arrow

सात मुखे घोडा देखेर लक्ष्मी मोहित, पाइन् श्राप

हरिहरको एक आपसको सम्बन्ध (भाग एक)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
horse.jpg

सूर्यका पुत्र रेवन्त अति रूपवान् थिए । एक दिन उनी उच्चैःश्रवा घोडामा चढेर भगवान् विष्णुको धाम वैकुण्ठ गएका थिए । लक्ष्मी विष्णुको सेवा गरिरहनु भएको थियो । उच्चैःश्रवा घोडा समुद्र मन्थन गर्दा निस्केको थियो । श्रीकृष्णले पनि श्रीमद्भागवत गीताको विभूति योग ( दसौँ अध्यायमा) म घोडाहरूमा उच्चैःश्रवा हुँ भनेर अर्जुनलाई वर्णन गर्नुभएको छ । यो घोडाको सात मुख रहेको र समुद्र मन्थन गर्दा निस्केको हुनाले लक्ष्मीको भाइको रूपमा पनि मानिन्छ ।
 
रेवन्त घोडामाथि बसेर आएको विष्णुले टाढैबाट देख्नुभएको थियो । उहाँले लक्ष्मीलाई यस्तो रूपवान् को होला भनेर चर्चा गर्नु भएको पनि थियो । विष्णु लक्ष्मीसँग अनेक विषयमा वार्तालाप गरिरहनु भएको थियो, तर लक्ष्मीले उहाँको कुरा वास्ता नगरीकन, कुनै कुराको जवाफ नदिईकन घोडातिर मात्र हेरिरहिन् ।
 
उनको यस्तो चाला देखेर विष्णुले रिसाएर तिमी सबैमा रमाउने रहिछौ त्यसैले तिमीलाई रमा भनियोस् र अरू नारी सरह चञ्चल स्वभाव भई रहेकोले तिमीलाई चञ्चला पनि भनियोस्, तिमी एकै ठाउँमा स्थिर भएर नबस भन्ने श्राप दिनुभयो । यस बाहेक विष्णुले उनलाई आफूसँग बस्दा पनि एउटा घोडालाई देखेर मोहित भयौ भने तिमीले पनि घोडी भएर जन्म लिनु परोस् भनेर अर्को श्राप पनि दिनुभयो । 

यस्तो श्राप पाएपछि लक्ष्मी थरथर काँप्न लागिन् र विष्णुलाई अनुनय विनय गरेर हे प्रभु यस्तो मामुली अपराधमा पनि मलाई यस्तो श्राप किन दिनुभएको होला? मप्रति हजुरको कत्रो प्रेम थियो ती सब कहाँ गए? आफ्ना शत्रु उपर त हजुरले यस्तो कडा श्राप दिनुभएन भने म अबला स्त्रीप्रति किन हजुरको यस्तो कडा श्रापको बज्रपात  भन्दै रुन लागिन् र आफ्ना पतिदेवकै अगाडि प्राण त्याग गर्ने सङ्कल्प गरिन् अनि आफू यस्तो श्रापबाट कहिले मुक्त हुने होला भनेर बिन्ती बिसाइन् ।
 
लक्ष्मीप्रति करुणा गरेर विष्णुले ल त उसो भए जब तिमीले म समान एउटा पुत्र पाउने छौ तब तिमी फेरी म कहाँ आएर बस्ने छौ भनेर आशीर्वाद पनि दिनुभयो ।यसरी भगवान् विष्णुबाट श्राप तथा आशीर्वाद पाएर लक्ष्मी तमसा नदी र यमुनाको सङ्गम भएको स्थानमा गएर तपस्या गर्न लागिन् । यही स्थानमा बसेर पहिले सूर्यकी पत्नीले तपस्या गरेकी थिइन् ।

उनले भोलेनाथ आशुतोषको तपस्यामा आफूलाई तल्लीन गरिन् । रेवन्त पनि यो तमासा हेरिरहेका थिए । उनी डराएर विष्णु भगवान्लाई प्रणाम गरेर फर्की हाले । (क्रमशः...)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com  

 



नयाँ