arrow

बाराका किसानहरूलाई मेगा बैङ्कको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
mega-bank-bara.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रूपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

मेगा बैङ्कले उर्वर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैङ्कको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरूको बारेमा जानकारी प्रदान गरेको हो।

बैङ्कले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रूपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरूलाई व्यावसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तर्क्रिया समेत गरेको छ।

कार्यक्रममा मेगा बैङ्कका विभागीय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगन्ज शाखाका प्रमुख बेलाल अहमदले बैङ्किङ सेवा सुविधाहरू, बचत, ऋण, रेमिटेन्स, बचत गर्ने उपायहरू, बचत तथा ऋणको महत्त्वको बारेमा जानकारी दिएका थिए। नेपाल कृषिप्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढङ्गले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरूको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरूले जोड दिए।

उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैङ्कले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ।

साथै, मेगा बैङ्कले कृषकहरूलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बिउ, मल, किटनाशक औषधी लगायतका सामानहरू तोकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरूबाट खरिद गर्न सक्नेछन्। किसान कार्ड मेगा बैङ्कले कृषकहरूलाई जारी गरेको पहिलो आधुनिक बैङ्किङ सेवा हो, जसले किसानहरूलाई बैङ्किङ तथा साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ।

उक्त कार्यक्रममा उर्वर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्वर नेपाल रौतहटका जिल्ला संयोजक गौरीशङ्कर पाण्डे  लगायतले उर्वर नेपालले किसानहरूको उत्पादन उर्वर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पुर्‍याउने ब्यहोरा बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ