- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्राध्द भनेको श्रध्दा हो । आफ्ना पितृहरूलाई सम्झने र श्रद्धा गरिने विशेष दिन नै श्राध्द हो । नेपाली बृहत शब्दकोषमा बताइए अनुसार श्राध्द भनेको शास्त्र तथा कुलका अनुसार पितृहरूले पाउन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म हो । यसैगरी आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावास्यासम्मको र आश्विन शुक्ल पक्षको प्रतिपदाका दिन गरिने मातामहको श्राध्द समेतको दिनलाई सोह्र श्राध्द भनिन्छ । सोह्र दिनका तिथि हुनाले सोह्र श्राध्द भनिएको हो । यो वर्ष पनि यही असोज ५ गते मंगलबारदेखि २० गते बुधबारसम्म सोह्र श्राध्दका तिथि परेका छन् ।
हिन्दू धर्मशास्त्र अनुसार जब मान्छेको मृत्यु हुन्छ उसले सत्ताइस तत्त्वले बनेको स्थूल शरीर छाड्छ र सत्र तत्त्वहरूले बनेको सूक्ष्म शरीर धारण गर्दछ । पाँच कर्मेन्द्रीय, पाँच ज्ञानेन्द्रीय, पाँच प्राण, पाँच महाभूत, अनि मन, बुद्धि, चित्त, अहंकार, अविद्या, काम र कर्म गरी सत्ताइसमध्ये पाँच महाभूत र पाँच कर्मेन्द्रीय छाडेर बनेको सूक्ष्म शरीरले पनि हरेक चिजको उपभोग गर्न चाहन्छ । तापनि प्राप्त गर्न सक्दैन ।
यही परलोक गएका पितृहरूले आफ्नो उपभोग गर्ने चाहना पूर्ति हुन सकोस् भनी पिण्डदान दिइन्छ भनिएको छ । पितृहरूको रक्त सम्बन्ध र अंश सम्बन्धको ऋणबाट मुक्त हुन वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न उनीहरूको गोत्र र नाम जप्दै श्राध्द गरिन्छ ।
हाम्रो सनातन हिन्दू धर्म परम्परामा बाँचुञ्जेल सेवा गर र मृत्युपछि श्रद्धापूर्वक श्राध्द गर्नुपर्छ भनिएको छ । श्राध्द किन गरिनुपर्छ, कहिले गर्ने र कसरी गर्ने भनेर हिन्दू धर्मशास्त्रमा बताइएको छ । परम्परा, संस्कृति र संस्कार भन्ने कुरा हाम्रो अस्तित्वसँग जोडिएको हुनाले सबै कुरालाई अनुशरण गर्नुपर्छ । हिन्दू धर्म परम्परा सनातन परम्परा हो ।
यसका लिखित अलिखित थुप्रै मान्यता छन् । यसका अधिकांश मान्यता वैज्ञानिक र व्यवहारिक छन् भने केही मान्यताहरू भ्रमपूर्ण पनि छन् । कसैका पनि संस्कार र संस्कृतिहरू ल्याबमा राखेर नबनाइने हुनाले सबै विज्ञानसम्मत नहुनुमा पनि आश्चर्य मान्नु पर्दैन । सबभन्दा ठूलो कुरा आस्था हो । जब हामीभित्र हाम्रो धर्मप्रति आस्था रहन्छ अनि मात्र संस्कारलाई सकारात्मक तरिकाले सोचेर ग्रहण गर्न सक्छौं ।
श्राध्दमा पनि आफ्ना पितृहरूप्रति श्रध्दा प्रकट गर्ने उनीहरूको सुख दुःखका इतिहास सम्झने, योगदानको चर्चा गर्ने, उनीहरूका इच्छा र सपना के कति पूरा गरियो के गर्न बाँकी छ भनेर स्मरण गर्ने, पितृका स्मरणमा नयाँ कामको शुरुवात गर्ने, गरिब दीनदुःखीलाई दान दिने आदि थुप्रै कर्म गर्न सकिन्छ । हिन्दू धर्ममा मात्र होइन विश्वका सबै धर्ममा वर्षको कुनै दिन पितृपूजा वा स्मृति दिवस हुन्छ ।
परम्परालाई मान्ने भनेको बिरालो बाँधेर श्राध्द गरिनु पर्छ भनिएको होइन। संस्कार र संस्कृति रक्षा गर्दै कतिपय भ्रमित कुरा छन् भने समय सापेक्ष परिवर्तन हुनु पर्ने पनि देखिन्छ। जातपात र लैङ्गिक विभेदका कुरा केही विवादास्पद पनि देखिन्छन् । यिनलाई निर्क्यौल गर्दै जानुपर्छ । हिन्दू धर्ममा महिला रजस्वला हुँदा बार्ने, छोरीले बाबुआमाको क्रिया गर्न नहुने र कोही तल्लो र कोही उपल्लो जात भनिने जस्ता कुराहरू हटाइनु पर्छ ।
हामी सबै ईश्वरका अंश हौं र सबै बराबर नै हौं। हिन्दू धर्मशास्त्रीहरूले पनि हिन्दू धर्ममा कुनै विभेद छैन भनी प्रवचन दिएको सुनिन्छ । आफना पितृलाई श्रद्धा गरिने त्यो विशेष दिन वा तिथिमा आफन्त, इष्टमित्र, नातेदार, छरछिमेक बोलाउने र आफूसक्दो सत्कार र भोजन गराउन सकिन्छ ।
हाम्रो शास्त्रमा श्राध्दका प्रकार र विधि पनि बताइएको छ। मत्स्यपुराण अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका श्राध्द हुने बताइएको छ । नित्य श्राध्द भनेको देवता, ऋषि र पितृलाई गरिने श्रद्धा हो भने नैमित्तिक श्राध्द भनेको मृतको क्रियाकर्म, वार्षिक श्राध्द, एकोद्दिष्ट श्राध्द, पार्वण श्राध्द, तीर्थको श्राध्द आदि पर्दछन् ।
त्यस्तै काम्य भनेको कुनै माङ्गलिक कार्यमा कुनै नराम्रो घटना, कसैको मृत्युसूतक घटना आदि नपरोस् भनी गरिने श्राध्द हो । यसलाई नान्दी वा वृद्धि श्राध्द पनि भनिन्छ एकोद्दिष्ट श्राध्द पितृ स्वर्गारोहण भएको तिथिका दिन गरिन्छ भने पार्वण श्राध्द जुनसुकै तिथिमा गर्न सकिन्छ भनिएको छ । तापनि बुबा वा हजुरबुबाको तिथिका दिन गरिने चलन छ।
कुनै कारण रोकिएर यो पन्ध्र दिनमा श्राध्द गर्न पाइएन भने लक्ष्मीपूजाको औंसीमा गर्ने गरेको पाइन्छ । यसैगरी सोह्र श्राध्दमा कसैले सोह्र, कसैले छ र कसैले धेरै पिण्ड दिने चलन छ। सोह्र श्राध्द अपराह्न कालमा गरिनुपर्छ । सूर्योदयदेखि सूर्यास्तको समयलाई दिनमान भनिन्छ । दिनमानलाई पाँच भाग लगाएर अपरान्ह कालमा सोह्र श्राध्द गरिनुपर्छ भनी बताइएको छ। पाँच कालमा प्रातः, सङ्गव, मध्याह्न, अपरान्ह र सायं हुन् ।
शास्त्र अनुसार एकोद्दिष्ट श्राध्द वा सोह्र श्राध्द गर्दाको अघिल्लो दिन एक छाक खाने, घर सरसफाइ गर्ने, सफा र शुद्ध वस्त्र धारण गर्ने, कपाल फाल्ने, हातखुट्टाका नङ फाल्ने, चोखो खाने, परिवार सबै जम्मा हुने, ब्राह्मण बोलाउने, विधि बिधान अनुसार पितृलाई स्मरण गरी तर्पण, सिदादान र पिण्डदान जस्ता कार्य हुन्छन् ।
श्राध्द मानवीय जीवनको एउटा महत्त्वपूर्ण कर्म हो । त्यसैमा पनि सोह्र श्राध्द गर्नाले पितृ प्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। श्राध्दमा प्रयोग गरिने सामग्री गंगाजल, तुल्सीपत्र, सेतो फूल, जौ, तिल, जनै, सुपारी, दुना, टपरी, गाईको दूध, कुश, चामल, दक्षिणा आदि चाहिन्छन् । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादशैँ शुरु हुन्छ ।
यस पितृपक्षमा आफ्ना दिवङ्त पितृहरूको सम्झनामा एउटा उदाहरणीय काम गर्न सकिन्छ । ब्राह्मण बोलाएर सिदादान, पिण्डदान मात्र होइन पितृहरूको सम्झनामा आफूसक्दो अन्य परोपकारी कार्य गर्न सकिन्छ । श्राध्दलाई पितृहरूलाई स्मरण र श्रध्दा गर्ने एउटा विशेष स्मृति दिवसका रुपमा निरन्तरता दिइनुपर्छ ।