arrow

भागवान् श्रीकृष्णको यसरी सकियो वंश

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
shree-krishna.jpeg

गौरीघाट । भागवान् श्रीकृष्णले राक्षसहरूबाट पृथ्वीको भार हर्नुभयो तर छपन्न कोटि यदुवंशी भने पृथ्वीको भार भइरहेकै थिए । उहाँले आफ्नो मायाले नै यो वंश पनि नाश गर्ने बिचार गर्नुभयो । 

कुनै दिन साम्बसहित यदुवंशका केही केटाहरू विश्वामित्र, दुर्वासा आदि ऋषिहरू तपस्या गरेको ठाउँ पिण्डारक क्षेत्रमा पुगे । उनीहरूलाई ऋषिहरूसँग जिस्कने मन भयो र साम्बको पेटमा कपडा बेर्न लगाए । उनीहरूले ऋषिहरूलाई “यी गर्भवती छिन्, यिनले के जन्माउँछिन् ?” भनेर सोधे ।

ऋषिहरूले “यिनको गर्भबाट फलामको मुसल जन्मन्छ । त्यही मुसल यदुवंशको नाशको कारण बन्नेछ” भन्ने श्राप दिए । नभन्दै पेट हेर्दा मुसल नै निस्कियो । मुसल निस्केपछि सबै डराए तर श्रीकृष्ण भगवान्‌लाई त्यो कुरा थाहा नै नदिई मुसललाई सानो सानो चूर्ण बनाएर समुद्रमा बगाइदिए र बाँकी सानो टुक्रा त्यसै फ्याँकिदिए । त्यो टुक्रा माछाले निल्यो । त्यो माछालाई जरा नाम भएको माझीले जालमा पार्‍यो । पानीमा बगेको फलामको चूर्ण समुद्रको तीरमा पुग्यो र सुइरो भएको (एरका) झारको रूपमा प्रकट भयो ।
 
माझीले माछाको पेट चिर्दा फलाम निस्क्यो । त्यही फलाम यदुवंशको नाशको निमित्त हुन पुग्यो । श्रीकृष्ण भगवान्‌ले त्यो श्राप मोक्ष गर्न सक्नुहुन्थ्यो तर त्यही श्रापलाई नै उहाँबाट अनुमोदन भयो । पृथ्वीको भार भएका यदुवंशीहरूले प्रभास क्षेत्रमा मङ्गलकार्य गरेपछि मत्त भएर बारूणी मदिरा पिए । त्यही मदिराको नशाको वशमा परेर एरका घाँस उखेलेर एकआपसमा हानाहान गरे । यसरी झगडा गरे अनि नाश भए ।

साम्बको बारेमा एउटा सानो प्रसङ्ग । एक दिन नारद ऋषि श्रीकृष्णलाई भेट गर्न जानुभयो । उहाँको आगमनपछि श्रीकृष्णले उहाँलाई पाद्य, अर्घ आदिले ससम्मान पूजा गर्नुभयो । आसन ग्रहण गरेपछि नारदले श्रीकृष्णसँग एकान्तमा केही कुरा बिन्ती गर्नुपरेकोले म आएको हुँ भन्नुभयो । श्रीकृष्णको स्वीकृति पछि नारदजीले “साम्बको रूपले गर्दा वरपरका स्त्रीहरू मोहित र उच्छृङ्खल भइरहेका छन्, जसले गर्दा सत्य लोकमा पनि हजुरको निन्दा भइरहेको छ, त्यसैले साम्बलाई त्याग गर्नु नै कल्याण हुने” भन्ने कुरा राख्नुभयो । नारद ऋषिको यो कुरा सुनेर श्रीकृष्णले वरपरका स्त्रीसहित साम्बलाई पनि आफू सम्मुख बोलाउनुभयो । सबै बसे । साम्बले श्रीकृष्णलाई  यसरी बोलाउनु परेको कारण सोधे । केही छिनपछि श्रीकृष्णले सबै स्त्रीहरूलाई फर्केर जानु भन्नु भयो र सबै फर्केर गए ।
 
साम्ब त्यहीँ बसिरहे । श्रीकृष्णले साम्बलाई कुरूप हुने श्राप दिनु भयो । साम्ब तुरुन्तै कोढी भए । उनको शरीरबाट फोहोरको दुर्गन्ध निस्कन लाग्यो । उनको यो स्थिति देखेर नारदले त्यो श्रापबाट मुक्ति पाउन सूर्यको स्तुति गर्न लगाए । साम्बले सूर्यको स्तुति गरिसकेपछि सूर्य प्रकट भएर उनलाई रोगबाट मुक्त गरिदिए । उनले गरेको सूर्यको स्तुतिको नाम हो “साम्बपञ्चाशिका” । (संकलित) 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



नयाँ