arrow

एमालेको दशौँ महाधिवेशन कर्मकाण्डी मात्रै 

logo
 राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
rajendra-panthi-article-13.jpg

नेकपा एमालेको आगामी दशौँ महाधिवेशन एउटा कर्मकाण्डी प्रक्रिया मात्रै हो । यसमा बिगतमा जस्तो पार्टीको वैचारिक बहस र नेतृत्वको प्रतिस्पर्धा हुँदैन । महाधिवेशनमा नेतृत्वमा को आउला, कसले जित्ला र कस्तो वैचारिक बहस र सिद्धान्त अनुमोदन होला भनेर जिज्ञासा वा कौतूहलता नै छैन । 

यसभन्दा पहिले नै विधान महाधिवेशन सम्पन्न गरी नेतृत्व घोषणा गर्न बाँकी रहेको  मात्र हो । पार्टीभित्रका केही खड्कदेव र ओलीबाको वरिपरि घुमेर जयजयकार गर्नेहरूलाई औपचारिक  घोषणा हुनका लागि महाधिवेशन लागेको होला नत्र अरू सर्वसाधारण, सामान्य कार्यकर्ता शुभेच्छुकलाई कुनै जिज्ञासा, चासो र गन्थन नै देखिँदैन । किनभने महाधिवेशन पछिको नेतृत्वको नाम निश्चित नै छ । सिद्धान्तमा नाम जे दिइए तापनि विधान महाधिवेशनको नाममा पहिले नै ओलीवाद पास गराएर राखिएको छ । 

जसरी जुन रीतले विधान अधिवेशन भयो यस महाधिवेशनमा पनि त्यही नै हुने पूर्व संकेत देखिएको छ। औपचारिकता पूरा गर्ने अभिप्रायले एमालेले आफ्नो महाधिवेशन सम्पन्न गर्न एक्सप्रेस गतिमा काम अगाडि बढेको देखिन्छ । एमालेले २०७८ फागुनभित्र जसरी पनि ओलीलाई अध्यक्ष घोषणा गर्नुपर्ने देखिन्छ । किनभने फागुनपछि ओलीले ७१ वर्षमा पाइला टेक्छ्न् । 

यो महाधिवेशन भनेको औपचारिक रुपमा ओलीलाई निर्विकल्प अध्यक्ष घोषणा गराउने र अरू ओलीले आफ्ना खल्तीका मान्छेलाई टीका लगाउनु बाहेक केही नयाँ हुँदैन । ७२ वर्षको इतिहास बोकेको नेकपा एमाले जनताको पार्टी बन्ला, फराकिलो सोचाइ बनाउला भन्दा झन् साँघुरिएर निरङ्कुश ओली र ओली कम्पनी जस्तो देखिएको छ । 

अघिल्लो निर्वाचनमा धन्नै दुईतिहाई मत लिएर पार्टी चलाउन नसकी आन्तरिक कलहले देशलाई अनिर्णयको बन्दी बनाइएको थियो । अन्ततः संसद विघटन नै गरियो र पुनः डरलाग्दो फोहोरी खेलको शुरुआत भयो । यसैको परिणामस्वरुपः आज देशमा राजनैतिक अस्थिरता झन् बढ्दै गएको छ । 

एमालेले आफू कतैबाट चोखो  बन्न सकिन्छ कि भनेर ओलीलाई देवत्वकरण गरिरहेको छ । एमाले पार्टी यस्तो बनाइएको छ कि कुनै कार्यकर्ताले बोल्न र आलोचना गर्न नै पाइँदैन ।   पार्टीभित्र पसेपछि यो पटक ओलीको  जयजयकार गर्नुको विकल्पै छैन । त्यस्तो एक छत्र बनाइएको छ । अहिले नेकपा एमाले यस्तो जड पार्टी बनेको छ कुनै पनि कार्यकर्ताले विचार र नेतृत्वप्रति मुख बन्द नै गर्नुपर्छ । 

यस्तो परिवेशले नेकपा एमालेको दशौँ महाधिवेशनले कार्यकर्ता र शुभेच्छुकलाई केही नयाँ आशा र शक्ति ल्याउने लक्षण देखिँदैन । पार्टीभित्र एक शक्तिशाली व्यक्तिको रुपमा ओलीलाई नै पूजा गरिरहेको देखिन्छ । पार्टीमा यस्तो परिवेश बनाइएको छ कि उनको विपक्षमा बोल्ने तागत कसैले पनि राख्न सक्दैन । मुख नै खोलेर बोल्नेहरू पाखा लागिसकेको हुनाले आवाज ननिकाली ओठ मात्र चलाएर बोल्न र लेख्न खोज्नेहरूको सुनुवाइ नै हुँदैन । 

सायद डा. भीमबहादुर रावल र घनश्याम भुषाल कित्ता चुप्प लाग्ने र जे भन्छन् र जुन पद दिन्छन् त्यही स्वीकार्नुको विकल्प देखिँदैन । कुनैबेला शक्तिशाली र आशाका अनुहार भनेर गनिएका १० भाइको ओठमुख सुखिसकेको देखिन्छ । विद्रोह वा असहमत चेत भएका १० भाइलाई एमालेको ओली कम्पनीले यसरी पछार्यो कि अब पार्टीभित्र चुइक्क बोल्न नसक्ने अवस्थामा पुगे । 

कहिलेकाहीँ रावल र भुषालको लिखित स्वर आए पनि त्यसको खासै तात्पर्य छैन । रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामा उत्रने घोषणा चाहिँ गरेको सुनिन्छ । त्यसको खासै उपलब्धि केही छैन । त्यो भनेको ओली गुटबाट अझै टाढा र आँखाको कसिङगर नै हुनु हो ।

एमालेको यो दशौँ महाधिवेशन हेर्दा लाग्छ ओलीलाई अझै उच्चाशन दिएर शिरमा पुर्याइ उनमा लागेको ऐतिहासिक रुपमा पार्टी चलाउन असक्षम भएको र पार्टीको आन्तरिक कलहका  कारण जनताको सर्वोच्च निकाय  संसद भङ्ग गरेको कालो दाग मेटाउने एउटा कागजी खेल मात्रै हो । यो पूरै रेडिमेड छ ।

अहिले एमालेमा पार्टी पद्धति  देखिँदैन । केवल ओली एण्ड कम्पनी  जस्तो भएर चलेको छ । एमालेको अपानि होस् वा प्रतिनिधि चयन परिपाटी ओली कम्पनी जस्तै छ । चितवनको नारायणी तिरमा गरिने महाधिवेशनमा पक्कै पनि एमालेले देवता रुपमा ओलीका शालिक बनाइ जयजयकार हुने सुनिश्चित छ । एमालेमा ओली प्रवृत्ति यसरी बढ्यो कि अब ओलीको विकल्पमा कसैले पनि मानौँ एमाले पार्टी चलाउन सक्दैनन् । 

यसपालिको महाधिवेशनमा अध्यक्षमा ओलीको सुनिश्चिततासँगै नयाँ सिर्जना गरिएको वरिष्ठ उपाध्यक्ष हुँदै उपाध्यक्ष, महासचिव, सचिवसम्म हुने ओलीका खल्तीमा रहेका कमरेडहरू जोखिम मुक्त छन् भने केही प्रतिस्पर्धा भनेको केन्द्रीय सदस्यमा भइहाल्छ कि जस्तो छ  । तर त्यो पनि सम्भावना न्यून नै देखिन्छ । यसैलाई नै भनिन्छ–सेटिङ।

असोज १५ देखि १७ सम्म गरिएको विधान महाधिवेशनले आगामी कार्यकालमा ओली कम्पनीको नेतृत्व कसले गर्ने र कसरी गर्ने भनेर सबै कुरा पास गरिएकोले यसपालि चितवनमा नेतृत्व घोषणा सभा मात्रै हो ।

चितवनमा हुन लागेको यस महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि हुने भनिएको छ । यस महाधिवेशनको एउटा कौतूहलता के छ भने आयोजक समितिको संयोजक रामबहादुर थापा बादल छन् । यिनलाई ओलीले कसरी पदमा समायोजन गर्छन् भन्ने हो ।

ओलीले चरम स्वेच्छाचारिता र उग्ररुप प्रदर्शन गरेको बेलामा कुर्सीको प्रलोभनमा परी  माओवादीतिर नफर्की नयाँ एमाले बनेका बादलसहितका केही भाइहरूलाई ओलीले काखी च्यापेका छन् । 

यिनीहरूलाई कसरी राख्ने होलान् भन्ने जिज्ञासा सर्वसाधारणमा  सुनिन्छ । त्यस्तै यस महाधिवेशनमा ओलीका अत्यन्तै निकट मानिएका विष्णु पौडेल र शंकर पोखरेलको व्यवस्थापन गर्नको लागि केही थोरै  गृहकार्य देखिन्छ किनभने यी दुई भाइहरू महासचिवका प्रतिस्पर्धी हुने देखिन्छ । तर यसपालि शंकरले विष्णुलाई साथ दिने प्रवल सम्भावना पनि देखिएको छ ।

नेपालको राजनीतिमा एउटा महारोग सबै पार्टीमा छ। एमालेलगायत नेपालका सबै पार्टीका नेताहरूको ठूलो कमजोरी वा रोग  भनेको कुर्सी छोड्न नसक्नु वा टाँसिनु हो । कार्यकर्ताले नेतृत्वप्रति विद्रोह गर्न नसकी असक्षमता प्रकट गरिनु हो । 

नेपालमा नेतृत्वलाई अत्यन्तै देवत्वकरण गर्ने परम्पराले आफ्नो असक्षमता प्रकट गर्दै चाकरी र चाप्लुसीमा रमाउने प्रवृतिको विकास भएको छ । कार्यकर्ता बेरोजगार छन् । काम केही गर्दैनन् । 

पार्टीका कार्यक्रममा नेताको चाकरी र चाप्लुसी गरी पालिएका छन् । आम्दानीका श्रोत केही छैनन् । यही कारण नै  नेताहरूलाई  देवता बनाइको  छ । अनि टीका र प्रसादले कार्यकर्ता चल्ने परम्परा छ । 

नेता र कार्यकर्तालाई  देश र जनताप्रति केही चासो छैन । सबैमा कसरी कमाउने र लुट्ने होला भन्ने  कुरामा मात्र छ । कतै ओली अध्यक्ष नहुँदा यो सर्वस्व नै सकिने हो कि भन्ने एकथरीलाई लागेको छ र भजनकिर्तन गरिरहेका छन् । 

ओलीका भजनमण्डलीले देश, जनता, पार्टी, विचार, सिद्धान्त, नियम, कानून केही देख्दैनन् । उनीहरूको दिमागमा ‘ओली बा’ मात्र छ । नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष खड्क प्रसाद ओली पनि भजन मण्डलीको जयजयकारमा साना मसिना कुरा गर्दै सत्तापक्षको सत्तोसराप गर्दै हिँडेका छन् । 

देश र जनताप्रति कुनै संवेदनशीलता र जिम्मेवारी बोधको महसुस छैन । आफूले गरेको जिन्दगीको महाभूल कतै पखालिन्छ कि भ्रममा परी ठट्यौली र हँस्यौली गरेर आफ्ना आसेपासेलाई आशीर्वाद दिँदै समय बिताएको परिस्थितिमा कार्यकर्ताले कहिले होला आफ्नो पार्टी भनेर  खुशी र गौरव गर्ने  दिन । 

आज एकछिन ओलीको देवत्वकरण  गर्दा केहीलाई क्षणिक फाइदा होला तर सिङ्गो पार्टी र प्रणालीलाई ठूलो घाटा हुन्छ । पार्टी प्रणालीमा व्यक्ति पूजा गर्नु शुभेच्छुक र गुट इतर कार्यकर्तालाई ठूलो असर पर्छ । 

पूजाको परिणाम भोग्दा भोग्दै पुनः ओलीको मूर्ति नै बनाई धुप, दीप बाल्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो। एमालेलाई ओलीको निजी कम्पनी बनाउँदा पार्टीको अस्तित्व नै सकिन्छ। निर्विकल्प अध्यक्ष बनाउने भन्दैमा एउटा जीवन्त पार्टीको अध्यक्षलाई  देवता नै बनाई  जयजयकार गर्दा पार्टी नै समाप्त हुन्छ ।

कुनै पनि पार्टीमा व्यक्ति प्रधान होइन नीति प्रधान हुनुपर्छ । एमाले भनेकै ओली र ओली भनेकै एमाले बनाउनु उपयुक्त होइन । ओलीको गुणगान गाएर आशीर्वचन लिन खोज्दा पार्टी जीवन्त बन्न सक्दैन ।

नेपालको राजनैतिक इतिहासमा देवत्वकरणका उदाहरण अरु पनि नभएका होइनन् । भीमसेन थापा, राजा त्रिभुवन, राजा महेन्द्र, वीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, प्रचण्ड आदि । कसैलाई देवत्वकरण र दानवीकरण  गरिनु स्थायी हुँदैन । 

देवत्वकरण र दानवीकरण दुवै समाजका घातक हुन् । यसले मानिसलाई आलोचनात्मक दृष्टिकोणबाट विमुख बनाइदिन्छ । पार्टीमा आलोचनात्मक दृष्टिकोणको अभाव हुनु भनेकै अहिलेको एमाले जस्तै बन्नु हो । जब पार्टीमा स्वच्छ आलोचना हुँदैन अनि पार्टी बलियो हुन सक्दैन ।

नेतालाई पूजा गर्ने परिपाटीले नेता अहंकारी, दम्भी र स्वेच्छाचारी हुने र हिटलर नै बन्ने सम्भावना ज्यादा हुन्छ । मान्छे राम्रो छ, राम्रो काम गर्छ भने उसको कार्यलाई प्रशंसा र सम्मान गर्नुपर्छ नकि उसलाई भगवान नै बनाउनु पर्दैन । (लेखक पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ