँदा पनि एमाले चर्को प्रतिस्पर्धामा रहेको छ । रेसुंगा, रुरु लगायतका धार्मिक पर्यटकीय क्षेत्र र कफी उत्पादनमा देशकै नमूना पहाडी जिल्ला गुल्मी व्यवसायिक कृषिमा पनि अगाडि भएका कारण एमाले र गठबन्धन दुवैले यसैलाई चुनावी मुद्धा बनाएका  छन्  । 

त्यसबाहेक  निर्माणाधीन योजना सम्पन्नता, कृषिको बजारीकरण, सडक संजाल, विद्युतीकरण, स्वास्थ्य र शिक्षाको स्तरोन्नतिमा दुवैले जोड दिएका छन् । 

गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३ सय ७ मतदाता छन् । थुप्रै विकासका योजना ल्याएका अनुभवी नेता एकातिर र युवा तथा महिला उम्मेदबार अर्कोतिर भएर चुनावी मैदानमा आएपछि मतदाताहरुले कसलाई छान्ने भन्ने अन्योल भने कायमै रहेको छ । र पनि गठबन्धनको बलले गर्दा झाँक्री सहज देखिएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ