- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विजया दशमीको चाड हामी मनाउँदै छौँ । यस चाड शारदीय नवरात्री भित्र पर्दछ । आसुरी शक्ति माथि दैवी शक्तिको विजय भएको रूपमा यसलाई मनाइन्छ । नेपालमा पनि घरघरमा कुभिन्डोको वली दिइएर समेत दुर्गा भवानीको पूजा, आराधना गरिन्छ । शक्ति पीठ हरूमा अद्यापि भाले जनावरको वली दिइने चलन छंदैछ ।
जन्मेदेखि घाँटीमा डोरी बाँधिएर पालिएको जनावरलाई वली दिँदा हामी गर्व गर्न पनि पछि हट्दैनौँ । जे जसो भए पनि लाखौँ निर्दोष जनावरहरू यस चाडमा मारिन्छन् । यस चाडको बारेमा देवी भागवतमा उल्लेख भए अनुसारको छोटो प्रसङ्ग यहाँ प्रस्तुत गरिन लागिएको छ ।
दशरथको वचन पालना गरेर सीता सहित राम, लक्ष्मण बन पुगेको वेलामा रावणले सीतालाई हरण गरेपछि राम आफ्ना भाइ लक्ष्मण सहित सीताको खोजमा गए । नारायणको अवतारको रूपमा अवतरित भएका उनी बारम्बार दिक्दार पनि भए, साधारण पुरुष सरह विरह पनि गर्न थाले । लक्ष्मणले सम्झाए, उनले चित्त बुझाए ।
एक दिन नारद ऋषि आकाश मार्ग हुँदै आए । उनलाई देखेपछि राम लक्ष्मणले यथोचित तवरले स्वागत गरे, उनले पनि रामसित आफूलाई मनमा लागेको कुरा गरे । उनले रामलाई देवीको उपासना गरे यी सब झन्झटबाट मुक्त हुने कुरा बताए र आफू फर्केर गए । उनी फर्केपछि रामले उनले बताए अनुसार देवीको आराधना गर्न सुरु गरे ।
उनको आराधनाबाट प्रसन्न भएर सिंह बाहिनी देवी प्रकट भइन् र रामलाई हे राम, म हजुरको आराधनाले खुसी भएकी छु, नारायणको अंशी भएका हजुरलाई बर म दिन तयार छु भन्न थालिन् । उनले रामलाई पूर्व अवतारमा मत्स्य अवतार लिएर दैत्यहरूको नाश गरेर वेदको रक्षा गरेको कुरा सम्झाइन् ।
त्यसै गरी कच्छप अवतार लिएर मन्दराचल पर्वतलाई पिठ्युँमा धारण गरेर पृथ्वीको रक्षा गरेको र नृसिंह रुमलिएर हिरण्यकशिपुको वध गरेको अनि जमदग्नीको छोरा परशुराम भएर क्षत्रियको संहार गरेको र समस्य देवताहरुको आराधनाबाट प्रसन्न भएर रामावतार लिनुभएको कुरा बताइन् र रामको प्रशंसा गरिन् ।
देवीले देवताहरुको अंशी भएका वानरहरूले मेरै शक्तिले हजुरको काम फत्ते गर्नेछन् र राक्षसहरूको संहार गर्नेछन् अनि शेषको अवतारमा अवतरित लक्ष्मणले मेघनाद जस्तो वीरको पनि संहार गर्नेछन् भन्ने कुरा बताइन् ।
उनले रामलाई यी सबै प्रसङ्गले गर्दा कुनै पनि शङ्का नलिईकन अगाडि बढ्न र दश हजार वर्षसम्म अकण्टक राज्य गरेर पुनः देवलोकमा फर्कने सल्लाह दिइन् र आफू अन्तर्धान भइन् ।
रामले पनि देवीको उपासना गर्न सुरु गरे र आराधना पूरा भएपछि विजया पूजन गरेर लावा लस्कर सहित समुद्रतर्फ यात्रा सुरु गरे र रावणमाथि विजय प्राप्त गरे ।
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com