arrow

एमाले महाधिवेशन: पदाधिकारी सर्वसम्मतको प्रयास; पोखरेल, भुसाल लगायतलाई अफठ्यारो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
uml-10th-convention-chitwan.jpg

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशनमा पार्टी अध्यक्ष भन्दा अन्य पदका लागि रस्साकस्सी शुरु भए पनि निर्वाचित हुने १५ पदाधिकारीमा नयाँ अनुहार भन्दा पुरानै अनुहारले प्राथमिकता पाउने सम्भावना बढ्दै गएको छ। ओलीको विकल्प दिन अहिलेको अवस्थामा कोही तयार नभएपछि अध्यक्ष भन्दा १४ पदाधिकारीमा रस्साकस्सी देखिदा पनि पुरानै अनुहारले प्राथमिकता पाउने अवस्था छ। 

विधानमा व्यवस्था भए बमोजिम वरिष्ठ उपाध्यक्ष र महासचिव तथा उपमहासचिव पदका लागि रस्साकस्सी शुरु भएको छ। महाधिवेशन आउन करिब १६ दिन बाँकी हुँदासम्म कसैले पनि पदाधिकारीमा आफ्नो उम्मेदवारी घोषणा नगरे पनि भित्र भित्रै पदाधिकारीका लागि रस्साकस्सी चलेको हो। महासचिव ईश्वर पोखरेलकै लागि वरिष्ठ उपाध्यक्ष पदमा भीम रावल, सुवास नेम्वाङ पनि दाबेदार देखिएका छन्। उपाध्यक्षमा रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, लालबाबु पण्डित, रहेको छ । अहिलेका उपाध्यक्ष युवराज ज्ञवालीलाई भने पार्टीभित्र कुनै आयोगको जिम्मेवारी दिने तयारी भएको छ। 

महासचिव, उपमहासचिवका लागि पनि आकाङ्क्षी रहेका छन्। तर महासचिवमा भने विष्णु पौडेल मात्रै दाबी गरिरहेका छन्। एमाले–माओवादी एकीकरणपछि बनेको शक्तिशाली महासचिव बनेका पौडेल एमालेको दशौँ महाधिवेशनमा स्वाभाविक महासचिवका हकदार रहेका छन्। आगामी एघारौ महाधिवेशमा पार्टी पछिल्लो पुस्ताकै नेतृत्व हुने भएकाले शङ्कर पोखरेलले तत्काल आफ्नै समूहभित्र लडाई नगर्ने रणनीति लिएपछि पौडेलका लागि अझ सहज भएको एमाले वृत्तमा चर्चा चलेको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलले शङ्कर पोखरेललाई महासचिव बनाउने कोसिस गरे पनि सङ्गठनमा पौडेलको राम्रो पकड रहँदा पोखरेललाई अप्ठेरो परेको हो। ‘आफ्नै टिमभित्र भिड्ने अवस्था भएन अहिलेलाई महासचिव विष्णु पौडेल नै हुन् त्यसपछि मात्रै शङ्कर पोखरेलले दाबी गर्न मिल्छ, पार्टीभित्र शङ्कर पोखरेलको हैसियत निकै कमजोर रहेको छ’, एक स्थायी कमिटी सदस्यले भने। ती सदस्यका अनुसार हालका महासचिव ईश्वर पोखरेलले विष्णु पौडेल महासचिव भएको देख्न चाहिरहेका छैनन् तर पनि शङ्कर पोखरेलले पौडेलसँग भिड्ने मनस्थिति नबनाएपछि ईश्वर पोखरेल पनि चुप लागेको अवस्था छ। नेकपा बन्दा ईश्वर पोखरेलको महासचिव पद गुमेको थियो । सो पदमा विष्णु पौडेलको बढुवा भएको थियो। 

नवौँ महाधिवेशनमा घनश्याम भुसालसँग पराजित भएका शङ्कर पोखरेललाई सुरेन्द्र पाण्डेसँगै स्थायी कमिटीमा मनोनयन गरिएको थियो। नवौँ महाधिवेशनमा पौडेलले उपमहासचिवमा जीत हासिल गरेका थिए भने शङ्कर पोखरेल पराजित भएका थिए। ‘ओलीको चाहाना पदाधिकारीमा सकेसम्म सर्वसम्मत गर्ने हो अहिले त्यही सोच अनुसार अघि बढिरहेको छ सबै नेताहरूलाई समावेश गर्ने गरी तयारी हुँदै छ’, ओली निकट एक नेताले भने। बुटवलमा महाधिवेशन गर्दा पोखरेललाई अप्ठेरो पर्ने भएपछि चितवनमा सारिएको थियो। तर पौडेलले देशभरका कार्यकर्तासँग थप छलफल गर्ने मौका पाएपछि शङ्कर पोखरेलले आफू पछि परेको महशुस गरेका थिए। पार्टीभित्र पछिल्लो पटक फेसबुके नेताको परिचय बनाएका शङ्कर पोखरेलको साथमा महासचिव पोखरेल, ओलीको सल्लाहकार टिममा रहेका विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, कर्ण थापा मात्रै रहेका थिए। उनीहरूले विष्णु पौडेलले महासचिव दाबी गरिरहेका बेला त्यही टिमबाट अर्को उम्मेदवार उठाउँदा भोलि झन् अप्ठेरो पर्ने सल्लाह दिएपछि पोखरेल यो पटक पछि हट्न तयार रहेको एक नेताले बताए । ती नेताका अनुसार पोखरेलले यस पटक उपमहासचिवमा चित्त बुझाउनेछन्।

तर ओली टिमबाटै उपमहासचिवमा प्रदीप ज्ञवाली पनि अघि बढिरहेका छन्। विधान महाधिवेशनमा ज्ञवालीले उद्घोषण गरेर आम कार्यकर्तामाझ ‘एक्सपोज’ हुने अवसर पाएका थिए। ‘उपमहासचिव एउटा पद छ त्यहाँ शङ्कर पोखरेलकै सम्भावना छ, ज्ञवालीले फेरी पनि सचिवमा दोहोर्‍याउनुको विकल्प छैन’, एक स्थायी कमिटी सदस्यको भनाई छ। सचिव फेरी पनि गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरू दोहोरिने सम्भावना रहेको छ। पृथ्वी गुरुङ सुब्बालाई कहाँ समावेश गर्ने भन्ने बारेमा एमालेभित्र अप्ठेरो परेको छ। उनी सिनियर नेता भएकाले यस पटक उपाध्यक्षमा उनको दाबी रहेको छ । मधेशबाट रघुवीर महासेठ, माओवादीबाट आएका टोपबहादुर रायमाझी पनि सचिवका दाबेदार हुन् । उपमहासचिव भुसालका लागि भने कुनै पनि पद देखिँदैन । विधान संशोधन गरेर उपमहासचिवको सङ्ख्या दुई बनाइएमा भुसाल त्यहाँ अटाउन सक्नेछन्। 

एमालेले आगामी मङ्सिर १०देखि १२ गतेसम्म चितवनमा दशौँ महाधिवेशनको आयोजना गर्दै छ। महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी बिहीबार करिब २ हजार (१९९९) महाधिवेशन प्रतिनिधि चुन्दै छ। २७ गते देशभरका करिब साढे सात लाख कार्यकर्ताबाट चुनिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी छनोट गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ