arrow

निजामती सेवाको निजत्त्व

logo
विष्णु घर्ती ‘भनभनेली’,
प्रकाशित २०८० भदौ २३ शनिबार
article-bishnu gharti bhanbaneli-2080-05-23a.jpg

निजामती सेवाको पहिचानमा सार्वजनिक सेवाप्रवाह (निजत्त्व) अभिन्न अंगका रुपमा अंगीकार गरिएकै छ । प्रशासनमा सुशासनरुपी रामराज्यको परिकल्पना गरिएको पाइन्छ, जुन यसको निजत्त्व हो । नीति, विधि, थिति र रीतियुक्त प्रशासन नै खासमा सुशासन हो । 

राष्ट्रको चौतर्फी विकास र सम्वृद्धिका लागि संघीय शासनको आवश्यकता महसुस गरियो । सदाचार, उत्तरदायित्व, सन्तुलित विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा गुणस्तरीय सेवाप्रवाहले निजामती सेवामा अन्तरनिहित निजत्त्वको मापन गर्न सकिन्छ । 

जनमैत्री निजामती सेवा सेवाग्राहीको समीपमा रहने साथी हो । हाल सञ्चालित निजामती सेवामा जनताको अपनत्त्व हुने गरी चालिएको कदम नै निजत्त्व हो । ऐन कानूनसम्मत सञ्चालित र कर्तव्यको भावनाबाट परिचालित हुन्छ निजामती सेवा । 

यस्तो शासनले राष्ट्र, राष्ट्रियता र जनताप्रति समर्पित तथा सेवाभावबाट उत्प्रेरित भइ कार्य गर्दछ । राज्यको पुनर्संरचनासँगै आएको संघीय व्यवस्थाको सू–सञ्चालनका लागि निजामती सेवाको निजत्त्वमा आफ्नो दायित्व र जिम्मेवारी अझ वृद्धि हुँदै आएको छ ।

सङ्घीय शासन प्रणालीमा निजामती सेवाको अपरिहार्यता आजको आवश्यकता बनिसकेको छ । निजामती सेवाको मूल मर्म भनेकै उसको सेवा हो । सार्वजनिक सेवा नै परम धर्म (निजत्त्व) हो, सनातनी संस्कृति हो । 

मैत्रीपूर्ण कार्यान्वयन तह निजामती सेवाको शान हो । अपनत्वपूर्वक अवलम्वन गरिने सेवाप्रवाहको सार्थकता सर्वव्यापी हुन्छ । जनचाहना अनुकूल निजत्त्व स्थापित गर्न सिकाउँछ निजामती सेवाले । 

सार्वजनिक सेवालाई सरल र सहज तुल्याउँदै सबैलाई समेट्न वर्तमान निजामती सेवा अपरिहार्य छ । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापले सार्वजनिक सेवाको संस्थागत उन्नतिलाई थप टेवा दिन्छ । 

समयको माग बमोजिम परिवर्तन हुन्छ सार्वजनिक निजामती सेवा । निजामती सेवालाई विगतको जस्तो नबनाइ समयानुकुलको सहयात्री बनाउने कार्य जिम्मेवारी कर्मचारीकै काँधमा आइपुगेको छ । 

आर्थिक, सामाजिक, नैतिक रुपमा सार्वजनिक परीक्षणको परिपाटी आइरहेको छ । सबै क्षेत्र, वर्ग, समुदाय, लिंग आदिको समावेशीकरणले सार्वजनिक सेवाको सुन्दरतालाई अझ सशक्त बनाउँछ । त्यसैले त जनताका समस्यालाई केन्द्रविन्दूमा राखी समाधानको सूत्रलाई आत्मसात गरिएको छ ।


संघीयताको तीन ओटै तहको छुट्टाछुट्टै र संयुक्त संरचनामा निजामती सेवाको भूमिकालाई अब्बल बनाउने प्रयास कायमै छ । निजामती सेवाको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवा वितरणको स्थिति, उत्तरदायित्वको अपनत्त्व, पारदर्शिता, उत्प्रेरणा, मनोबल, अनुशासन र नैतिकता, उचित अनुगमन तथा मूल्याङ्कनजस्ता औजारको परिचालन गर्ने विषयमा निजामती सेवाको अहम् भूमिका देखा परेको हो । 

द्विविधाको निराकरण र सरलताका लागि निजामती सेवाको उच्च एवम् निस्वार्थपूर्ण भूमिकालाई आवश्यकता ठानिएको हो । एकै प्रकृतिका कार्यसम्पादनमा दोहोरो स्रोत, साधन र समयको खर्च हुने र न्यून उपलब्धि प्राप्त हुने गरेको आरोपलाई निराधार तुल्याउनु जरुरी छ । 

एउटा कर्मचारीले गर्न सक्ने कार्यसम्पादनको खास विश्लेषण र पहिचान भएको देखिँदैन । कार्यक्षेत्र अत्यन्तै व्यापक बन्दै गए तापनि सरकारको चाँसो र सहभागीता मुताविक चल्नु पर्ने देखिन्छ । जनमैत्री सेवाको निरन्तरताका लागि निजामती सेवासँगै निजी क्षेत्र, गैर सरकारी संस्था, नागरिक समाजजस्ता लोकहितमा संलग्न सञ्जालहरूलाई परिचालन गरिनु पर्दछ । सरल नीतिमार्फत सहजकर्ताको भूमिकामा उभिनु पर्दछ निजामती सेवाको निजत्त्व ।

शोषित, पीडित, दलित, जनजाति, महिला, अपाङ्गता भएका, मधेसी, मुस्लिम, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र, वर्ग, समुदाय, लिंग आदिको समग्र समुन्नति तथा समावेशी समाज निर्माणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था जरुरी देखियो । 

सोही व्यवस्थाको कार्यान्वयनका लागि निजामती सेवाको खास निजत्त्वको अहम् भूमिका देखा परिरहेको छ । सार्वजनिक सेवा प्रदान गरेवापत नियमानुसार पाउने सुविधाबाहेक कोही कसैबाट कुनै पनि लाभ प्राप्ति गर्नु निजामती सेवाको पहिचानको विषय हुँदै होइन । 

सरल र सहज सेवाको कार्यान्वयनमा सरकार र निजामती सेवाको कार्यक्षेत्र तथा सेवा प्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । अनुभव, अध्ययन र अनुसन्धानबाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासन अन्तर्गतको निजामती सेवामा अनुशरण गर्न सकिन्छ । हिजोका दिनमा जनसंख्याको वृद्धि र कर्मचारीको अनुपात अमिल्दो हुँदा सेवाप्रवाहमा कम प्रभावकारिता देखिएको हो । 

वर्तमान व्यवस्थालाई कुनै खालको बेवास्ता नगरी थप प्रभावयुक्त पार्न सबल र सक्षम निजामतीकर्मीहरुले आफ्नो कार्यान्वयन पक्षलाई सुमार्गमा कुँदाइरहेका छन् । यिनीहरुको मर्म र भावना पनि निजामती सेवाको निजत्त्वलाई टेवा दिनु हो । राम्रोका लागि सदा सर्वदा स्तुत्य कार्य गर्नेहरु निजामती सेवाका हिमायतीहरु हुन् ।

निजामती सेवाले नै सार्वजनिक सरोकारका विषयमा सर्वसाधारणको पहुँचलाई परिपक्क पार्दछ । विश्वव्यापी अभ्यास र अध्ययनबाट आफ्नो स्थानको आवश्यकता अनुरुप सङ्घीय प्रशासनलाई ग्रहण गरिनु बढी श्रेयस्कर देखिन्छ ।

जनताको साथमा रहेको निजामती सेवालाई सबल बनाउनु जरुरी हुन्छ । संघीय लोकतान्त्रिक व्यवस्थाले अपेक्षा गरेका उपलब्धिलाई संस्थागत गर्न निजामती कर्मचारीहरु मुख्य साधन हुन् । कर्मचारीको साझा सेवा निजामती सेवा हो । 

राजनीतिकर्मीले संसदमार्फत कार्यान्वयनको खाका र आवश्यक ऐन, नियमहरु बनाउँछन् । यिनै ऐन, नियमरुपी औजारको माध्यमबाट संघीयताको स्वरुपलाई निजामती कर्मचारीहरुले जनताको घरदैलोसम्म लैजान्छन् । 

निजामती सेवाको निजत्त्व स्थायी सरकारको सक्रिय हात हो । सार्वजनिक सेवाप्रवाहमा सरकार र कर्मचारी दुवैको साझा हिस्सा र जिम्मेवारी रहन्छ एक रथका दुई पाङ्ग्रा झैँ । निजामती सेवाले कार्यसम्पादन नगरेसम्म पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन हम्मे हम्मे नै पर्दछ । 

गैर निजामती कर्मचारीको भन्दा निजामती कर्मचारीको भूमिका केन्द्रीय रुपमा रहेको देखिन्छ । सबै सेवाहरुको पनि सेवाको रुपमा स्थापित भइसकेकोले नमूनाका रुपमा अग्रसर भएको छ निजामती सेवाको आफ्नोपन वा निजत्त्व । 

विभिन्न प्रशासनिक दुर्घटनाहरु हुनबाट निजामती सेवाले बचाएको पनि छ । त्यसैले त्रुटिरहित ढंगबाट सार्वजनिक सेवाप्रवाहको मुख्य भूमिकामा निजामती सेवाकै निजत्त्व अब्बल स्थान रहेको बुझ्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ