- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि तीव्रतर छलफल शुरु गरेको छ । सबै कमिटी र तहमा छलफल गरी सुझाव संकलन गरेको एमालेले शुक्रबार दिउँसो सोही विषयमा छलफल गर्ने गरी बैठक बोलाएको छ ।
पार्टीको संशोधित विधानमा एमालेका अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने तथा पार्टीको महासचिव, दुई उपाध्यक्ष, सात सचिव राख्ने विषय उल्लेख भएपछि सबैभन्दा बढी यही विषयमा छलफल हुनेछ । ‘आजको बैठकमा विशेषत विधान मस्यौदाबारे छलफल हुनेछ, केही नयाँ प्रावधानहरु छन् ती प्रावधानकै विषयमा छलफल केन्द्रीत हुने देखिन्छ’, पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले भने । तर उनले कुन–कुन विषयमा छलफल हुन्छ भन्ने बारेमा केही खुलाएका छैनन् ।
कार्यालय सचिव शेरबहादुर तामाङले नेताको कार्यविभाजन हेरफेर हुनसक्ने बताएका छन् । ‘शुक्रवार बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुनेछ’, केन्द्रीय कार्यालय सचिव तामाङले भने । एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ ।
त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको थियो । स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरी आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।
अहिलेको विधान अधिवेशन निकै पेचिलो हुने भएको छ । यही विधानले नै नेकपा एमालेको आगामी नेतृत्व कस्तो हुने र पार्टी कसरी अघि बढ्छ भन्ने निर्धारण गर्नेछ । विधानमा दुई उपाध्यक्ष त्यो पनि केन्द्रीय कमिटीको बैठकबाट चयन हुनेछन् । यसअघि महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुले निर्वाचित गर्ने थिए ।
वामदेव गौतम राजीनामा दिएर बाहिरिएका छन् । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल पार्टीभित्रै छन् । विद्या भण्डारी राष्ट्रपति भैसकेकी छिन् । अब दुई मात्र उपाध्यक्ष भए शाक्य, ज्ञवाली, रावलको लागि कुन तह निर्धारण हुन्छ भन्ने प्रष्ट छैन ।
त्यस्तै माओवादी केन्द्र छाडेर एमालेमा आएका रामबहादुर थापा पनि उपाध्यक्षको लाइनमा छन् । सुवास नेम्वाङलाई पनि थन्क्याउने ठाउँ छैन । आउँदो महाधिवेशनबाट एक पटक केपी शर्मा ओली नै अध्यक्ष बन्ने संभावना बढिरहेका बेला ईश्वर पोखरेल कुन स्थानमा बस्छन् भन्ने प्रष्ट छैन । ईश्वरले अध्यक्षमा लड्ने संकेत गरिसकेका छन् ।
एमालेको बहुमतमा उपमहासचिव दुई जना यथावत राखिएको छ तर सचिवको संख्या पाँचबाट सात पुर्याइएको छ । त्यसकारण पनि अहिलेको समीकरण निकै पेचिलो बन्दै जाने अवस्था आएको एक स्थायी कमिटीको भनाई छ ।
‘अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने । अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने । निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, संशोधित विधानको मस्यौदामा भनिएको ‘अध्यक्ष– १, उपाध्यक्ष– २, महासचिव– १, उपमहासचिव– २, सचिव– ७ हुनेछन् ।’ संशोधित विधानमा उल्लेख छ ।
उपाध्यक्षको संख्या घटाउँदा अहिले पदाधिकारीमा रहेकाहरुलाई समेत अप्ठेरो पर्ने अवस्था देखिएको छ । त्यस्तै मस्यौदामा ७० वर्षे प्राब्धान पनि यथावत राखिएको छ । ७० वर्षे प्रावधान यथावत् राख्दा धेरै नेताहरु बाहिरिने छन् । ‘एमालेमा नेताहरुको व्यवस्थापनमा समस्या आएको छ माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वामदेव गौतम, बाहिरिँदा पनि अझै समस्या आउनेछ । तर ७० वर्षे प्रावधान लागु भयो भने त्यसले केही हदसम्म निकास दिनेछ’, एक नेताले भने ।
उनका अनुसार मंसिरमा महाधिवेशन भएमा एक पटक ओली अध्यक्ष हुने र ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा एमालले भाग लिने त्यसपछि मात्रै उनले विश्राम लिनेछन् । ‘अहिले ओलीको विकल्प खोज्न थालिएको छैन, ‘ईश्वर पोखरेलले कताकति रहर गरेको देखिन्छ तर उनको यो रहर मात्रै होलाजस्तो छ ओलीपछि सिधै पार्टीको नेतृत्व दोस्रो तहमा झर्नेछ’, ती नेताको भनाई छ ।
उनका अनुसार अहिले ओलीका लागि सहज भए पनि पार्टीभित्र देखिएको अन्र्तविरोधले आगामी निर्वाचन एमालेका लागि सहज छैन । त्यसमाथि पनि माधव नेपालले पार्टी विभाजन गरेर बेग्लै दल बनाएपछि एमालेका लागि आगामी निर्वाचन फलामकै च्यूरा सावित हुने भएकाले पनि अब हुने महाधिवेशनबाट पार्टीको सबै पक्षलाई समेटेर लैजानुपर्ने ओलीसँग बाध्यता रहेको छ ।