- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजा जनकको मनमा शान्ति भएको थिएन । उनी आत्मज्ञानी गुरुका खोजीमा थिए । अष्टावक्र ऋषिलाई उनी भेट गर्दछन् अनि आफ्नो चेला बनाउन आग्रह गर्दछन् । ऋषि पनि जनकको अनुरोध स्वीकार गर्नुअघि उनको मनोभावना बुझ्दछन् अनि मात्र आत्मज्ञान दिन उपयुक्त पात्र सम्झेर उपदेश दिन थाल्दछन् ।
ऋषि भन्दछन्, 'मुक्तिमिच्छति चेत्तात विषयान् विषवत्त्यज ।' जसको भाव हो, 'हे राजा, तिमी मुक्तिको इच्छा गर्दछौ भने विषय वासना (शब्द, स्पर्श, रूप, रस आदि) लाई विष बराबर सम्झेर त्याग गर ।' यसरी अष्टावक्र जनकका गुरु भएका थिए ।
यिनै अष्टावक्रका बारेमा महाभारतमा एउटा प्रसङ्ग पढ्न पाइन्छ । एक पटक ऋषिलाई विवाह गर्ने मन भएछ र वदान्य ऋषि कहाँ गएर उनको छोरी सुप्रभा आफूलाई कन्यादान दिन आग्रह गरेछन् । ऋषिले पनि उनको आग्रह स्वीकार गर्दै स्त्री रूप धारिणी उत्तर दिशाको दर्शन, पूजा गरेर आएपछि मात्र कन्या दिने प्रतिज्ञा गर्दछन् । अष्टावक्र पनि कहाँ, कसरी जाने आदि जानकारी माग्दछन् र ऋषिले भने अनुसार यात्रामा प्रस्थान गर्दछन् ।
यात्राको क्रममा उनी बाहुदा नदिमा स्नान गर्दै, कुवेरको राजधानी अलकापुरी पुगे । त्यहाँ उनले कुवेरलाई भेट गरे । कुवेरले ऋषिको पूजा गरे । कुवेरको दरबारमा बसेर उनले नाचगान पनि हेरे । कुवेरलाई उनले आफूलाई स्वागत गरेकोमा धन्यवाद दिएर यात्रा चालू गरेर कैलाश पुगे कैलाशमा उनले अनेक पिशाच, भूत, प्रेत आदिले शिवजीको सेवा गरेको, नृत्य गरेको देख्दछन् । उनले कैलाशको तीन पटक परिक्रमा गरे अनि अगाडि बढ्दै गए । उनी मेघले शोभायमान भएको जस्तो अर्को स्वच्छ, नीलो, समतल तथा अनेक प्रकारका रुखले पूर्ण नगर भित्र पस्दछन् । त्यहाँ उनले एउटा रमणीय आश्रम पनि देखे ।
आश्रमको मूल ढोकामा पुगेर उनले आफू अतिथि भएर आएको कुरा सुनाए । उनको आवाज सुनेर मन लोभ्याउने सुन्दरी कन्याहरू आए । त्यस वेलामा उनको मन खुब विचलित भयो तर संयमी भएकाले यस्ता दृश्यहरूले उनलाई केही प्रभाव पार्न सकेन । कन्याहरूको आग्रह अनुसार उनी भित्र पसे । त्यहाँ उनले जीर्ण शरीर भएकी एक स्त्रीलाई देखे । यथोचित अभिवादन भएपछि उनले भने, 'जुन स्त्री ज्ञानवती र मन तथा इन्द्रियलाई शान्त राख्न सक्दछन्, उनी मात्र बस्नु, अरू जानु' भने । सबै फर्केर गए । वृद्धा स्त्री मात्र त्यहीँ बसिरहिन् ।
भोजन पछि राती सुत्ने बेलामा अष्टावक्र एउटा खाटमा तथा वृद्धा अर्को खाटमा सुते । अष्टावक्रको परीक्षाको लागि ती वृद्धाले केही समय बित्तेपछि आफूलाई जाडो भएको बहाना पारेर अष्टावक्रको खाटमा सुत्न आइन् । अष्टावक्रले पनि स्वागत गरे । वृद्धाले अष्टावक्रलाई आफू कामातुर भएको बहानाले अँगालो हालिन् तर अष्टावक्रको शरीर सुकेको काठको जस्तो पाइन् । अष्टावक्रले उनलाई आफू यस्ता विषयबाट टाढै भएको र कन्या केटीको मात्र पाणीग्रहण गर्ने, पर स्त्रीसँग परै रहने कुरा बताए । उनले 'जसले विवाह नै गरेको छैन त्यस्ती स्त्री पनि कन्या केटी नै हुन्' भनिन् तर पनि उनले त्यो अनुरोध स्वीकार गरेनन् ।
दिन बित्दै गयो, उनी रूप यौवनले सम्पन्न हुँदै गइन् । उनले अष्टावक्रलाई अनेक प्रकारले आफूतिर आकर्षण गर्ने कोसिस गरिन्, स्याहार सुसार गर्दै गइन् तर पनि अष्टावक्र आफ्नो अठोटबाट पछि हटेनन् । उनले ती स्त्रीलाई भने, 'स्वेच्छाचारी मानिसलाई मात्र सबै पाप कर्मले आफूतिर तान्दछ, जो धैर्य गरेर आफ्नो मनलाई वशमा राख्दछ, यस्ता कुनै विषयमा पनि ऊ रमाउन चाहँदैन, त्याग गर्दछ' भनेर उपदेश दिए ।
अष्टावक्रले स्त्रीलाई वृद्धा र रूप यौवन सम्पन्न बनेको कारण सोधे । उनले जवाफ दिइन्, 'मैले तपाईँको परीक्षा लिन यी सब कार्य गरेको हुँ, वृद्धावस्थामा पनि मनुष्यले कामवासनाबाट मुक्ति पाउन नसक्ने दृष्टान्त दिन यसो गर्नुपरेको हो, उत्तर दिशा भनेको म नै हुँ, तपाईँलाई ज्ञान दिन भनेर ऋषिले म कहाँ पठाउनु भएको हो, मलाई सब कुरा थाहा छ, अव तपाई ऋषिको आश्रममा जानुस्, तपाईँको मार्ग सुगम हुनेछ' भनिन् ।
अष्टावक्र त्यहाँबाट फर्केर आए र ऋषिकहाँ पुगेर सबै वृत्तान्त बताए । ऋषि खुसी भए र आफ्नो छोरी दिए । दुवै आश्रममा सुखसँग बस्न थाले ।
( तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com