- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
देवताहरू महिषासुरको अन्याय, अत्याचारबाट पीडित भइरहेका थिए । उनीहरू जहिले पनि डराएर बसिरहन्थे । उनीहरू सबै गएर उसको अत्याचारबाट छुटकारा पाउँ भनी देवीकहाँ स्तुति गर्न गए । देवताहरूको स्तुतिबाट खुसी भएर महामाया भगवतीले महिषासुरलाई रणभूमिमा मारेर उसको अत्याचारबाट मुक्त गरिदिने आश्वासन दिइन् ।
उनले देवताहरूलाई भनिन्, 'हे देवताहरू हो, संसार मोह र भयले ग्रसित छ । काल नै सुख दुःखको कर्ता बन्दछ । सृष्टि, स्थिति, प्रलय गराउने देवताहरू पनि राक्षसबाट डराएका हुन्छन् ।'
देवताहरूलाई यति भनी सकेपछि उनले ठुलो आवाजमा गर्जना गर्न लागिन् । उनको यस्तो आवाज सुनेर सुमेरु पर्वत हल्लन लाग्यो, समुद्रमा छालहरू आउन थाले । दानवहरू भयभीत भए । यो आवाजले देवताहरू भने खुसी भए । उनीहरू देवीको जय पुकार गरेर जय जय भन्दै आ आफ्नो ठाउँमा गए ।
महिषासुर देवीको आवाज सुनेर रिसायो । उसले यस्तो ठुलो अबाज कसको हो भनेर पत्ता लगाउन र समातेर ल्याउन भनेर दूतहरू खटायो ।
आफ्नो राजाको आज्ञा दूतहरूले माने र अगाडि बढे । उनीहरू १८ भुजा भएकी भगवतीको अगाडि पुगे । भगवती आफ्नो हातमा मधु पात्र लिएर उत्तम हाथ हतियारबाट सज्जिएकी थिइन् । भगवतीको यस्तो डरलाग्दो रूप देखेर उनीहरू भागे र आफ्नो राजाको अगाडि गएर रूपको वर्णन गर्न लागे ।
उनीहरूले देवीको रूप आफूले कहिले नदेखेको, न दानव, न मनुष्य कुनै रूप दिनै नसकिने कुरा बताए । उता देवताहरू भने देवीको स्तुति नै गरिरहे । ती देवी शृङ्गार, हास्य, रौद्र र अद्भुत रसले सम्पन्न भएकी थिइन् ।
उनको रूपको यस्तो वर्णन सुनेपछि महिषासुरले आफ्ना मन्त्रीहरूलाई बोलायो र देवीलाई समातेर ल्याउन लावा लस्कर, हात्ती घोडा आदि सहित पठायो । उ देवीको सामुन्ने पुग्यो र आफू सम्पूर्ण देवताहरूलाई जितेका महिषासुरको मन्त्री भएको बताएर कहाँबाट आएको, काम के आदि भनेर देवीलाई सोध्न थाल्यो ।
उसको यस्तो कुरा सुनेपछि देवीले आफूलाई देवमाता भनेर चिन्न र महिषासुर स्त्रीको हातबाट मर्नु पर्ने वरदान पाएकोले आफू स्त्रीको रूपमा प्रकट भएको कुरा बताइन् । देवीले दूतको पनि महिषासुरको जस्तै पशु बुद्धि भएको र दैव प्रतिकूल हुने वेलामा एक त्यान्द्रो घाँस पनि ठुलो हतियार को रूपमा परिणत हुने कुरा बताइन् अनि अनेक प्रकारका गाली गर्न लागिन् ।
(क्रमशः...)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com