अमेरिकाको नगरका एक नेपाली उपमेयर किरण सिटौलाको अनुभव
प्रकाशित २०७३ साउन १ शनिबार
3.1k
Shares
काठमाडौंको नक्सालमा जन्मिएर भक्तपुरको दरबार स्क्वायरको सांस्कृतिक वातावरणमा हुर्किएका किरण सिटौला अहिले अमेरिकास्थित मेरील्याण्ड राज्यको इन्डियन हेड सिटीका निर्वाचित उपमेयर बनेका छन्। २०१५ मे ५ तारिकमा भएको निर्वाचनमा अमेरिकीहरूको मन जितेर उपमेयर पदमा निर्वाचित भएका छन्। २०४६ सालमा बुढानीलकण्ठ स्कूलबाट एसएलसी पूरा गरेका सिटौला त्यहाँबाट ‘ओ लेवल’ र ‘ए लेभल’ पुरा गरि थप अध्ययनका लागि अमेरिका गएका थिए। अमेरिका जानुअघी केही समय संस्कृत शिक्षाको अध्यापन समेत गराएको बताउने उनको नेपालबाट अमेरिका पुगेपछि हासिल गरेको राजनीतिक सफलतासम्मको अनुभव कस्तो अनुभव रह्यो ? नेपाल आएका बेला हाम्राकुरा डट कमको कार्यालयमा सिटौलाले सुनाएको अनुभवको सम्पादित अंशः
उपमेयरमा विजयी हुँदाको अनुभव
म २२ वर्ष भयो अमेरिकामा बसेको। सन् २००४ यता भने अमेरिकास्थित मेरील्याण्ड राज्यको इन्डियन हेड सिटीमा बस्दै आएको हुँ। उक्त नगरको उपमेयर पदमा निर्वाचित हुँदै गर्दा मैले त्यस नगरमा बसोबास गरेको ११ वर्षमा सिकेको पाठ र नेपाली बुद्धिको कारण हो भन्ने मैले मानेको छु। यसरी नेपालको माटोमा जन्मिएर अमेरिकामा गएको एउटा नेपालीले त्यहाँ गएको ११ वर्षमा नै त्यहाँका नागरिकको मनमात्रै नभई निर्वाचन समेत जितेकोमा खुशी नहुने त कुरा नै भएन। तर मैले खुशीसँगै नयाँ कर्तव्यबोधको पनि महसुश गरिरहेको छु। मैले त्यो भूमिमा कुनैपनि बालापनको साईनोले यो पद भेटेको होइन भन्ने मैले बुझ्नु छ यदी त्यही माटोमा मैले फेरि पनि राजनीति गर्ने हो भने।
म त्यहाँ ११ वर्ष बसुन्ज्यालमा मैले के भोगिरहेको कुरा सुखद थिएन । त्यो नगर विकास भन्दा पनि विनासतर्फ उन्मुख भएको जस्तो थियो। त्यहाँ रहेका सिबिएस फार्मेसी, मिल्ट्री कन्ट्र्याक्टर होस् या त अन्य सुपरमार्केटहरू समेत उक्त नगर छाडेर जान थालेका थिए । यस्तो स्थिती आयो कि काम गरेर घर आउँदा पनि उदास हुनुपर्ने स्थितीको सिर्जना भयो । जसले गर्दा मेरो मन एकदमै निराश बनेर यो नगरलाई बस्ती बस्न लायक तथा घर फर्किँदा उदास बन्नु नपर्ने स्थिती कसरी बनाउन सकिन्छ त भनेर सोच्दै जाँदा मैले यस विषयमा धेरैसँग परामर्श सुरू गर्न थालेँ ।
मेरो अहिलेको अफिसमाथि रहेको झण्डा र ह्वाईटहाउसको माथि रहेको अमेरिकी झण्डाबीचको दूरी जम्मा २२.५ माइल रहेको छ । ह्वाइटहाउस र मेरो अफिसकोबीचमा यति धेरै अन्तर पनि हैन । तर विकासको कुरा गर्ने हो भने हामी वत्ती मुनीको अध्यारोमा बस्नुपर्ने जस्तै देखियो । यो कुरा मैले मेरा शहरका मानसिहरुसँग राख्न थाले हामी कसरी यस ठाउँलाइ बस्न योग्य बनाउन सक्छौ । कसरी नयाँ रोजगारी सिर्जना गर्न सक्छौ भनेर । चुनावको बेलामा मैले यहि कुरा मतदाताहरुको बीचमा पुर्याए । मैले आफ्नो चुनावी नाराहरु र एजेण्डाहरु जनताका बीचमा पुर्याए । यसका लागि मतदाताको घरघरमा गए । मैले कस्तो रणनीति अपनाएँ भने हामीहरु बस्नो गाउँमा एउटा ठूलो पसल थियो र हरेक शुक्रबारको दिन साँझ प्रत्येक घरका मानिसहरू कोही न कोही केहि न केहि सामान किन्न आउँथे । अनि मैले टिसर्टहरू, अन्य प्रचार सामग्रीहरू त्यहाँ नै बाँड्न थालेँ । मैले सबैलाई यसरी आफ्नो एजेण्डाको विषयमा कन्भिन्स गर्न सफल भएँ । त्यसैले पनि मैले चुनाव जिते जस्तो लाग्छ । तर कुरा के हो भने मैले कुनै आश्वासनको भरमा होइन कि आफ्नो सम्भव एजेण्डाको आधारमा जनताको मन जितेर चुनाव जितेको हुँ।
प्रेरणाको स्रोत
म उच्च अध्ययन र काम गर्नको लागि अमेरिका गएको मान्छे मलाई यसरी समाजसेवा र राजनीतिमा प्रवेश गर्नुपर्ने कुनै कारण पनि थिएन । मैले यसलाई पनि आफ्नो लक्ष्यसँग जोडेको पनि थिईन । मैले यसको प्रेरणाको स्रोत म सानो छँदा विद्यालयमा अध्यापन गराउनुहुने गुरूहरूमा नै जान्छ । उहाँहरूले पहिले सिकाउँदा नै सबैभन्दा ठूलो काम भनेको समाजसेवा भनेर भन्नुहुन्थ्यो । त्यसैलाई आधार मानेर पनि मैले धेरै प्रेरणा पाएँ । राजनीति भनेको नै सामाजिक काम नै त हो । राजनीतिमा लागेर मैले नित्तान्त सामाजिक सेवा गर्ने सोच राखेँ । तर मैले यसलाई राजनीति मात्रै भन्दा पनि समाजसेवाको भावले हेरेको छु । म कुनैपनि राजनीतिक विल्लाधारी मान्छे पनि होइन । मेरो आफ्नै इन्डिपेण्डेन्ट सोचाईहरू छन । मलाई कसैले पनि नराम्रो सुझाव दियो भने त मैले बुझि नै हाल्छु त्यो । तर समग्रमा भन्दा मैले कुनैपनि पार्टीको विल्ला नभिरी स्वतन्त्र ढंगले सामाजिक हितको लागि काम गरेको हुनाले पनि मैले यो निर्वाचन जितेको हुँ जस्तो लागेको छ । यो जीतको पछाडीको मेरो प्रेरणाको स्रोत नेपाल नै हो ।
फरक राजनीतिक विचार भित्रको एउटै एजेण्डा विकास
म सँगै त्यस नगरमा उम्मेदवारी दिनेहरू पनि नभएका होइनन्। त्यहाँ रिपब्लीकन, डेमोक्रयाट र अन्य मझौला स्थानीय पार्टीहरूका प्रतिनिधिको सम्मुखमा मैले आफूलाई एउटा नित्तान्त नागरिक समाज र समाजसेवीको रूपमा उभ्याए । हाम्रो नगरमा धेरै हिउँ पर्छ । सडकमा परेको हिउँ फाल्ने एउटै तरिका हो हिउँ फाल्ने डोजर लगाउनु । यसमा कुनै राजनीतिक दलको विचारले काम गर्दैन । आफ्नो नगरको विकास गर्ने कुरा दलको हिसाबले भन्दा पनि समर्पणको हिसावले गर्ने कुरा हो । स्थानिय आवश्यकताको संवोधन गर्ने हिसावले लाग्ने हो । मेरो भन्नुको अर्थ के हो भने हामी त्यहाँ जति क्याण्डिडेटहरू थियौं । ती सबै स्वतन्त्र पाराले उठेका थियौं । म स्वतन्त्र भएपनि रिपब्लिकबाट उठ्नेले पनि गाउँ विकासकै एजेण्डालाई बोकेर उम्मेदवारी दिएको थियो भने डेमोक्रयाट होस् या त अन्य पार्टी नै पनि सबैले आफनो पार्टीको एजेण्डा होइन कि त्यो नगरको हितको एजेण्डा लिएर गएका थिए । पछि जसले सबैभन्दा बढी भोट पायो उ मेयर भयो । दोस्रो हुने भाईस मेयर भयो र तेस्रो हुने काउन्सिल म्यान भयो । यो निर्वाचनको समयमा मैले के रोमान्चक कुरा देखेँ भने नि अहिले चौथो र पाँचौं भएका उम्मेदवारहरू विगत २५ वर्षदेखि मेयर र भाईस मेयर भएर आफ्नो राज चलाउँदै आएका मान्छेहरू थिए । तर के गर्नु जनताले नयाँ मान्छे खोजे । उहाँहरूले केही गर्न सक्नुभएन भनेर अर्कैलाई रोजे । त्यसैले हामी फरक राजनीतिक विचारधारा बोकेपनि विकासको एउटै विचार बोकेका तीनजनालाई जनताले नगरका तीन पदमा पुर्याए । यसमा मनि मेरो मेयर त जम्मा १९ वर्षको हुनुहुन्छ । उहाँ त्यो नगरमा श्वेत समुदायबाट मेयर भएको मान्छे हो । म नेपाली, उहाँ सबैभन्दा कम उमेरको र अश्वेत व्यक्ति काउन्सिल म्यान बन्नु भएको छ । म गहुँगोरो मान्छे त्यहाँ उपमेयर बनेको छु । म पनि अमेरिकामा नजन्मिएरै पनि पहिलो पटक सार्वजनिक पद प्राप्त गर्ने व्यक्ति बनेर पनि मैले समेत सो नगरमा इतिहास रच्न सकेको छु ।
अमेरिकामा पनि नीतिगत भ्रष्टाचार !
केही समय अगाडि खर्च निकासाको लागि एउटा चेकमा मैले हस्ताक्षर गर्नुपर्ने थियो । त्यहाँ उल्लेख भएको विवरणमा मलाई शंका लाग्यो र मैले त्यसमा थप अनुसन्धान गर्न लगाए । त्यसमा एउटा फर्जी वेभसाईटले रकम माग गरेको भन्ने प्रमाणित भयो । मैले त्यो रोक्का गरिदिएँ । त्यो कति वर्ष देखि भएको थियो होला ? त्यो कुरा मेरै पहलमा भयो । जनप्रतिनिधीहरू मिटिङमा जाँदा खाने बस्ने सुविधामा आफूसँगै आफ्नी श्रीमतीलाई पनि दिने भनेर निर्णय गरेका रहेछन् । मैले त्यसलाई पनि रोकिदिएँ । जनताले मत दिएर जिताएको त मलाई हो । मेरी श्रीमतिलाई त होइन नी ? त्यो पनि मैले रोकिदिएँ । यस्ता यावत नीतिगत समस्याहरू सुल्झाउँदा प्रतिवर्ष हामीलाई ३२ हजार डलर बच्यो । जुन रकम हहामीले नगरको विकासमा खर्च गर्न पाउने भयौं ।
जनतालाई थाहा छैन यस्तो कुरा
मैले माथि जति कुरा भनेँ नि ती कुराहरू मेरा मतदाताहरूलाई थाहा छैनन् । किनभने अमेरिकाका नागरिकलाई कति विश्वास छ भने नि उनीहरूले यसरी दिएको मतबाट निर्वाचित भएकाहरूले यस्तो गद्दारी गर्छन् भन्ने सोचेकोसम्म पनि हुँदैनन् । उनीहरूसँग मेरो धेरै भेट पनि हुँदैन । मेरो जम्मा १० प्रतिशत मतदाताहरूसँग मात्रै सम्पर्क भएको होला । बाँकी त सबै आफ्नै सुरमा हुन्छन् । हामीले पनि उनीहरूले के को लागि हामीलाई चुनेका हुन् त्यो काम गरेर पछि फेरी अर्को निर्वाचनमा मैले तपाईहरू सामू गरेका यस्तायस्ता प्रतिवद्धताहरू पूरा गरेँ । अब फेरि मलाई नै भोट् दिनूस् भन्ने मात्रै हो । काम गर्ने वित्तिकै बढी प्रचारबाजी गरेर मात्रै हुँदैन भन्ने पक्षमा म छु ।
नगरलाई बजेटको स्रोत
बजेटका रुपमा हामीले खर्च गर्ने रकम सबैभन्दा बढी आउने भनेको ट्याक्सहरूबाट हो । रियल स्टेट ट्याक्स, प्रोपर्टी ट्याक्स लगायतका विभिन्न शीर्षकहरूमा उठाईने ट्याक्स नै हाम्रो स्रोतको मुख्य आधार हो । त्यसैगरी केन्द्र सरकारले पनि केही अनुदानहरू वा कमिसनहरू पनि दिन्छ । हामीले हाइवेमा उठाएको ट्याक्स केन्द्र सरकारलाई दिन्छौं । उसले हामीलाई केही प्रतिशत रकम दिन्छ । हामीकहाँ वर्षमा दुई किसिमको बजेट हुन्छ । एउटा बजेट १.२ मिलियनको रहेको छ । अप्रेसन साईट हेर्ने, तल्लो तहका स्टाफहरूलाई तलव दिने लगायत काम त्यो बजेटबाट हुन्छ । अर्को बजेट चाहिँ सरकारले गरेको काम अनुसारको हुन्छ । हामीले सबैलाई आफैंले पानीको व्यवस्था गरेका छौ । हामीले त्यसमा पनि पैसा असुली गर्छौ । त्यस्तैगरी हामीले प्रत्येक घरबाट फोहोर मैला संकलन गरिरहेका हुन्छौं । जसबाट पनि हामीले सीमित कर संकलन गछौं । त्यसबाट आएको पैसा नित्तान्त हामीले यस्तै काममा मात्रै खर्च गर्नु आवश्यक हुन्छ । तर पछिल्ला दिनमा हामीले फाहोरलाई संकलन भन्दा पनि पुनर्प्रयोग तर्फ प्रेरित गरिरहेका छौं । जसको लागि हामीले निशुल्क रिसाईक्लिङको व्यवस्था गरेका छौं । हाम्रा स्थानीय मेकानिकलहरूले कसैको घरमा केही विग्रिने वित्तिकै गएर बनाइदिई हाल्छन् । यसरी नै हामी आफ्नो खर्च व्यवस्थापन गर्छौ ।
नेपालमा जस्तो छैन निर्वाचितको भूमिका
नेपालमा हामीले देख्न सक्छौं कि वडा प्रमुख, गाउँ प्रमुख, नगर प्रमुख आफ्नो गाउँमा केही भएको खण्डमा आफै सम्बन्धित ठाउँमा गएर समस्या समाधान गर्ने गर्छन । तर त्यस्तो अमेरिकामा छैन । हामी निर्वाचितहरु नित्तान्त नीतिगत तहमा काम गर्ने मान्छे हों । हामीले नीतिगत काम गर्ने र आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिने मात्रै हो । सामान्य घटनामा पनि उनीहरूले हामीलाई नै आएर कुरा मिलाईदिए हुने भन्ने कुरा पनि गर्दैनन् । कुनै समस्या पर्यो भने हाम्रो अफिसमा फोन आउँछ । उनीहरूले तुरून्त मेकानिकहरू पठाएर समस्या समाधान गरिहाल्छन् । त्यसैले नेपालमा जस्तो साने साने कुरामा जनप्रतिनिधी देखिनु पर्दैन । काम गर्ने कर्मचारी हुन्छन् । उनीहरुले काम गर्नुपर्छ । नगरेका अवस्थामा उनीहरुलाई स्पष्टिकरण लिने काम जनप्रतिनिधीको हुन्छ । त्यस्तो अवस्थामा त्यस्ता संस्थाहरूसँग छलफल गर्ने, कुराकानी गर्ने लगायतका कुराहरू नीतिगत तहबाट हुन्छ भने सामान्य मुद्दामामला लगायतको कुराको लागि त प्रहरी छ, अदालत छ त्यसले गरीहाल्छ नि ।
अमेरिका जानेहरूलाई सुझाव
अमेरिका जानु धेरै नेपालीहरूको रोजाई र शोखको विषय हो भन्दा पनि फरक नपर्ला । तर मैले यति कुरा भनिरहँदा मैले आफ्नो आफन्तलाई आफ्नो नगरमा ल्यान समेत लाज मान्नु पर्ने अवस्था भएको कुरा त मैले भनि नै सकेको छु । बस्ने ठाउँ, रोजगारी नपाइने, रमाइलो गर्ने ठाउँ नहुँदा त्यहाँ ल्याउन पनि अप्ठ्यारो मान्नुपर्ने अवस्था थियो । यस्ता ठाउँहरू त धेरै छन् होला अमेरिकामा । सबै जनाले पेण्टागनको टावर र न्यूयोर्क सिटीको सपना देखेर अमेरिका जाँदा दुख पाउन सकछन् । मैले आफू जाँदा देखेको मेरो टाउन जस्तो ठाउँ देखियो भने त्यस अवस्थामा के भन्ने ? त्यसैले अमेरिका जान चाहने नेपालीहरूलाई मेरो सुझाव छ । हामी सबैभन्दा पहिले आफू किन अमेरिका जाँदै छु त भनेर स्पष्ट हुनुस । ज्ञानको खोजीमा जाने हो या त कामको खोजीमा ? हामी पैसा कमाउन र धनको खोजीमा जाने हो भने हामीले बस्नको लागि सस्तो रहेको र पैसा पनि कमाई हुने टेक्सास जस्ता राज्यहरूमा जानुपर्यो । त्यस्तै ज्ञानको खोजीमा जाने हो भने पूर्वी अमेरकिा र पश्चिमतिर पनि ठिकै छ । विश्वविद्यालयहरू धेरै भएको ठाउँमा जानुपर्यो । अमेरिकामा फलेको पैसा पाइन्छ भनेर जानु भएन । सेटल हुनको लागि सुरूमा आफूले जानेका जस्तो सुकै काम पनि म गर्न सक्छु भनेर मात्रै जानुपर्ने हुन्छ । तर, हामीमा के प्रवृत्ति छ भने अमेरिका गएपछि त के साना तिना काम गर्नु ? भन्ने सोचाइको कारणले हामीले समस्या झेलिरहेका हुन्छौं । अर्को कुरा हामीले यहाँबाट जाँदा नै आफूले गर्न जानेको काम गरिरहेको मान्छेसँग सम्पर्क गर्नुपर्छ । आफूले एउटा काम गरिरहको हुन्छ अर्को क्षेत्रमा कसले कस्तो मान्छे खोजीरहेको छ भन्ने कसरी थाहा पाउनु ? त्यसैले अमेरिका जानुअघि यस्ता केही विषयमा ध्यान दिनु आवश्यक रहेको छ ।
नेपाली युवाहरूलाई सुझाव
अहिले नेपाली राजनीतिको कारण नेपाली राजनीतिक वातावरण खस्किरहेको देखिन्छ । हामी एक हिसावले एनआरएन बनेपनि हामीलाई पनि जन्मभूमिको माया नहुने होइन । हामी समाचार सुन्छौं तर चिन्ता मात्रै लागेर आउने अवस्था सिर्जना भईरहेको पाउँछौं । यस्तो अवस्थामा नेपालीले नै हो यो स्थितीलाई मिलाएर अगाडि बढाउने भनेको । मैले अमेरिका पुगेर आफू नजन्मिएको भूमिलाई त केहि गर्नुपर्छ भनेर लाग्दा त्यहाँका मानिसले त मन पराए भने नेपालीले नेपाल बनाउन त भोटको लागि होइन । आफ्नो माटोको माया गरेरै पनि मरिमेटेर लाग्नु आवश्यक छ भन्ने मलाई लाग्छ । त्यस्तै राजनीतिमा लागेकाहरूलाई पनि यो माननीय पद भनेको पब्लिकको सेवाको लागि बनाईएको हो । यहाँ पुगेर आफ्नो सेवा गर्ने होइन भनेर बुझ्नु जरुरी छ । उनीहरुलाई यूवाहरुले नै दवाव दिएर सहि बाटोमा ल्याउन सक्छन् । म अहिले जुन ठाउँमा पुगेको छु त्यसको सबैभन्दा महत्वपूर्ण भूमिका भनेको शिक्षाको नै रहेको छ । यसको लागि विभेदरहित शिक्षा आरम्भ गर्नुपर्छ । त्यसको लागि कुनैपनि विद्यार्थिलाई विभेदभन्दा बाहिर रहनेगरी व्यवस्था गर्नुपर्छ र शिक्षा क्षेत्रको सर्वाङ्गिण विकासको लागि युवाहरू र सरकार सबैले एकजूट भएर काम गर्ने हो भने नेपालले पनि छिट्टै प्रगति गर्न सक्षम हुन्छ । यसको लागि सबैजना केन्द्रीत हुनुपर्छ भन्न चाहन्छु ।