arrow

जो ६० रुपैयाँ ऋण तिर्न नसक्दा हली बसे

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ भदौ २२ मंगलबार
haliya.jpg

दार्चुला । मालिकार्जुन गाउँपालिका–६ उकु भोल्यानीका दलिराम लोहारले १८ वर्षको उमेरदेखि हलो जोत्न सुरु गरे । साहुबाट लिएको ६० रुपैयाँ ऋण तिर्न नसक्दा उनले ६ वर्ष साहुको खेतबारीमा हलो जोती रहे । साँवा बाँकी रहने तथा ब्याँज बापत हलो जोत्नुपर्ने सर्त थियो । बुबा करबिर लोहारको पालादेखि नै उनी हलो जोत्थे । 

हलो जोत्नु उनीहरूको मजबुरी र नियति थियो । दलिराम मुक्त हलिया हुन् । उनी खलङ्गाका भूमि पति लोकमणि ठगुन्नाको घरमा हलिया बसेका थिए । पछि उनी यहाँबाट बसाइ सरी उकुँ गए । सरकारले उनलाई हलियामुक्ति घोषणा गर्‍यो । उनलाई सरकारले घर र जग्गा दियो । तर, अहिले उनीसँग न जग्गा छ, न बस्ने घर । २०७३ सालमा बाढी आउँदा उनको घर भत्किएको छ भने जमिन चिराचिरा परेको छ । त्यो घरमा बस्न लायक नै छैन । 

अहिले उनी आफन्तकोमा बसिरहेका छन् । उनको ९ जनाको परिवार छ । अब त दलिराम ६५ वर्षका भए । काम गर्ने जाँगर पनि छैन, पौरख पनि । ‘छाक टार्नकै लागि मुक्त हलिया घोषणा भएर पनि हालियाकै रूपमा काम गर्नु पर्ने बाध्यता छ ।’ उनले भने, उनको अब सरकारसँग गाँस, बाँस र कपासको माग छ । 

दलिराम मात्रै होइन, उनीजस्तै अन्य सयौँ यस्तै समस्या झेल्दै आएका छन् । महाकाली नगरपालिका– ५ गल्फै बस्ने मानमति ओडको पनि पीडा र समस्या उही छ । उनी पनि ७ सय ऋण तिर्न ५० वर्ष (साहु) हरक ठगुन्नाको हली बसेको बताउँछिन् । उनीसँग त एउटा वियोगान्त पीडा बूढा बितेको छ । सँगै साहुको खेतमा काम गरिरहेका बेला बूढा अन्तराम ओड बितेको उनका आँखामा ताजै छ ।

जमिनका लागि भनेर ५० वर्ष हली बस्दा पनि जमिन नपाएको उनी बताउँछिन् । सरकारले १ लाख रुपैयाँ दिए पनि त्यसले मुक्ति हुन नसकेको उनको भनाइ छ । सडक छेउमा गिट्टी कुटेर घर खर्च चलाउँदै आएकी उनी अहिले पनि हलियामुक्तिका लागि आन्दोलन गरिरहेकी छिन् ।

हलिया मुक्तिका लागि आन्दोलन गर्ने पहिला व्यक्ति दानीराम तिरुवा हुन् । उनले करिब १९ हजार हलियामुक्ति गर्न सङ्घर्ष गरे । दानीराम साबिकको उकु गाविस (हालको मालिकार्जुन–६ ) का मुक्त हलिया हुन् । उनले १२ वर्षको उमेरदेखि हलो जोतेका थिए । उनले एउटै मालिकको घरमा १७ वर्ष गरेर लगातार ३६ वर्ष हलो जोते ।

पछि ०५९ सालमा दार्चुलाको उकु गाविसमा दलित अभिमुखीकरण गोष्ठी गरिरहँदा दानीरामले आफू पुस्तौँदेखि हलिया बसेर काम गरिरहेको बताएपछि हलियाको मुद्दाले चर्चा पायो र त्यहीबाट हलियाको सवाल बाहिर आयो । 

उनले २०६२ सालमा द्वन्द्वको समयमा आफूले जोतेको हलो सरकारलाई बुझाउने आँट समेत गरे । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष कीर्तिनिधि विष्टलाई हलो बुझाउने भन्दै दानीरामको नेतृत्वमा ८० जना हलियाहरुको टोली काठमाडौँ गएको थियो । दानीरामले आफूहरूले हलो बुझाउन सफल भएको बताए । 

अहिले पनि दानीरामको हलियामुक्ति आन्दोलन र सङ्घर्ष सेलाएको छैन । हलियामुक्तिका १३ वर्ष बिते पनि अझै सुदूरपश्चिममा हलिया व्यवस्थित हुन सकेका छैन । पुस्तौँसम्म ब्याँज बापत हलो जोत्दै आएका हलियाहरुको पीडा र मजबुरी उही छ ।

 दार्चुलाका ४ सय ५४ जनाले परिचय पत्र पाएका छन् भने हजारौँ अझै परिचयपत्रविहीन र घरबारविहीन छन् । जिल्लाभरिका ४ हजार २ सय ५६ जना हलिया अझै व्यवस्थित हुन नसकेको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष दानीराम तिरुवाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ