- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सङ्ग्राम हुनु अघि देवीले महिषासुरलाई मन्दोदरी र राजाको बारेमा जानकारी लिन खोजिन् । महिषासुरले आफू सर्वगुण सम्पन्न भएको, सबैलाई विजय गरिसकेकोले देवीसँग आफूलाई वरण गर्न उचित भन्दै सिंहल देश (जुन समुद्रको बिचको टापुमा रहेको छ, जसलाई लङ्का पनि भनिन्छ) चन्द्रशेन नाम गरेका राजाको प्रसङ्ग उठायो । उनको छोरी परम सुन्दरी थिइन् । ती राजा अति धर्मात्मा थिए । उनी शास्त्रमा निपुण पनि थिए । उनको पत्नी पनि अति रूपवती र गुणले सम्पन्न थिइन् ।
राजपत्नीको गर्भबाट एक सुन्दर कन्याले जन्म लिइन् । उनको नाम मन्दोदरी राखियो । बिस्तारै बिस्तारै उनको शरीरमा यौवनका लक्षणहरू देखिन थाले । राजाले छोरीको विवाह कश्यप देशका राजकुमार कम्बुग्रीवसंग गर्ने अठोट गरे । उनी पनि सर्वगुण सम्पन्न थिए ।
मन्दोदरीले आफ्नो विवाहको कुरा चलेको सुनेर आमासँग आफू कौमारी व्रत लिने, विवाह गरेपछि मानिस बन्धनमा पर्ने, परतन्त्र आफूलाई मन नपर्ने, स्वतन्त्रताले मात्र मोक्ष मिल्ने, संसारमा सुख नहुने, पतिको मृत्यु भएमा पत्नीले वैधव्य जीवन बिताउनु पर्ने आदि अनेक कुरा हरू आइपर्ने तर्क दिँदै आफू कुनै हालतमा पनि विवाह नगर्ने कुरा बताइन् । छोरीले यस्तो तर्क गरेको कुरा आमाले बाबुलाई बताइन् । बाबु चुप रहे ।
एक दिन ती कन्या साथीहरूसँग बगैँचामा विहार गर्दै थिइन् । संयोगवश उनलाई त्यही बाटोबाट हिँडिरहेका कौशल देश ( अयोध्या) का राजा वीरशेनले देखे । वीरशेनले राजकुमारीको बारेमा उनकी सङ्गिनी (सैरन्ध्री) सँग सोध खोज गरे र आफू राजकुमारीसँग विवाह गर्न योग्य भएकोले विवाहको कुरा चलाउन आग्रह गरे । वीरशेनको कुरा राजकुमारीलाई ती दासीले बताइन् । ती दासी काम शास्त्रमा प्रवीण थिइन् । राजकुमारीले उनको कुरा मानिनन् र आफू तपस्यामा लाग्ने कुरा बताइन् । उनको यस्तो कुरा सुनेर सङ्गिनीले कामदेव माथि विजय पाउन कठिन हुने, यस्तो मौका गुमायो भने जीवनभर पछुताउनु पर्ने आदि कुरा बताइन् तर उनले जति सम्झाउँदा पनि राजकुमारीले मानिनन् र राजा निराश भएर फर्केर गए ।
मन्दोदरीको एउटा बहिनी थिइन्, जसको नाम इन्दुमती थियो । ती केटी पनि बिस्तारै बिस्तारै विवाह योग्य उमेरमा पुगिन् । राजाले उनको विवाह एक राजा सँग गरिदिए । विवाहमा अनेक देशका पाहुनाहरू उपस्थित थिए । मन्दोदरीले पनि एउटा राजा देखिन् र उनको रूपमा मोहित भएर आफू काम वासनाले पीडित भएको कुरा बाबुलाई बताइन् । उनको आग्रह अनुसार राजाले त्यसै राजासँग विवाह गरिदिए । ती राजा अति धूर्त थिए । ऊनी अर्को स्त्रीसङ पनि लागेका कुरा मन्दोदरीले थाहा पाइन् । उनको मनमा शान्ति भएन । उनले यो कुरा कसैलाई पनि बताइनन् र पतिकै घरमा समय बिताउन लागिन् ।
त्यसैले आफू योग्य भएको हुनाले अहिलेको मौका गुमायौ भने पछुताउ गर्नु पर्ला भनेर देवीलाई सम्झाउने कोसिस गर्यो । त्यसपछि देवीको हातबाट उसको मृत्यु हुन गएको कुरा पहिले कै प्रसङ्गमा उल्लेख गरिसकिएको छ । ( अस्तु )
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com