- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाम्रो राज्य संयन्त्र अनौठो खालको छ । जे भन्छ त्यो गर्दैन । जे भन्दैन त्यो गर्छ । फेरि सरकार त यसै पनि अचम्मको भइहाल्यो । राजनीति गर्न पढे पनि हुने नपढे पनि हुने । कुनै अनिवार्यता छैन । पढ्नेले त अरु काम पनि गर्ला नपढ्ने अल्छीले गर्ने भनेकै राजनीति हो । आठ पढेका पनि प्रधानमन्त्री र पीएचडी गरेका पनि प्रधानमन्त्री । अन्तर केही छैन ।
यस्ता प्रधानमन्त्री आउँछन् जान्छन् । पढाइले हैन छलछाम गरी जनतालाई बुद्धु बनाएर चुनाव जितेर आउँछन् । यस्तो लाग्छ पढेकालाई नेपढेकाले ठग्न सजिलो हुन्छ । कहिले सत्ता बाहिर र कहिले भित्र । यो निरन्तरता जारी छ । दोहोरिने चलनले गर्दा कोही धेरै पटक सत्ता सम्हाल्न पाउँछन् कोही कागतालीहरु एक पटकमै हुत्तिन्छन् ।
तर प्रशासन त स्थायी सरकार हो । त्यहाँ पढेका मानिसहरु नै माथि पुग्ने गर्छन् । प्रशासन सम्हाल्छन् । तर जब लोकसेवा पास गरेर उनीहरु पद सम्हाल्न थाल्छन् तब आफ्नो पढाइ सबै बिर्सन्छन् । उनीहरुको कार्यशैली र कार्यान्वयनको प्रगति विवरण हेर्दा त्यो भन्दा बाहिर हुनै सक्दैन ।
कतिपय कर्मचारीहरु त मेहनत गरेर लोकसेवा पास गरेको जनताको सेवा गर्न हो र आफ्नो व्यवस्था गर्न पो हो भन्छन् । त्यतिमात्र हैन खुलेआम एक पैसा पाए पनि छाड्दिन भन्छन् । जो भ्रष्टाचारको विरोध गर्ने कर्मचारी हुन्छ नि त्यो प्रेमप्रसाद संजेलजस्तै दुःख पाएर सेवानिवृत्त हुनुपर्छ हाम्रो नेपालमा ।
प्रसङ्ग जोड्न भने अहिलेको सबैभन्दा जल्दोबल्दो विषय कोरोना महामारीबारे हो । त्यसमा प्रशासनले देखाएको अक्षम प्रवृत्तिलाई कोट्याउन खोजिएको छ ।
कोरोना भाइरसको महामारीको मापदण्डलाई नै हेरौं न । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वास्थ्य निर्देशिकाअनुसार नेपाल सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न भनिरहेको छ । कुनै पनि हालतमा दुई मिटरको दूरी कायम गर्न भनिरहेको छ ।
तर त्यो दुई मिटर भनेको कति हो प्रशासनलाई थाहा छैन । थाहा हुँदो हो त आफैले तोड्ने थिएन होला । थाहा हुँदो हो त अहिले भइरहेका गतिविधिलाई रोक्ने सामथ्र्य राख्दो हो । जुन कुरा थाहा नै छैन अनि कसरी उसले रोक्न सकोस् त उल्लंघनका घटना ।
कतिसम्म लन्ठू प्रशासन छ भने घरबाट बाहिर निस्कँदा दुई मिटरको दूरीको अन्तर पारेर निस्कन लगाउँछ । घरमा सँगसँगै बस्ने पनि घरबाट बाहिर हिँडेर निस्कँदा दुई मिटरकै दूरीमा रहन पर्छ ।
तर तिनीहरु कुनै सवारी चढ्दा दुई मिटरको मापदण्ड हराउँछ । सार्वजनिक यातायातमा चढेपछि सब गायब । फेरि यो मापदण्ड बनाउनेहरु सार्वजनिक यातायातमा चढेर बनाएका पनि हैनन् । अर्थात् जुन कुरा उनीहरु देख्दैनन् त्यसले कोरोना सार्दैन ।
यातायातमा ‘सीट फूल’ गराउन पाइन्छ । अर्थात् एक र अर्कोबीचको दूरी छँदै छैन । अनि के को मापदण्ड ?
प्रशासनलाई थाहा नै छैन कि दुई मिटर कति हो । थाहा भएको भए त्यसको अनुगमन गर्ने थियो । दुई मिटरको मापदण्ड अनिवार्य पालना गर्न भन्दै न त सवारी चलाउन दिने थियो न त भिड हुने कार्यालय खोल्न दिने थियो ।
अझ लन्ठूपन त के भने कोरोना भाइरस विरुद्धको खोप लगाउन बस्ने लामो लाइनबाटै मानिसले कोरोना बोकेर फर्किन्छ । त्यो खोपले काम गर्न शुरु गर्नुअघि नै उसलाई कोरोना सरिसक्छ ।
आखिर दुई मिटर नाप्न नजान्ने यो कस्तो लन्ठू प्रशासनलाई हामीले झेलिरहेका छौं ? धन्य नेपाल । धन्य नेपाल आमा ।